सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश पुगे
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
चार खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेर सनसनी मचाउन सफल सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिग बीचमै छाडेर बंगलादेश पुगेका छन् ।
अन्तर्राष्ट्रिय टी २० क्रिकेट लिगमा व्यस्त रहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आफ्नो पूर्व सम्झौता अनुसार अष्ट्रेलियाबाट बंगलादेश गएका हुन् ।
ढाकामा आगामी शनिबारदेखि सुरू हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) मा खेल्न उनी बंगलादेश पुगेका हुन् । लिगमा उनले सिल्हेट सिक्सर्सबाट खेल्नेछन् ।
बिपीएलमा सन्दीपको टिममा डेभिड वार्नरसहित सोहल तन्भीर, सबिर रहमान, मोहम्मद इरफान, एन्ड्रे फ्लेचर जस्ता खेलाडीहरू रहेका छन्।
सन्दीपको टिम सिल्हेट सिक्सर्सले आफ्नो पहिलो खेल ६ जनवरीमा खेल्नेछ।
एक महिनासम्म चल्ने लिगमा उनको टिमको अन्तिम ग्रुप म्याच फेब्रुअरी १ मा छ। फाइनल म्याच फेब्रुअरी ८ मा छ।
यता अष्ट्रेलियामा जारी बिग ब्यासमा सन्दीपले चार खेलबाट आठ विकेट लिइसकेका छन्। चार वटै टिमका कप्तानको विकेट लिएर सन्दीपले विकेट किलरको उपनाम समेत पाएका छन् ।
बिग ब्यासको समूह चरणको अन्तिम खेल फेब्रुअरी १८ सम्म चल्नेछ।
टोलीको अन्तिम लिग म्याच खेल्न सन्दीपले आफू पुनः अष्ट्रेलिया आइपुग्ने बताएका छन्।






