मैले सिटी रिक्सा कुदाउँदा मेरा पतिको बेइज्जती भयो अरे, त्यसैले मसँग सम्बन्धविच्छेद माग गरे


प्रकाशित मिति : मंसिर २१, २०७५ शुक्रबार

राजकुमारी राजवंशी कुनै बेला हात्ती चढेर माइत पुग्थिन् । उबेला जमिनदारकी छोरी अनि जमिनदारकै बुहारी रहेकी उनलाई माइत आउजाउ गर्न दुई किलोमिटर टाढा रहेको पतिको घरबाट हात्ती पुग्थ्यो ।

समयक्रमले उनलाई हात्तीबाट ‘सिटी रिक्सा’ मा पुर्‍याएको छ । अचेल दुई सन्तानको हातमुख जोड्न रंगेलीका कच्ची सडकमा उनी दिनभर सिटी रिक्सा कुदाउँछिन् । उनको बासचाहिँ पतिको परिवार जमिनदार हुँदा २०२५ सालमा बनाइएको हालको रंगेली ६ मा पर्ने पुरानो विशाल घरमै छ ।

२०४९ वैशाख २५ गते विवाह गरेकी राजकुमारी दुई सातापछि घरमा भएको बहादुर नामको हात्तीमा चढेर दर्वेशास्थित माइत गएकी थिइन् । त्यसबेला उनले आफ्ना नन्दहरू ममता, गीता र वसन्तीलाई पनि सँगै लगेकी थिइन् । दुई दिनपछि हात्तीमै फर्केको उनले सुनाइन् ।

त्यसै साल फागुनमा उनको जेठो छोरा भवेशको जन्म भयो । उनलाई पनि पहिलोपटक हात्तीमै राखेर मामा घर लिएर गएको राजकुमारी सम्झन्छिन् । पछि हात्ती पाल्न समस्या भएपछि ससुरा खेमराजले २०५३ सालमा भारत सीतामढीका एक व्यक्ति लाई साढे तीन लाखमा बेचेको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैवाहिक जीवनको सुरुवातमा साँच्चिकै ‘राजकुमारी’ झैं सुविधाभोग गरेकी उनले दुई वर्षअघि परिवारको गुजारा चलाउन सिटी रिक्सा चलाउन थालेकी हुन् । पति शिवराज साथ छाडेर अन्यत्र बस्दै आएका छन् ।

‘परिवारको गुजाराका लागि सिटी रिक्सा कुदाउँदा मेरा पतिको बेइज्जती भयो अरे,’ राजकुमारीले भनिन्, ‘त्यसैले मसँग सम्बन्धविच्छेद माग गर्दै अन्यत्र बस्दै आएका छन् ।’

परिवार टाट उल्टेर घरमा बिहान–बेलुका चुलो धुवाँउन पनि छाडेको थियो । पतिले कमाइ पनि नगर्ने भएकाले आफूले सिटी रिक्सा चलाउन थालेको उनले बताइन् । ‘अहिले मेरो केही नभए पनि म अहिले पनि मनको जमिनदार हुँ,’ शिवराजले भने, ‘श्रीमतीले सिटी रिक्सा चलाउन थालेपछि मेरो इज्जत सडकमा पुग्यो, त्यसैले छाडेर बेग्लै बस्दै आएको हुँ ।’

उनीहरूलाई सँगै बस्न स्थानीय महिला समूहले आग्रह गरेका थिए । तर शिवराजले पत्नीले सिटी रिक्सा कुदाएकै कारण सम्बन्धविच्छेद गर्ने अडान लिएपछि सम्भव नभएको प्रगतिशील नगर महिला सञ्जालकी अध्यक्ष पुनम सापकोटाले बताइन् । ‘शिवराज कुनै समयका जमिनदार नै थिए तर अहिले उनको केही पनि छैन,’ उनले भनिन्, ‘परिवारको गुजारा चलाउन राजकुमारीले सिटी रिक्सा चलाउँदा उनले आफ्नो इज्जत गएको भन्दै घरै छाड्नु र सम्बन्धविच्छेद गर्न दबाब दिनु अनुचित हो ।’

राजकुमारी तत्कालीन दर्वेशा गाविसका जमिनदार करमचन राजवंशीकी छोरी र रंगेलीका अर्का जमिनदार खेमराज राजवंशीकी बुहारी हुन् । ‘म २०४९ सालमा यो घरमा बुहारी भएर भित्रँदा ससुराको नाममा करिब ३० बिघा जमिन र घरमा हात्ती थियो,’ राजकुमारीले भनिन्, ‘अहिले आफू बुहारी भएर भित्रिएको पुरानो हबेली घरले चर्चेको रंगेली ६ मा १७ धुर जमिन र सुनवर्षी नगरपालिका ८ कुडेलीमा ५ कट्ठा जमिनबाहेक केही पनि छैन ।’ उनका अनुसार ससुराहरू छुट्टिँदा सुन र चाँदी तराजुमा जोखेर बाँडफाँट गरेका थिए ।

भएको जमिन सबै बिक्री गर्दै मोजमस्ती गरेर सिध्याएको उनको भनाइ छ । ‘घरको गर्जो टार्नैका लागि आफू तीनपटक वैदेशिक रोजगारीका लागि विदेश पनि गएँ । त्यहाँबाट पठाएको रकमसमेत मोजमस्तीमै सिध्याएछन्,’ उनले भनिन् ।

२०६३ सालमा कुवेत गएर दुई वर्ष बसेकी थिइन् । त्यहाँबाट पठाएको साढे ३ लाख श्रीमान्लाई पठाए पनि सबै मोजमस्तीमा सकेको उनले बताइन् । २०६६ मा फेरि साउदी गइन् । त्यहाँको कमाइ पनि सुरक्षित हुन पाएन । त्यसपछि पतिलाई सँगै लिएर भारत गएको उनले सुनाइन् ।

‘मदिरा खाने लत भएका उनी त्यहाँबाट भागेर आएपछि म पनि फर्किएँ,’ उनले भनिन्, ‘केही गर्दा साध्य नभएपछि सिटी रिक्सा चलाएर परिवारको गुजारा चलाउन थालेकी हुँ ।’ राजकुमारीले २ लाख ३५ हजार ऋण लिएर सिटी रिक्सा चलाएकी हुन् । २८ हजार ऋण तिर्न बाँकी रहेको उनले बताइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com