सुन तस्करी प्रकरणः थप दुई सय ९३ जना शंकाको घेरामा


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण अनुसन्धान गरेको टोलीले करिब तीन सय जनामाथि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

तीन महिना लामो अनुसन्धानको निश्कर्षसहित सरकारलाई बुझाउन तयार प्रतिवेदनमा थप दुई सय ९३ जना शंकाको घेरामा रहेको उल्लेख छ।टोलीको कारवाहीमा पक्राउ परेका आरोपीहरुले बयानमा खुलाएका, उनीहरु व्यवसायिक साझेदार र सञ्जालमा रहेका उपर थप अनुसन्धान सिफारिस भएको हो। स्रोतका अनुसार अनुसन्धानमा खुलेका केही ब्यक्तिलाई मोरङ प्रहरी र संघीय सरकारबाट टोली बनाएर थप अनुसन्धान गर्न सिफारिस गरिएको छ।

सन्देहको घेरामा आएका ब्यक्ति उपर अनुसन्धान भइरहँदा टोलीको म्याद सकिएको थियो। दुबईमा पक्राउ परेका रमेश उप्रेती र बेनु श्रेष्ठमार्फत थप ब्यक्तिको संलग्नता पुष्टि हुनसक्ने टोलीको निष्कर्ष छ।

टोलीले प्रधानमन्त्री कार्यालय वा गृहमन्त्रालयले सुन तस्करी, हुण्डी र अवैध धनको अनुसन्धान गर्न स्थायी प्रकृतिको टोली गठन गर्नुपर्ने सिफारिस गरेको छ। प्रतिवेदनमा प्रहरी प्रधान कार्यालय वा प्रहरीका विशेष ईकाइ मार्फत अनुसन्धान जारी राख्न सकिने विकल्प समेत सिफारिस गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन तयार रहेको प्रतिवेदनमा पक्राउ गरिएका आरोपी र उनीहरुविरुद्ध टोलीले बरामद गरेका प्रमाणसहितको विवरण समेत उल्लेख छ। यस्तै अनुसन्धानका तथ्यहरू, सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जालको सञ्चालन विधि लगायतका विषय फरक–फरक अध्यायमा समेटिएका छन्।
७ सय ५० पृष्ठ लामो मूल प्रतिवेदन पुस्तकमा टोलीले अनुसन्धान सुरु भएदेखि हालसम्म गरिएको कारवाहीको सम्पूर्ण विवरण उल्लेख छ। अध्यायहरुमा तस्करी, हुण्डी, सञ्जाल र कानूनी तथा प्रक्रियागत सुधारका विषय समावेश छन्। ‘अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा पुगेको छ, हामी बुझाउने तयारी गरिरहेका छौं,’ अनुसन्धान टोलीका संयोजक सहसचिव ईश्वरराज पौडेलले भने।

सुन तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल भत्काउन बिशेष टोलीले नेपाल, भारत र दुबईसम्मको अनुसन्धान गरेको थियो। उर्लाबारीका युवा सनम शाक्यको हत्याको रहस्य सुल्झाउन अधिकार क्षेत्र नाघेर मोरङ गएको अपराध महाशाखाको सन्देह पूर्ण अनुसन्धानले चार दशक लामो सुन तस्करीको सञ्जाल भत्काउने मियो बनेको थियो।
२०७४ चैत २० को मन्त्रिपरिषद्को निर्णयबाट सहसचिव पौडेल संयोजक रहेको ९ सदस्यीय बिशेष टोली गठन गरेको थियो। टोलीले ७५ जनाविरूद् मुद्दा अदालतमा बुझाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com