एउटै घरमा एकै परिवारका ७ जनाले गरे सामूहिक आत्महत्या, शोकमा डुब्यो सिंगो शहर


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

भारतको राजधानी दिल्लीमा एकै परिवारका ११ जना र हजारीबागमा एकै परिवारका ६ जनाको सामूहिक आत्महत्याको घटना सेलाउन नपाउँदै पुनः एकै परिवारका ७ जनाको सामूहिक आत्महत्याको सनसनीखेज घटना भएको छ । झरखण्डको राँचीमा एकै परिवारका ७ जनाले सामूहिक आत्महत्या गरेका हुन् । यो घटनाले सिंगो शहर शोकाकूल भएको छ ।

मृतक परिवार ऋणमा डुबेको बताइएको छ । मृतकहरुमा दुई बालबालिका छन् । यी दुईमध्ये बालिकाको उमेर ४–५ वर्ष र बालकको उमेर डेढ वर्ष छ । झट्ट हेर्दा यो घटना आत्महत्या नै भएको देखिएको छ । फरेन्सिक जाँचपछि मात्र मृत्युको कारण प्रस्ट हुनेछ । घटनास्थलमा एक व्यक्तिको शव फाँसीमा झुण्डिएको अवस्थामा भेटिएको थियो । बाँकी सदस्य बेलमा फालिएका थिए ।

भारतीय मिडिया ‘आज तक’ले लेखेअनुसार भागलपुरका दीपक झा र उनको परिवारले आत्महत्या गरेको हो । उनीहरु भाडाको घरमा बस्थे । घरमालिकका अनुसार उनीहरुले केही महिनादेखि घरको भाडा पनि दिन सकेका थिएनन् । परिवारको मृत्युको खुलासा आज बिहान भएको हो जब दीपककी छोरीलाई स्कुल लैजान स्कुलको गाडी आएको थियो । स्कुल गाडीका चालकले हर्न बजाउँदा घरबाट कोही ननिस्किएपछि घरधनीका छोरा हेर्न गएका थिए ।

घरधनीका छोराले कोठामा हेर्दा आत्तिएपछि अरुले पनि झ्यालबाट हेरेका थिए । त्यहाँभित्रको दृश्य हेर्दा छिमेकी सबैको सातोपुत्लो उड्यो । त्यसपछि तत्काल प्रहरीलाई सूचना दिइयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com