बिग ब्याश लिग: सन्दीपले फेरि लिए विपक्षी कप्तानकाे विकेट, जित्यो मेलबर्न स्टार्स
प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिगमा लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो ।
हालसम्म खेलेका चारवटै खेलमा विपक्षी टोलीको कप्तानको विकेट लिने क्रमलाई सन्दीप लामिछानेले मङ्गलवार पनि जारी राखेका छन्। मेलबर्न रेनिगेड्सविरुद्धको खेलमा पनि उनले कप्तान टम कूपरको विकेट लिएका छन्। रेनेगेड्सले दिएको १४९ रनको लक्ष्य स्टार्सले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
मंगलबारको खेल हेर्नको लागि मेलबर्न स्टार क्लबले नेपालीहरुको लागि सहुलियतमा २५ डलर राशीको एक हजार टिकट उपलब्ध गराएको थियो । नेपालीहरु नेपाली झण्डा सहित उत्साहका साथ खेल हेर्न पुगेका थिए । अष्ट्रेलियाको सबैभन्दा ठूलो क्रिकेट ग्राउन्ड मेलबर्न क्रिकेट ग्राउन्डमा पहिलो पटक नेपाली झण्डा फहराउन पुग्यो । खेलकै क्रममा लाइभमै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको अन्तर्वार्ता समेत लिइएको थियो। त्यसैले पनि आजको खेल यहाँ रहने नेपालीहरुलाई विशेष बन्न पुग्यो ।






