Follow @khasokhasmag

त्यो असफल विमान अपहरण


प्रकाशित मिति : पुस १६, २०७३ शनिबार

क्याप्टेन अारपी प्रधान /जीवन घटनाहरूको संग्रह हो । नचिताएका घटनाहरूले भरिन्छ मानिसको जिन्दगी । केही घटना यस्ता हुन्छन् जसलाई चाहेर पनि बिर्सन सकिँदैन । समयको पुरानो डायरीबाट स्मृतिको आँगनमा ती घटना आइपुग्छन् र झस्काइरहन्छन् । बेलाबेलामा सोच्ने गर्छु, के हरेक मान्छे यस्तै झस्काउने सम्झना बोकेर बसेको हुन्छ ? यो त्यही झस्काउने सम्झनाको फेहरिस्त हो ।

सन् १९७४ को ‘क्रिसमस-इभ’को दिन तत्कालीन वायल एयर फ्लाइटका उडान-क्रु एयर इन्डियाको उडान नम्बर एआई-१०५ मा उडिरहेको थिएँ । यात्रा थियो, दिल्ली-बम्बई-वेरुट-रोम-पेरिस-लन्डन हुँदै न्युयोर्कसम्म । उद्देश्य थियो, शाही वायुयान विभागका लागि ‘नयाँ एभ्रो-७४७’ विमान हकर-सिदली फ्याक्ट्रीसँग बुझिलिई काठमाडौं ल्याउने । त्यतिबेला म शाही नेपाल वायुसेवा निगमबाट राजदरबारअन्तर्गतको ‘शाही वायुयान विभाग’मा काजमा खटिएको थिएँ ।

संसारभरका मानिसहरू क्रिसमस छुट्टी मनाउँदै आ-आफ्ना आफन्तहरूबीच शुभकामना आदानप्रदान तथा उपहार साटासाट गरिरहेका बेला हामी लन्डन गन्तव्यतर्फ उड्दै थियौं । रातको ठीक १२ बजे एयर इन्डियाका क्याप्टेन कपुरले विमानको पेसेन्जर-एड्रेसमार्फत- ‘मेरी क्रिसमस एन्ड ह्यापी न्यु एयर’ भन्दै सबै यात्रुलाई शुभकामना प्रदान गरे । निदाइरहेकाहरू पनि जागा भई आफ्ना इष्टमित्र तथा नजिकै सिटमा बसिरहेका अञ्जानलाई समेत शुभेच्छा व्यक्त गर्न थाले ।

यत्तिकैमा परिचारिकाहरू मुस्कानसहित किस्तीमा स्याम्पेयनलगायत विभिन्न पेयपदार्थ यात्रुहरूलाई पस्कन थाले । सबैले आ-आफ्नो स्वाद तथा इच्छानुसारको पेयपदार्थ लिएका थिए । विमानका मुख्य परिचारकले ‘मेरी क्रिसमस’ भनी माइकमा जसै उद्घोष गरे सबैले एकै स्वरमा ‘चियर्स’ भन्दा निस्केको ध्वनिले विमानको क्याबिन गुञ्जायमान भयो । एउटा रमाइलो माहोल थियो, आकाशमा मनाइएको उक्त क्रिसमस चाड ।

बिहानीपख पौने ६ बजेतिर क्याप्टेन कपुरले फेरि यात्रुहरूको ध्यानाकर्षण गराए । छोटकरीमा उनले भने ‘विमानस्थलमा कुहिरो लागेकाले हामी एक घन्टा जति आकाशमै घुमिरहने छौं ।’ उनको बोलीमा शुभकामना प्रदान गर्दाको जस्तो जोस र मिठास थिएन । अलि मलिन र चिन्तित जस्तो मलाई भान भयो । विमानको झ्यालबाट बाहिर नियाल्दा विमानस्थलको धावनमार्ग खुला देखेपछि म सशंकित भएँ । आधुनिक उच्चस्तरीय अवतरण प्रविधियुक्त उक्त बोइङ-७४८ जम्बो जेट विमान त्यो मौसमी परिस्थितिमा रोम अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन नसक्ने कुनै प्राविधिक कारण मैले देखिनँ ।

अन्य केही कारण होला भन्ने लाग्यो, तर मैले अन्यथा सम्झिनँ । यसको १०/१५ मिनेटपछि अप्रत्याशित रूपमा क्याप्टेनको आवाज सुनियो । ‘क्याबिन-क्रु ककपिट भित्र नआउनू’ उनले निर्देशन दिए । सामान्यतः परिचारिकाहरूलाई दिइने सूचना इन्टरकममार्फत मात्र हुन्छ । तर, अप्रत्यक्ष रूपमा यात्रुहरूलगायत सबैलाई सचेत वा सतर्क गराउन क्याप्टेनले चतुर्‌याइँ वा जानाजानी पेसेन्जर एड्रेसमार्फत आदेश दिएको जस्तो मलाई लाग्यो ।

त्यसपछि चालक दलले भोगिरहेको सम्भावित समस्या, विमानको विद्यमान परिस्थिति वा वस्तुस्थितिको अनुमानित विश्लेषण गर्न मलाई साह्रोगाह्रो भएन । मसँगैको सिटमा मस्त निद्रामा सुतिरहेको ध्रुवराज पुरीलाई उठाएर केही जानकारी पाउने हेतुले परिचारिकाहरूसँग कुरा गरी विषयवस्तु पत्ता लगाउन पठाएँ । उनी तुरुन्तै अत्तालिँदै फर्केर आए । उनीहरू सबै अन्योलमा रहेको र क्याप्टेनले ककपिटमा नआउनू भनेको बाहेक उनीहरूलाई अरू केही थाहा नभएको जानकारी गराए । यसबाट कुनै अनिष्टको आशंका हुनु स्वाभाविक थियो ।

मानिसको जीवनक्रममा कहिलेकाहीँ आफूले चिताउँदै नचिताएको अन्योलको अवस्था अनायास सिर्जना हुँदोरहेछ । अस्वाभाविक वा असम्भव नभए पनि त्यस्तो स्थिति आफ्नो नियन्त्रण बाहिर भएपछि अनुभूत हुने सहाराहीन एक्लोपन तथा नाजुक अवस्थाको मानसिक पीडाले निकै हतोत्साही र हताश गराउँदो रहेछ । अझ त्यस्तो अप्रिय हालत असीमित रूपमा लम्बिँदा भविष्य अनिश्चित तथा अन्धकारमय देख्नु नौलो होइन । यस्तो अन्योलको दयनीय स्थितिमा मानिसलाई वास्तवमै आफू मरेजस्तो, सासमात्र झुन्डिएको तथा अर्ध-मृततुल्य अनुभूति हुँदो रहेछ । आज ४२ वर्षपछि त्यस घटनाक्रमको कथावस्तु सम्झँदा अझै पनि मृतप्रायः भएको अनुभव दोहोरिने गर्दछ ।

विमानभित्र एकाएक सिर्जना भएको अञ्जान सन्त्रासयुक्त परिस्थितिले सोच्न बाध्य गरायो । मैले झट्ट विमान अपहरणका घटना सम्झेँ । सन् १९६८ मा इजरायलको ध्वजावाहक जहाजको अपहरणकारीको माग टुंगो लगाउन ४० दिन लागेको थियो । १९७० मा एकै दिन चारओटा विमान अपहरण गरी जोर्डनको मरुभूमिमा लगी बमले ध्वस्त पारिएको थियो । नेपालकै सन्दर्भमा पनि १० जुन १९७३ मा शानेवानिको ट्विनअटर विमान नेपाल राष्ट्र बैंकले चार्टर गरी भारतीय ३० लाख रुपैयाँ विराटनगरबाट काठमाडौं ल्याउँदै गर्दा पञ्चायत सरकार विरोधी क्रान्तिकारीहरूले विमान अपहरण गरी फरमेसगन्जमा अवतरण गराएका थिए । यी सबै घटनाक्रमहरूलाई समष्टिगत रूपमा विचार गर्दा म आफैं चढिरहेको एयर इन्डियाको विमान त्यस बखत निःसन्देह अपहरित भइरहेको वास्तविकतासँग पूर्णतया अवगत भएँ ।

त्यतिबेला मैले किन हो कुन्नि आफ्नो सिटमाथिको सामान राख्ने ओभरहेड-विनबाट आफ्नो फ्लाइट ब्याग निकाली त्यसबाट आफ्नो नोटबुक झिकेँ । ‘मैले मगाएको सामान तपाईंले ल्याउनु बिर्सनु होला कि भनेर तपाईंको नोटबुकको पछाडि लेखेको छु’ भनी छोरीले आउने बेलामा सम्झाएको कुरा झल्याँस्स सम्झेँ । अनि नोटबुकको अन्तिम पाना पल्टाएर हेरेँ । म निश्चल भएँ । छाती फुलेर आयो, मन विह्वल भयो अनि अनायास अाँखा रसाए । नोटबुकमा लेखिएको रहेछ – ‘ड्याडी, सञ्जयलाई एउटा घडी र मलाई स्केट ल्याइदिनुस् । तपाईंको यात्रा सुरक्षित होस्’ । यो थियो मेरी नौ वर्षीया छोरी माधवीको हस्तलिखित टिपोट । बालबच्चाहरूको मन निर्मल, सत्य र नित्य हुन्छ । तिनको शुद्ध आत्माले सदैव सत्यको मात्र चिन्तन गर्छ ।

त्यसैले हाम्रो संस्कृतिमा बालबालिकालाई ‘जन्मले सिद्ध’ (सत्, चित्, आनन्दको स्वभावैले अनुभूत गर्ने) र महात्मालाई ‘कर्मले सिद्ध’ (सच्चिदानन्द) भनिएको छ । मेरी नाबालिका छोरीले निष्कलंकित हृदयले ‘ड्याडीको यात्रा सुरक्षित होस्’ भनी गरेको विशुद्ध कामना परमपूज्य श्रीखप्तडबाबाले अवश्य सुनिबक्सन्छ भन्ने मेरो आत्मविश्वास दृढ हुँदै गयो । यस घटनाको ८२ दिनपहिले खप्तड तपोभूमिमा गई श्रद्धेय बाबाको पहिलो पटक दर्शन गरेको अविस्मरणीय दृश्य मेरो अगाडि आयो ।

सांसारिक रूपमा यद्यपि मृत्यु जीवनको सबैभन्दा ठूलो आपद्विपद् भए तापनि मृत्युको डरबाट मानसिक रूपमै मुक्त भएको मलाई आभास भयो । भयमुक्त भएपछि मनमस्तिष्कले एकाग्र र तल्लीन भई कर्तव्यतर्फ उन्मुख हुनु मनुष्यको लक्षण हो, खास गरेर आपत्कालीन अवस्थामा । त्यही तन्मयताले मात्र प्रतिकूलन स्थितिलाई अनुकूलनमा परिवर्तन गर्छ । गीतामा भगवान् श्रीकृष्णले- ‘तिमी आफ्नो कर्तव्य तन्मयसाथ परिपूर्ण गर, फलको चिन्ता नगर’ भन्नुभएको उपदेश सम्झना भयो ।

‘म सधैं बाँचिरहूँ’ भन्ने मानिसको लक्ष्य स्वाभाविक हो, र सबैभन्दा पहिलो लक्षण पनि यही हो । यो ‘सत्-रूप’हो, त्यसैले नित्य भनिन्छ । ईश्वरका दुई स्वरूप छन्- ‘मोक्षस्वरूप’ अनुसार मानिस स्वतन्त्ररूपमा आनन्द भोग्न चाहन्छ । पराधीनता अत्यन्त दुःखको अवस्था हो । बन्धनबाट सबै निवृत्ति चाहन्छन् । अर्काे, ‘ईश-स्वरूप’, अर्थात् आफू स्वतन्त्रमा रहन चाहनू र अरू आफ्नो अधीनमा रहून् भन्ने । ईश्वरको अंश भएकाले मनुष्यलाई पनि ईश्वरको आंशिक स्वरूप स्वभावतः प्राप्त हुन्छ । अतः मेरो लक्ष्य, लक्षण र चाहना ईश्वरको अनुरूप वा प्रतिरूप हुनु स्वाभाविक थियो । तसर्थ, अपहरणकारीको बन्धनबाट मुक्त भई स्वतन्त्ररूपमा स-परिवार आनन्दसाथ भविष्यमा बाँच्नको लागि, त्यस अपराधीलाई नियन्त्रणमा लिनुपर्ने मेरो लक्ष्य पहिलो प्राथमिकता बन्न पुग्यो ।

‘क्याबिन-क्रु ककपिट भित्र नआउनू’ उनले निर्देशन दिए । सामान्यतः परिचारिकाहरूलाई दिइने सूचना इन्टरकममार्फत मात्र हुन्छ । तर, अप्रत्यक्ष रूपमा यात्रुहरूलगायत सबैलाई सचेत वा सतर्क गराउन क्याप्टेनले चतुर्‌याइँ वा जानाजानी पेसेन्जर एड्रेसमार्फत आदेश दिएको जस्तो मलाई लाग्यो ।

मैले चिफ-स्टिवार्डलाई बोलाई आफू आरएनएसीको क्याप्टेन भएको परिचय दिएँ, र विमान अपहरण भएको अवस्थाबारे उनलाई यकिन गराएँ । उनी मेरो विचारसँग सहमत भए । अब जटिल प्रश्न भनेको नै स्थिति कति गम्भीर छ, त्यसको मूल्यांकन गरेरमात्र संकटकालीन समस्याको समाधान खोज्नु रह्यो । यस गहन परिस्थितिको विचारपूर्ण, होसियारी र समझदारीसाथ विश्लेषण गर्न सकिए मात्र समस्या समाधानको यथार्थ उपाय निर्धारण गर्न सकिनेमा हामी दुवै सहमत भयौं । मैले उनलाई एउटा उपाय सुझाएँ- ‘हामीमध्ये कसैले ककपिटको अवलोकन नगर्दासम्म समस्याको रहस्य थाहा हुँदैन ।

क्याप्टेनले बाध्यताले भित्र नआउनु भनेको हुन सक्छ । तथापि हामी कुनै न कुनै बहानाले भित्र जानै पर्छ । (त्यसताका ककपिटको ढोका आजकल जस्तो लक वा ताला लगाउने प्रावधान थिएन ।) बिहानीपखको समय भएकाले तातो चियाकफी लिएर तपाईंभित्र जाने प्रयत्न गर्नुस् । अपहरणकारीको संख्या, बन्दोबस्ती र अपराधको स्थिति गम्भीर भए नभएको तपाईंलाई तुरुन्त थाहा हुनेछ ।’

स्वचालित हतियारधारी, विस्फोटक पदार्थ भएको वा अपराधी एकभन्दा बढी भएको अवस्थामा तिनलाई नियन्त्रण वा हस्तक्षेप गर्न खोज्ने नकारात्मक तथा विमान दुर्घटनासमेत हुन सक्छ । सतर्क भई सावधानीसाथ निर्णय लिनुस् भनी सचेत पनि गराएँ (उनी आफैं पनि कमर्सियल पाइलट लाइसेन्स प्राप्त व्यक्ति रहेछन्)। त्यसैले उनी अपहरण समस्यादेखि अवगत थिए । ढोकाबाहिर तीन/चारजना बलिया परिचारकहरू राखेर आफूले तातो चियाकफीको ट्रे लिई उनी भित्र पसे । मैले खप्तडबाबालाई सम्झी प्रार्थना गर्दै बसेँ ।

उनी भित्रमात्र के पसेको थिए, क्याप्टेनले ठूलो स्वरले आत्तिँदै मद्दत गर्न भित्र आउनुस् भन्दै गुहार मागे । अघिल्लो सिटमा तैनाथ रहेका स्टिवार्डहरू भित्र तुरून्त पसे र ककपिटको ढोका बन्द गरे । अपहरणकारीलाई नियन्त्रण गर्न केही गाह्रो नभएको मैले अनुमान गरेँ, तर वास्तविकता यकिन भने भएको थिएन । केही बेरपछि तिनीहरूले त्यस अपराधीलाई लतार्दै बाहिर ल्याए । लामो कपाल पालेको, दाह्री नकाटेको, नीलो जीनको प्यान्ट र आर्मी रङको कमिज लगाएको उक्त अपहरणकारीको टाउकोमा चोट लागेको, कान र नाकबाट रगत बगेको थियो । तर, उसप्रति कसैको सहानुभूति भने थिएन । त्यसपछि परिचारकहरूले नाइलनको डोरीले त्यसको हातखुट्टा बाँधी बाटैमा लडाएर राखेका थिए, मानौं लासजस्तो ।

विमान अर्को दुई घन्टा जति आकाशमै उडिरह्यो । विमानस्थलका अधिकारीहरूले अपहरित विमान अवतरण गराउने चेक-लिस्टअनुसार व्यवस्थापन गर्दै रहेछन् । ल्यान्डिङ गर्न धेरै ढिलो भएको देखेर केही यात्रुहरू थप जटिलता भएको हो कि भनी अलि सशंकित तथा अन्योलमा परेको देखेर परिचारिकाले वास्तविकताको जानकारी गराएकी थिइन् । एयर इन्डियाका चालकदलका सम्पूर्ण सदस्यहरू समष्टिमा निकै व्यावसायिक, व्यावहारिक र कार्यकुशल रहेको साथै विमान अपहरण जस्तो संकटपूर्ण अवस्थामा सतर्कतासाथ आ-आफ्नो ड्युटी सम्पादन गरेको मैले महसुस गरेँ ।

अपहरणकारीको खानतलासी लिँदा निजसँग कुनै रिमोट कन्ट्रोल नभएको साथै निजले विमानमा अन्य अपराधी वा निजका सहयोगी नभएको जानकारी गराएको रहेछ । तथापि, यकिन गर्न परिचारिकाहरू समस्त यात्रुहरूलाई तिनीहरूको सिटसिटमा गई भेट्दै भलाकुसारी गर्दै थिए, सायद कोही सशंकित व्यक्ति फेला पर्छ कि भनेर होला । सबै यात्रुहरू हँसिलो, खुसी र उत्साहित देखेपछि मात्र अन्य अपराधीहरू विमानमा नभएको बारे उनीहरू विश्वस्त भएका रहेछन् ।

विमान अपहरणको स्थिति पूर्णरूपमा नियन्त्रण भएको खुसीको सूचना क्याप्टेन कपुरले विश्वास तथा सामथ्र्यका साथ घोषणा गरे । सबै यात्रुहरूले ‘बाभ्रो-बाभ्रो’ भन्दै करतलध्वनिका साथ ताली बजाए । त्यसको दस मिनेट जति पछि पचास वर्षीय क्याप्टेन एएम कपुर ककपिटबाट बाहिर निस्किए । युनिफर्ममा सजिएका, काँधमा चार बार (वरिष्ठताको चिह्न) लगाएका विमानका कमान्डर देखेपछि यात्रुहरूले ताली बजाए धेरै बेरसम्म ।

यो खुसीको स्वाभाविक माहोल थियो । तिनी दायाँबायाँ सिट नम्बर हेर्दै केबिनको पछाडितिर आउँदै थिए, सबैसँग मुस्कान बाँड्दै । मेरो सिट नजिक आएर रोकिए । ‘तपाईं आरएनएसीको क्याप्टेन हो कि भनी’ मलाई सोधे । मैले हो भन्दै टाउको हल्लाएँ । उनले पहिले नमस्ते गरे, अनि हात मिलाए । जब म आफ्नो सिटबाट उठेँ, उनले अंकमाल गर्दै- ‘एयर इन्डियाको पहिलो अपहरित विमानलाई क्षतिबाट कुशलतासाथ बचाउन मद्दत दिएको’ भन्दै धन्यवाद ज्ञापन गरे । ‘यो सबैको सामूहिक जिम्मेदारी हो’, मेरो जवाफ थियो ।

विमान ‘लियोनार्डाे डा भिन्सी’ अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भयो । फेरि एकपटक यात्रुहरूले एयर इन्डिया चालकदलको प्रशंसा र स्वागत गर्दै जोडले थपडी बजाउँदै थिए । धावनमार्गको दुवैतिर स्वचालित हतियारधारी सैनिक र कैयन ट्यांकहरूको उपस्थिति देखिन्थ्यो । अपहरित जहाजलाई अलग छुट्याइएको, निर्धारित एकलास क्षेत्रमा पार्किङ गराइयो । इन्जिनहरू बन्द हुनेबित्तिकै बख्तरबन्द गाडीहरू तथा सैनिकहरू विमान वरिपरि तैनाथ गरिए । जहाजको ढोका खुल्नेबित्तिकै स्वचालित हतियारधारी पुलिसभित्र आई सबै यात्रुहरूलाई हलचल नगर्न र आ-आफ्नो सिटमा बसिरहन आदेश दिए ।

ककपिटदेखि क्याबिनको पुच्छारसम्म प्रशस्त मात्रामा पुलिसहरू छ्यापछ्याप्ती तैनाथ भए । तिनले भुइँमा लडाइराखेका अपहरणकारी जोसेफ होमोलोभलाई पुलिस भ्यानमा राखी अन्यत्रै लगे । त्यसपछि यात्रुहरूलाई अगाडिको सिटदेखि एकएक गर्दै आ-आफ्नो सामान, पासपोर्ट, पैसालगायत अन्य कागजातसमेत आफ्नै सिटमा छाडी बाहिर जान लगाए । बाहिर प्रहरीले सबैको सेक्युरिटी (इलेक्ट्रोनिक एवं शारीरिक) जाँच गरे । जहाजभित्रको सम्पूर्ण सामान, हातेझोलाहरू बाहिर ल्याई सुरक्षा जाँचपश्चात् यात्रुहरूलाई हस्तान्तरण गरियो । यात्रुको ब्यागेज र कार्गोलगायत बाहिर निकाली मालसामानको ट्यागनुसार आ-आफ्नो सामान पहिचान गराउन लगाई सुटकेसका चाबीहरू सुरक्षाकर्मीले लिए ।

अनि यात्रु र क्रुलाई भिन्दाभिन्दै अस्थायी पालहरूमा लगी चियापान गराए । जहाजमा भएका सम्पूर्ण केटरिङका सामानहरू नयाँ खाद्यवस्तुहरूबाट परिपूर्ति गराइएछ । त्यसपछि इन्धन भरेपश्चात् जहाज आफ्नो गन्तव्य लन्डनतर्फ प्रस्थान गर्‌यो । लन्डनबाट हामी भोलिपल्टै एभ्रो विमानको निम्ति मेनचेस्टर जानुपर्ने योजना थियो । त्यसैले होटेलमा चेक-इन गर्नेबित्तिकै म बजारतिर लागेँ, सामान खरिद गर्न । सञ्जयलाई एउटा राम्रो ‘स्वास घडी’ र माधवीलाई गुणस्तरको ‘स्केट्’ किनेँ, जुन मेरो लन्डन यात्राको पहिलो तथा प्रमुख प्राथमिकता थियो ।

विमान अपहरणको प्रकृति र अपहरणकारीको माग हेर्दा यो अपहरण कुनै आतंकवादीद्वारा गराइएको देखिँदैन । जोसेभ होमोलोभ मानसिक सन्तुलन गुमाएको व्यक्तिजस्तो देखिन्छ । चेकोस्लोभाकियन मूलको नागरिक क्यानाडामा होमोलोभ ६ वर्षअघि शरणार्थी भई त्यहीँको नागरिकता लिएको रहेछ । टोरेन्टोमा सिकर्मी पेसामा रहेको र लागूपदार्थसम्बन्धी मुद्दामा यसै घटना भएको दुई हप्तापछि अदालतमा उसको पेसी चढेको रहेछ ।

घटनाको खानतलासी गर्दा उसबाट क्यानाडियन डलर दुई हजारको नक्कली नोट बरामद भएको थियो । उसको चाहना रोमको अत्यन्तै महत्त्वपूर्ण तथा ऐतिहासिक स्थानमा विमान दुर्घटना गराउने रहेछ । पहिलो, भेटिकन सिटीमा अवस्थित सेन्ट पिटर्स बेसिलिका (गिर्जाघर) । संसारको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चारओटा गिर्जाघर भेटिकन सहरमै छन् । होमोलोभले एयर इन्डियाको जहाज त्यहीँ दुर्घटना गर्न भनेका थिए । दोस्रो, रोमको सहरमा भएको विश्वविद्यालय- ‘स्यापिएना’, जसलाई रोमको विश्वविद्यालय पनि भनिन्छ । यो युनिभर्सिटी सन् १३०३ मा स्थापना भएको हो र विश्वमै सबभन्दा बेसी विद्यार्थी (एक लाख १० हजार, जसमध्ये ६ हजार विदेशी विद्यार्थी अध्ययनरत रहेको), यो ऐतिहासिक विश्वविद्यालय हो । अन्नपूर्ण पाेष्टबाट

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com