बलात्कार निकारणका उपाय : बलात्कारीलाई फाँसी, सेक्स जोनको व्यवस्था


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

– एच.बी ताम्राकार

म पूर्वको सम्पन्न अनि समृद्ध राष्ट्र जापान आएको झन्डै पाँच वर्ष पुग्दैछ । प्राकृतिक विपतबाहेक अरु घिनौना खेलहरु यहाँ केही देखिन्न । मानवताले भरिपूर्ण देश हो जापान ।

जापान बाहिरबाट आएका कैयन खबर सुन्छौं हामी, बलात्कारबारे, बलात्कारपछि नाबालिकाको हत्याबारे, मानव तस्करीबारे, जातियताका आधारमा अमानवीय दमनबारे, छाउपडी बार्दा महिलाको ज्यान गएका घटनाबारे । यस्ता प्राय घटनामा पीडितहरु अधिकांश नेपाली महिलाहरु छन् ।

काभ्रेमा महिला बलात्कृत , कलंकीमा महिला बलात्कृत, कैलालीमा महिला बलात्कृत र कंञ्चनपुरमापनि महिला बलात्कृत । अझ बलत्कारपछि हत्याको खबरले यो मन झनै रुवाउँछ । पुरुष प्रधान देश नेपालमा महिला र पुरुष बराबर हुन् भन्ने सोचको विकास कार्यान्वन तहसम्म पुग्न सकिरहेको छैन । पुरुषलाई सेक्स चाहिन्छ भने महिलालाई किन चाहिदैन ? सेक्सबारे खुल्ला बहस चलाउने, बलात्कारबिरुद्धको कानुन कडा बनाउने, बैधानिक रुपमा राज्यले कर लिएर पेशेवर यौनकर्मीहरुका लागि सेक्स जोनहरु व्यवस्था गर्ने र सेक्सलाई खुल्लारुपमा स्वीकारेमा बलात्कारका घटना निर्मूल पार्न सम्भव छ ।

निश्चित उमेर पुगिसकेपछी केटा र केटी भेटघाट हुनु , प्रेम संम्वन्धमा पर्नु र सेक्स गर्नुलाई सामान्य लिनुपर्छ । केटा र केटीसंगै हिडेका बेला घुरेर नहेरौ । स्वतन्त्र रुपले उमेर पुगेका युवायुवतीलाई सहकार्य गर्न दिऔं । बहिनी वा छोरीहरुलाई सार्वजनिक ठाउँमा जान नरोकौं । सवैसँग घुलमिल हुने वातावरण मिलाऔं । महिलाहरुलाई लुगा लगाउने तरिकाकै आधारमा संकुचित सोच बनाउदै नतर्साऔं ।

पार्क मा आफ्नो पुरुष साथीसंग रमाईलो गरिरहेकी छिन् भने स्वतन्त्र छोडौ । केटीले केटालाई , केटाले केटीलाई अन्यथा नसोची खुलेर यौन सम्पर्क गर्ने बारे बहस गरौं । छलफल गरौं । स्वस्थ सेक्स गरौ । सेक्सका लागि जोनहरु तोकौं । यसरी श्रीमानश्रीमती , प्रेमीहरु र जो कोहिपनि जोडीहरुलाई स्वतन्त्र तरिकाले रमाईलो गर्न दिए , बन्द कोठा , जंगल वा झाड़ी चाहिदैन् । महिलाहरु नेपालमा एकपछि अर्को बलात्कृत हुदै मृत्युको मुखसम्म पुग्नु देशकैलागि लज्जास्पद र डरलाग्दो संवेदनशील विषय हो । निराकरणका लागि आजै बहसको खाँचो छ ।

बलात्कार निराकरणका लागि पहिलो कुरा त कानुन कडा बनाउनुपर्छ । बलात्कारीहरुलाई भकाभक झुन्ड्याउनु पर्छ । अर्थात् मृत्युदण्डको व्यवस्था हुनुपर्छ । फाँसी दिइयो भने अन्य अप्रिय घटनाहरु घट्न पाउदैनन् । कदम बढाउनुवअगाडी हजार पटक सोच्न बाध्य हुन्छन् । कानुनमा मृत्युदण्डको व्यवस्था नगरी अपराधी २ दिनमै जेलमुक्त हुँदै जाने हो भने नेपालमा अराजकता फैलिदै जानेछ ।

परिवारमा पनि यौनबारे स्वस्थ वहस हुनुपर्छ । खुलेर कुरा गर्नुपर्छ । छोराछोरीलाई बन्द कोठामा बाधेर राख्नु हुदैन । उमेर पुगेका केटाकेटीहरु बन्द कोठामा बाँध्नु भनेकै अप्रिय घटनालाई निम्त्याउनु हो । छोराछोरीले पहिलो शिक्षा परिवारबाट पाउने भएकाले राम्रै संस्कार आमाबुवाले छोराहरुलाईपनि सिकाउनु पर्छ ।

जापानको प्रविधिक रुपले विश्वकै शक्तिशाली राष्ट्रहरुमा पर्छ । तर यहाँ सेक्सलाई खुल्ला रुपमा लिइन्छ । दुवैजना सहमत भए सेक्स सामान्य हो । रमाईलो गरिरहेकाहरुलाई गर्न दिनु नै जापानको एक अहम विशेषता हो । तर जÞबरजस्ती महिलालाई छुनु भनेको भिरबाट हाम फाल्नुसरह हो जापानमा । त्यसैले सेक्स पार्टनर नहुनेहरु पैसा तिरेर सेक्स गर्न सेक्स सेन्टर जान्छन् वा हस्त मैथुन गर्छन् । पार्टनर हुनेहरु सहमतिमा सेक्स गर्छन् । यसो हुँदा बलात्कारका घटना हुने कुरै भएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com