नेपाल ल्याइदैं विश्वकप ट्रफी


प्रकाशित मिति : कार्तिक ६, २०७५ मंगलबार

अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आईसीसी’ को नेपालस्थित प्रतिनिधि भावना घिमिरेले जानकारी दिनुभयाे ।

आईसीसी विश्वकप ट्रफी नेपाल भ्रमणमा ल्याउन लागिएको यो पहिलो पटक हो । फुटबल विश्वकपको ट्रफी भने यसअघि नेपालमा आइसकेको छ । सन् २०१४ मा ब्राजिलमा फिफा विश्वकप सुरु हुनुअघि सो ट्रफी ल्याइएको थियो।

आईसीसी विश्वकपको १२ औं संस्करण सन् २०१९ को मे ३० देखि जुलाई १४ सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ। विश्वकप सुरु हुनुअघि विश्वव्यापी रूपमा क्रिकेटको लोकप्रियता बढाउने उद्देश्यले आईसीसीले पाँचवटै महादेशमा ट्रफी टुर गराउन लागेको हो। आईसीसीले ट्रफीलाई २१ राष्ट्रका ६० भन्दा बढी सहरमा पुर्‍याउने योजना बनाएको छ । ट्रफी टुर आईसीसीको दुबईस्थित मुख्यालयबाट अगस्ट २७ बाट सुरु गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com