अंग्रेजी नयाँ वर्षकै दिन भित्रिए २ हजार बढी भारतीय सवारी
प्रकाशित मिति : पुस १८, २०७५ बुधबार
sdr
वीरगन्ज भंसार नाकाबाट अंग्रेजी नयाँ वर्षको दिनमा यात्रुले भरिएका दुई हजार ३६० वटा भारतीय नम्बर प्लेटका सवारी नेपाल भित्रिएका छन्। चारचक्के र दुई चक्के मोटरसाइकल गरी यात्रुसहित यत्रो ठूलो संख्यामा एकै दिन यात्रुबाहक सवारी नेपाल भित्रिएका हुन्। यी सवारीमा करिब ८/१० हजार भारतीय पर्यटक नेपाल भित्रिएको वीरगन्ज भंसार कार्यालयले जनाएको छ। अंग्रेजी नयाँ वर्ष सन् २०१९ को एक दुई दिन अगाडि र पहिलो दिन नै विगतका वर्षहरूमा झै यो वर्ष पनि स्थलमार्ग ठूलो संख्याको सवारीसहित भारतीय पर्यटक नेपाल प्रवेश गरेको वीरगन्ज भंसार कार्यालयका यात्रु शाखाका कम्प्युटर अपरेटर लिला बल्लभ नेपालले थाहाखबरलाई बताए।
नेपालको सुन्दर दृष्यावलोकन तथा धार्मिक भ्रमणका लागि भारतीय पर्यटक नेपाल आएको उनको भनाइ छ। मंगलबारमात्र केही दिन बस्ने गरी ७६० वटा यात्रुबाहक सवारी नेपाल प्रवेश गरेका छन्। जसमा ६०० जति चारचक्के सवारी रहेको यात्रु शाखाका कम्प्यूटर अपरेटर नेपालले बताए। बाँकी १६० जति मोटर साइकलबाट पनि भारतीय पर्यटक नेपाल भित्रिएको उनको भनाइ छ। यतै बस्ने गरी आएका सवारीले वीरगन्ज भंसार कार्यालयबाट इजाजत लिएर मात्र नेपाल प्रवेश गर्न पाउने नियम रहेको यात्रु शाखा प्रमुख तथा वीरगन्ज भंसारका सूचना अधिकारी मनिष महतोले बताए।
‘भंसारमा इजाजत लिंदा केही शुल्क पनि बुझाउनु पर्ने हुन्छ’ उनले भने। केही दिन यतै बस्ने गरी इजाजत लिएर वीरगन्ज भंसारको बाटोबाट नेपाल प्रवेश गरेका भारतीय सवारीबाट मात्र मंगलबार मात्र वीरगन्ज भंसार कार्यालयले ५ लाख ८४ हजार राजश्व पनि संकलन गरेको छ। त्यसैगरी सोमबार पनि ९ लाख १९ हजार र आइतबार पनि ७ लाख ३२ हजार वीरगन्ज भंसार राजश्व संकलन भएको वीरगन्ज भंसार कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ।
‘नयाँ वर्षको सिजन नहुँदा नेपाल प्रवेश गर्ने भारतीय सवारीबाट दैनिक साढे दुईतिन लाख जति मात्र राजश्व संकलन हुन्थ्यो’, वीरगन्ज भंसार कार्यालयको लेखा शाखाका कम्प्यूटर अपरेटर केदार अधिकारीले भने। अंग्रेजी नयाँ बर्षको अवसरमा त सवारीको चापसँगै राजश्व पनि बढेको उनको तर्क छ। जनवरी १ अथवा नयाँ वर्षकै दिन चाही सवारीको चाप बढे पनि धेरै दिन बस्ने गरी पर्यटक र सवारी नभित्रिएकोले अघिल्लो दिनको तुलनामा राजश्व चाही कम संकलन भएको लेखा शाखाका कम्प्यूटर अपरेटर अधिकारीले तर्क गरे। शुल्क तिरेर इजाजत नलिई नेपालको सीमाभन्दा नजिकैका स्थलबाट मंगलबार नै भारततर्फ फिर्ता जाने गरी आएका सवारीहरू पनि मंगलबार एक हजार ६०० नेपाल प्रवेश गरेको वीरगन्ज भंसार कार्यालयले जनाएको छ।
अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी स्थलमार्ग भई नेपाल भित्रिनेहरू दुई/तीनदेखि नै आइजाइ गरिरहेको यात्रु शाखाका कम्प्यूटर अपरेटर नेपालले बताए। यता पर्साको ठोरी नाका भएर पनि हजारौं संख्यामा भारतीय पर्यटकहरू ठोरीको रानीधारा, निर्मलबस्तीलगायतका ठाउँमा पिकनिक खान र फरक भौगोलिक दृष्यावलोकन गर्न आएको पाइएको छ। उनीहरू चढेर आएका सवारीको संख्या पनि करिब तीन हजारको हाराहारीमा हुन सक्ने साविकको ठोरी गाविसका अध्यक्ष उद्धव सापकोटाले बताए। नयाँ वर्ष माघे संक्रान्ति जस्ता विभिन्न अवसरमा स्थलमार्ग भई हजारौं भारतीय पर्यटकहरू ठोरीबाट नाकाबाट पनि प्रवेश गर्ने ठोरीवासीको भनाइ छ।






