विभत्स हत्या गरी जमिनमा गाडिएको नवजात शिशुको शव फेला
प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार
जन्मिने बित्तिकै हत्या गरी जमिनमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित आइतवारेका स्थानीय शंकर रेग्मीको जमिनमा गाडिएको अवस्थामा शिशुको शव फेला परेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलवार विहान स्थानीय उत्तरवहादुर बुढाथोकी घाँस काट्न जाँदा जमिनमा एउटा खुट्टा निस्किएको शव देखेपछि स्थानीयबासीको भीड लागेको थियो । शिशुको शव फेला परेपछि तत्काल स्थानीयले इलाका प्रहरी कार्यालय बुधबारलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले शिशुको शव निकालेर अनुसंन्धान गर्दा शिशुलाई जन्मिने वितिकै सलले घाँटी थिचेर मार्ने प्रयास गरिएपनि नमरेपछि पुनः सुपारीको पातको डोरी बनाई सो डोरीले शिशुको घाँटी थिचेर मारिएकोे प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । विभत्स हत्या गरिएको शिशु कस्ले जन्माएको र किन मारेको भन्ने विषयमा प्रहरीले थप अनुसंन्धान सुरु गरेको छ ।
यता शिशुको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको र त्यहाँ पोष्ट मार्टम हुन नसके धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरी कार्यालय झापाले जनाएको छ ।






