१५ लाख फिरौती लिएर पनि अपहरित ९ वर्षे बालकको हत्या- गण्डक नहरमा बोरामा सब फेला ताजा खबर


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

बारामा १५ लाख रुपैयाँ फिरौती लिएर पनि एक ९ वर्षीय बालकको हत्या गरिएको छ । डेढ महिना अघि अपहरणमा परेका जितपुर सिमरा उपमहानगरपालिका ७ जितपुर बजारका गल्ला व्यापारी ललनप्रसाद गुप्ताका छोरा अंकितको अपहरणपछि १५ लाख रुपैयाँ फिरौती लिएर पनि हत्या गरिएको हो ।

अंकितको शव पर्साको गण्डक नहरमा बोरामा कसेर फालिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ । गण्डक नहरको रघुनाथपुर क्षेत्रबाट पर्सा प्रहरीले साउन ३ गते नै शव फेला पारे पनि पहिचान हुन सकेको थिएन। अंकितले लगाएको लकेटका आधारमा शव अंकितकै भएको बाराका प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अजय पटेल, वीरगंज रानीघाटका रामनरेश साह र ताज मियाँ रहेका छन् । उनीहरुमाथि कर्तव्य ज्यान मुद्दा दर्ता हुँदैछ ।

प्रहरीले शवबाट दाँत र हड्डी झिकेर डिएनए परीक्षणको लागि काठमाडौं पठाएको छ । ललनप्रसादका छोरा गत जेठ २२ गते साँझ साथीको घरमा खेल्न गएका बेला अपहरणमा परेका थिए ।

अपहरणमा परेका ४ दिनपछि डेढ करोड भारु फिरौती माग गरिएको थियो । तर अन्तमा १५ लाख नेपाली रुपैयाँमा अंकितलाई अपहरणमुक्त गराउने आश्वासन अपहरणकारीले दिएका थिए । असार ३२ गते भारतको बिहारमा गएर अपहरणकारीलाई १५ लाख रुपैयाँ दिईएको थियो । तर अंकित घर फर्किएका थिएनन् । अन्ततः अंकितको शव साउन ३ गते गण्डक नहरमा फेला परेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com