भैरहवाको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुसबाटै परीक्षण उडान गरिने


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

रूपन्देही-निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो जनवरी १ (पुस तेस्रो साता) परीक्षण उडान गर्नेगरी निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थल निर्माणका लागि मुख्य कामको रूपमा रहेको धावनमार्गको अन्तिम चरण प्रारम्भ भएको छ । ३ हजार मिटर लम्बाइ रहेको धावनमार्गमा तयार रहेको बेसकोर्समा आइतबारबाट बिटुमिन(अलकत्रा) हाल्ने काम सुरु भएको छ ।

अलकत्रा हालेपछि धावनमार्गलाई कालोपत्रे गर्ने काम सुरु हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए । “अब एक किसिमले धावनमार्ग कालोपत्रे गर्ने काम सुरु भएको मान्न सकिन्छ, यस्तै भयो भने हामी १ जनवरी २०१९ मा यो विमानस्थलबाट परीक्षण उडान सुरु गर्नेछौं,” शर्माले भने । बेसकोर्समा अलकत्रा राखेपछि त्यसमाथि तीन तहको पिच हुने शर्माको भनाइ छ । अहिले राखेको अलकत्राले बेसकोर्स तलका सबैलाई सुरक्षित र मजबुत गर्ने काम गर्छ । राखिएको अलकत्रामाथि अब १ फिटमात्रै उठ्नेछ, जुन धावनमार्गको अन्तिम कार्य हो ।

आयोजना कार्यालयले जतिसक्यो छिटो धावनमार्गको काम सकि त्यहीँबाट आन्तरिक हवाई उडान गर्ने लक्ष्य लिएको छ । अहिलेको विमानस्थलको धावनमार्ग ट्याक्सी वेमा परिणत हुने भएकाले त्यसलाई निर्माण गर्दा आन्तरिक उडान सम्भव नभएकाले पनि अहिलेको धावनमार्गको निर्माण जनवरी १ भित्रै सम्पन्न गरी त्यहिँबाट आन्तरिक उडान सुरु गरी विमानस्थलका बाँकी निर्माण काम गर्ने योजना रहेको आयोजना प्रमुख ओम शर्माले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शर्माले जनवरी १ तारिखमा वाइडबडी जेट, एअरबसको परीक्षण उडान गर्ने योजनाअनुसार काम दु्रत गतिमा भइरहेको बताए । शर्माका अनुसार विमानस्थलको सबै काम हेर्दा अहिले आधाभन्दा बढी निर्माणका काम सकिएको छ । भौतिक पूर्वाधारका काम ६० प्रतिशत सकिएको छ । बाँकी पूर्वाधार र अन्य काम पनि समयमै सम्पन्न हुने र सन् २०१९ भित्र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने दाबी गरे । विमानस्थल निर्माणका क्रममा हुने अप्ठेरा बेसकोर्सका कामहरू सबै सकिएको छ ।

विमानस्थल निर्माण आयोजनाका प्रमुख शर्माका अनुसार विमान पार्किङ क्षेत्रको ७० प्रतिशत काम सम्पन्न भएको छ भने बाँकी रहेको छिट्टै सम्पन्न हुने बताइएको छ । पार्किङमा एकैपटक ५ ठूला विमान पार्किङ गर्न मिल्छ । यस्तै, प्रशासकीय भवन, कन्ट्रोल टावर, अन्तर्राष्ट्रिय टर्मिनल भवनको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । पछिल्ल्लो समय विमानस्थल निर्माणको काम दु्रत गतिमा भइरहेको छ । विमानस्थल निर्माणमा अहिले चीनका दक्ष र अर्धदक्ष गरी करिब ८० कामदार छन् भने थप कामदार चीनबाटै ल्याउने तयारी भइरहेको छ । विमानस्थल क्षेत्रभित्र पर्ने घाघरा नदी डाइभर्सन गर्ने काम २ वर्षअघि नै सम्पन्न भइसकेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ माघबाट चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभियसनले विमानस्थल निर्माण सुरु गरे पनि २०७२ मा आएको भूकम्प, त्यसलगत्तै लामो समय चलेको मधेश आन्दोलन, नाकाबन्दी, नदीजन्य बस्तुको अभावलगायतका कारणले विमानस्थल निर्माण करिब २ दुई वर्ष पछाडि धकेलिएको छ । ६ अर्ब २२ करोड रुपैयाँ लागत रहेको निर्माणधिन विमानस्थलको अहिलेसम्म आधाभन्दा बढी काम सकिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com