पूर्णिमामा बुद्धको स्मरण


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

चारुमती बौद्ध विहारले शाक्यमुनि गौतम बुद्धले विश्व शान्ति र मानव कल्याणका लागि गुरु पूर्णिमाका दिन पहिलोपटक ज्ञान बाँडेको स्मरणमा आज विशेष धार्मिक पूजा गरेको छ ।

काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित विहार परिसरमा आयोजित कार्यक्रममा बौद्ध धर्मावलम्बीले विधि विधानपूर्वक पूजा तथा ध्यान गरिएको हो ।

उक्त कार्यक्रममा मानवता, सामाजिक न्याय, समानताका लागि बुद्धले दिएका विचारलाई आदर्शका रुपमा अवलम्बन गर्ने प्रतिबद्धता सहभागीले जनाएका छन् । इपू ५६३ मा लुम्बिनीमा जन्मेका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधिसत्व प्राप्त गरेपछि बुद्ध भई मानव जातिका लागि पञ्चशील र आर्य अष्टाङ्गिक मार्गलगायतका उपदेश तथा अनेकौँ दार्शनिक सिद्धान्तबारे शिक्षा दिएको दिनका रुपमा गुरु पूर्णिमालाई लिइने गरिन्छ ।

पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु भन्ने शिक्षा छ भने आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुद्धले हाल भारतमा अवस्थित बोधगयामा करीब छ वर्षको साधनाबाट अलौकिक दिव्य ज्ञान (बोधिसत्व) प्राप्त गरी तत्कालीन समाजलाई सकारात्मक परिवर्तनका लागि भारतकै राजगृहमा भद्दीय, महानाम, अस्सजी, कौण्डय र बप्प पाँच जना भिक्षुलाई पहिलोपटक ज्ञान दिइएको विश्वास छ । बुद्ध भन्नाले बोधिप्राप्त व्यक्ति आफ्नै प्रयासले विनागुरु बुद्धत्व प्राप्त गर्दछन् र अरू प्राणीलाई दुःख निरोधको मार्गदर्शन गर्दछन् उनलाई ‘सम्यक’ सम्बुद्ध भनिन्छ ।

उक्त विहारका प्रमुख भिक्षु तपस्सी धम्मका अनुसार मानव समुदायलाई आफूले आफूलाई चिन्नुपर्ने, मनलाई नियन्त्रणमा लिनुपर्ने, मोहबाट टाढा बस्नुपर्ने, एकआपसमा सद्भाव राख्नुपर्नेजस्ता प्रेरणादायी उपदेश दिएकैले बुद्धलाई मानव समुदायका पहिलो दार्शनिकका रुपमा विश्वले सम्मान गरेको छ ।

बुद्धले प्रतिपादित गरेको बौद्ध दर्शनले पछि अनिश्वरवादी धर्मको रुप लिइएको छ । कर्म र मानवतालाई केन्द्रमा राखिएको बौद्ध शिक्षालाई पछिका अनुयायीले भारतीय उपमहाद्वीप हुँदै विश्वमा फैलिएका हुन् । बौद्ध धर्ममा थेरवाद, महायान र बज्रयान गरी तीन सम्प्रदाय विकास भएको छ । बौद्ध विद्वान् टीका शेर्पाका अनुसार ८० वर्षको उमेरमा शरीर त्याग गरेका गौतम बुद्धलाई वर्तमान कल्पको चौथो सम्यक सम्बुद्धका रुपमा मानिन्छ ।

बौद्ध अनुयायीले महामानव तथागत आदि विशेषणयुक्त नामले बुद्धलाई मान्दै आएका छन् । बुद्धले आफूले प्राप्त गरेको धर्म–दर्शन जनमानससमक्ष प्रचारप्रसार गर्न भिक्षुलाई सामूहिक आवासको व्यवस्थासहित संघको स्थापना गर्नुभएपछि भिक्षुसँगै बस्ने, सामाजिक विकासका लागि सकारात्मक विभिन्न स्थानमा ज्ञान बाँड्ने परिपाटीबाट भिक्षुको संघीय जीवन विकास हुँदै गएको हो ।

बौद्ध दर्शनमा अहिंसा तथा सद्भावका शिक्षा पर्याप्त रहेकाले मुलुकमा दिगो शान्ति तथा समृद्धिका लागि ती ज्ञानको महत्व बढ्दै गएको पाइएको छ । अखिल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डयले बौद्ध शिक्षामा रहेका पञ्चशील, अष्टशील तथा भवचक्र (जीवन मृत्युसम्म) को दर्शनबारे विद्यालयस्तरदेखि नै पाठ्यक्रम विकास गरी अध्ययन तथा अध्यापन गराउनुपर्नेमा जोड दिनुभयो ।

बौद्ध धर्मावलम्बीले गौतमबुद्धभन्दा अगाडि पनि सम्यक सम्बुद्ध उत्पन्न भइसके र आगामी दिनमा पनि ती सम्यक सम्बुद्ध उत्पन्न भई दुःख निरोधको शिक्षा फैलाउने विश्वास छ । बौद्ध धर्मको अन्तिम लक्ष्य हो दुःखबाट सदाका लागि मुक्ति । ध्यानद्वारा समाधि हासिल गर्दै (ज्ञान) प्रज्ञा उत्पन्न गराउनसकेमा दुःख मुक्तिको अवस्था साक्षात्कार गर्न सकिन्छ भन्ने बुद्ध शिक्षाको अर्को महत्वपूर्ण पक्ष हो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com