चितवनमा राति बस दुर्घटना : ३ जनाको मृत्यु, २३ यात्रु घाइते
प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार
इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।
मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना एकाबिहानै साढे २ बजे भएको थियो ।
त्यसैबीच, माडीमा हात्तीको आक्रममणबाट १ किशोरको मृत्यु भएको छ । माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घटना राति साढे १२ बजे भएको प्रहरीले जनाएको छ । रातको समयमा जंगली हात्तीले धान खान थालेपछि माडीवासी जाग्राम बसेर हात्ती लखेट्ने गर्दछन् ।






