नेपाल जापान सीधा हवाई उडान सम्बन्धमा सम्झौता
प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार
नेपाल र जापानबीच हवाई सेवा सम्झौता पुनरावलोकन गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ। बुधबार जापानी विदेशमन्त्री तारो कोनो र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
अन्तराष्ट्रिय उडान गर्ने नेपाली वायु सेवाले जापान उडानका लागि प्राविधिक काम अगाडि बढाउन यो समझदारीले बाटो खुलेको छ। जापानी विदेशमन्त्री कोनोले नेपालको राष्ट्रिय ध्वजावाहकलाई जापान उडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। योसँगै अब नेपाल जापान सीधा हवाई सम्पर्क हुने भएको छ ।
त्यस्तै नेपाल र जापानबीच परराष्ट्र मामिला तथा सहयोग आदानप्रदानलाई थप प्रभावकारी बनाउन द्विपक्षीय मञ्च निर्माणा गर्ने सम्बन्धमा परराष्ट्र सचिव शंकरदाश वैरागी तथा नेपालका लागि जापानी राजदूत माचामिची साइगोले हस्ताक्षर गरेका छन्।

सँगै नेपाली कामदारलाई जापानमा रोजगारिका लागि पठाउने सम्बन्धमा दुई देशको प्राविधिक टोलीले निकट भविष्यमा काम अघि बढाउने विषयमा छनलफल भएको नेपाली संचारमाध्यमहरुले लेखेका छन् ।
यता जापानी संचारमाध्यमहरुमा प्रकाशित खबरमा कुनैपनि जापानी एयरलाइन्सहरुको नेपाल उडान नभएको र त्यसैले गर्दा नेपाल जान चाहाने जापानी पर्यटकहरु तथा जापानमा रहेका नेपालीहरुलाई नेपाल जानका लागि अन्य एयरलाइन्सहरुमार्फत इन्डाइरेक्ट फ्ल्लाइट मा उड्नुपर्ने बाध्यता रहेको उल्लेख छ ।
प्रयाप्त हवाइजहाज नभएपछि धेरै बर्ष पहिलेनै नेपालदेखि ओशाकामा हुँदै आएको सिधा हवाई उडान रोकिएको थियो ।
विदेशमन्त्री तारो कोनो संचारकर्मीहरुसंग प्रतिकृया दिंदै “भने मलाई विश्वास छ नेपाल एयरलाइन्सको सिधा उडान सिघ्र संचालन हुनेछ र यसले नेपाल सरकारसंगको हाम्रो सहकार्यलाई थप बढावा दिनेछ ।”
दुई दिने भ्रमणका लागि हिजो नेपाल पुगेका विदेशमन्त्री कोनोले राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटघाट गर्नेछन् । उनी विहिबार नै जापान फर्कने कार्यक्रम छ ।






