कुरुप समय 


प्रकाशित मिति : आश्विन २, २०७५ मंगलबार

– उषा शेरचन

बिन्ती नदेखाउ भो
हेर्न सक्तिन म
यस्ता हृदयविदारक तस्बिरहरु
जसले आमाको कोमल हृदयलाई
पगाल्छ मात्रै

बिन्ती नसुनाउ भो
सुन्न सक्तिन म
यस्ता मानवताहीन खबरहरु
जसले आमाकोे कोमल हृदयलाई
चुँडाल्छ मात्रै

रगत र मासुले नभइ
ढुङ्गा र माटोले बनेको
ओ!नरभक्षीहरु

सोच र विवेकले नभइ
फलामले बनेको
ओ! संवेदनहीन रोर्बटहरु

नबर्षाउ त्यसरी आगोका बर्षाहरु
निर्दोष कोपिलाहरु माथि
नझार त्यसरी बमका गोलाहरु
कलिला फूलहरु माथि

कलिला फूलका घाँटी निमोठ्दै हिँड्ने
ओ ! पागलहरू
कति लिन्छौँ यसरी मातृत्वको परिक्षा ?

आमाका कोखहरूका खिल्ली उडाउने
ओ! दानवहरु
कति घोट्छौँ यसरी मानवताको गला ?

आमा हुनुको अनन्त
पीडा पनि कति खप्नु अब ?
मानव हुनुको असीमित
लज्जाबोध पनि कति गर्नु अब?

बरु आमा हुनै अस्वीकार गर्छु म
यो घिनलाग्दो समयमा
बरु सन्तान जन्माउनै अस्विकार गर्छु म
यो निष्ठुरी समयमा

अनि नारी बिनाको यो संसारमा
चाहे राज गर वा राजनीति
चाहे सत्ता खोस वा सिमाना

ओ ! कुरुप समय
सक्छौ भने
या त बन्द गर हिंसाका
यस्ता क्रुर गतिविधिहरु

ओ! कुरुप समय
सक्छौ भने
समाप्त पार शक्तिका
यस्ता नृशंस खेलहरु

यदि
सक्तैनौँ भने
कि त बन्द गरिदेउ
आमाका धड्कनहरु
वा
सिलाई देउ
आमाका पाठेघरहरु !
सिलाई देउ
आमाका पाठेघरहरू !!

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com