पोल्याण्डमा इयु ब्लुकार्ड आवेदकको तलब मापदण्ड बृद्धि


प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार

पोल्याण्डमा युरोपियन युनियनको ब्लुकार्ड आवेदनका लागि न्यूनतम तलबको मापदण्ड बढाइएको छ । अब ब्लुकार्ड आवेदकका लागि रोजगारदाताले कम्तीमा पनि मासिक ६ हजार ८ सय ७७ पोल्याण्डको मुद्रा अफर गर्नुपर्नेछ ।

इयु ब्लुकार्डले युरोपियन युनियन बाहेकका देशका दक्ष कामदारका लागि युरोपियन युनियनभित्रका देशमा कामगर्न पाउने सुविधा प्रदान गर्दछ । युरोपियन युनियनभित्रका २५ वटा देशहरुले यस्तो ब्लुकार्ड जारी गर्न सक्छन् । डेनमार्क, आयरल्याण्ड र बेलायतले भने ब्लुकार्ड जारी गर्दैनन् ।

पहिले नै काममा राखिएका ब्लुकार्ड होल्डरको तलब भने रोजगारदाताले बढाउन आवश्यक नभएको जनाइएको छ । तर फरबरी ११, २०१९ पछि नविकरण वा प्रारम्भिक आवेदन दिंदा भने नयाँ तलब मापदण्ड कार्यान्वयन गर्नुपर्नेछ । फरबरी ११ सम्म पेन्डिङ अवस्थामा रहेका आवेदनका सन्दर्भमा पनि नयाँ तलब मापदण्ड लागु हुनेछ ।

पोल्याण्डमा अन्य कामका लागि भने गत डिसेम्बरमा नै घोषित न्युनतम तलब मापदण्ड कायम गरिएको छ । स्थानीय रोजगारका लागि जनवरी १ देखि लागु हुने गरी प्रतिमहिना २२ सय ५० स्थानीय मुद्रा दिनुपर्ने प्रावधान लागु गरिएको थियो । पुरानो तलब भने २१ सय रहेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com