मन्त्रीको भन्दा पिएको तलबभत्ता दोब्बर
प्रकाशित मिति : पुस २५, २०७५ बुधबार
गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पिए) ले दोब्बर भम्रण भत्ता बुझेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा सामाजिक विकासमन्त्री नरदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण भत्ता बुझ्दा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमणभत्ता बुझेका छन् । पोखराबाट गृहजिल्ला लम्जुङ र अन्य जिल्लाको भ्रमणभत्ताबापत यो रकम बुझेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
आर्थिक मामिला मन्त्री किरण गुरुङले ९६ हजार ८ सय, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले ७४ हजार, उद्योगमन्त्री विकास लम्सालले ५४ हजार र कृषि मन्त्री लेख बहादुर थापाले ४८ हजार भ्रमण भत्ता बुझेका छन् । मन्त्रीहरुले निजी काममा जिल्ला जाँदा समेत भ्रमण भत्ता लिने गरेका छन् ।






