‘अब एनआरएन मन्त्रालय बनाइनुपर्छ’
प्रकाशित मिति : माघ २३, २०७५ बुधबार
गैर आवासी नेपाली संघ एनआरएनए संस्थालाई बचाउने हो भने अग्रजहरुले अभिभावककोमात्र होइन सकृय भूमिका खेल्नुपर्ने एनआरएन अभियन्ता कृष्ण पोख्रेलले बताउनुभएको छ । एनआरएन अमेरिकाका पूर्व बरिष्ठ उपाध्यक्ष पोखे्रलले खसोखाससँग कुराकानी गर्दै भन्नुभयो – ‘संस्थालाई जोगाउन अब अग्रजहरु अभिभावकको रुपमा मात्र बसेर हुँदैन । सकृय भूमिका खेल्नुपर्छ ।’
पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, शेष घले लगायतका अग्रजहरुको भूमिकालेमात्र एनआरएनए संस्थालाई सही दिशा प्रदान गर्न सक्ने पोख्रेलको ठम्याई छ । तर हस्तक्षेपकारी होइन, संस्थालाई सही दिशा प्रदान गर्ने गरी उहाँहरुले भूमिका खेल्नुपर्ने पोख्रेलले बताउनुभयो ।

एनआरएनएको भवन कुनै पनि हालतमा भाडामा दिन नहुने र कार्यकाल तीन बर्ष बनाइन नहुने उहाँले बताउनुभयो । भूकम्पपछिको बस्ती तथा एनआरएन भवन प्रतिबद्धता गरिए अनुशार निर्माण हुन नसक्दा एनआरएनएको छवीमा नकारात्मक असर परेको बताउँदै उहाँले भन्नुभयो – ‘के कति प्रगति भइरहेको छ, के कारणले समयमा पूरा हुन सकेन भन्नेबारे बेलाबेलामा जानकारी दिन नसक्दा संस्थाप्रति आशंका पैदा भएको छ ।’
एनआरएन अमेरिकामा महासचिव समेत भइसक्नुभएका पोख्रेलले अब सरकारले एनआरएन मन्त्रालय बनाउने बेला भइसकेको बताउनुभएको छ । ‘विदेशमा भएका नेपालीहरुलाईमात्र लक्ष्यित गरेर सरकारले एनआरएनए मन्त्रालय बनाउनुपर्ने बेला भइसकेको छ । परराष्ट्र मन्त्रालयलको जिम्मेबारी बृहत भएकाले एनआरएनका विषयहरुलाई सम्बोधन गर्न सकेको छैन ।’ – पोख्रेलले भन्नुभयो ।
सबैभन्दा धेरै सदस्यहरु हुँदा र उल्लेख्य योगदान दिंदा समेत अमेरिकाबाट एनआरएनए आईसीसीको सचिवालयमा समेत प्रतिनिधित्व हुन नसक्नु लज्जास्पद भएको बताउँदै पोख्रेलले कुराकानीका क्रममा भन्नुभयो – ‘यो निकै लज्जास्पद छ । अबको दिनको यस्तो लज्जा नहोस् ।’






