आफ्नै श्रीमानलाई केटा लगाएर घरमै श्रीमती द्वारा हत्या


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

पछिल्लो समय कैलालीमा श्रीमानद्वारा श्रीमती श्रीमतीद्वारा श्रीमानको हत्याका घटना बढेका छन् । १ महिना नबित्दै तेस्रो पटक अर्को घटना घटेको छ ।

कैलालीको भजनी नगरपालिका–९ भुरुवाकी निर्मला राजीले साउन ४ गते आफ्नै पति नन्दु राजीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । डर लाग्दो पक्ष यस्ता प्रकृतिको घटनामा श्रीमतीले प्रेमीको सहयोग लिएको समेत अनुसन्धानले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार पत्नी निर्मला राजीले पनि प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको खुलेको हो ।

साउन ४ गतेदेखि सम्पर्कविहीन रहेका नन्दुको शव मंगलबार बिहान साढे ८ बजे भजनी नगरपालिका–९ गन्जाहुवास्थित सिराधानी जंगलमा खाल्डो खनेर पुरेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । घरमै घटना घटाएको तथ्य फेला परेको बताउँदै उनले करीब १ किलोमिटरको दुरीमा रहेको सो जंगलमा पुरेको उल्लेख गरे । नन्दुको शव पोस्टमार्टमको लागि टीकापुर अस्पताल लगिएको छ ।

यसैबीच, प्रहरीले घटना घटाएको आशंकामा निर्मला र दिलिपलाई नियन्त्रणमा लिइ अनुसन्धान जारी राखेको छ । स्थानीयका अनुसार निर्मला र दिलिपबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।

गत असार ८ गते माइतीघर कैलालीको गोदावरी नगरपालिका–१० ओलानी भएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि २२ वर्षीया लक्ष्मी बडैलाले २३ वर्षीय प्रेमी दीपक खत्रीसँग मिलेर २४ वर्षीय श्रीमान तेजबहादुर विष्टको हत्या गरिन् ।

विष्टसँग बैशाख १६ गते मागी विवाह गरेकी उनको विवाहपूर्व गोदावरी नगरपालिका–१२ खमौराका दिपक खत्रीसँग प्रेम सम्बन्ध थियो । नाटकीय ढंगले प्रेमीको सहयोगले असार ८ गते राति कैलालीको चुरे गाउँपालिका–५ स्थित भासु भीरबाट खसालेर श्रीमानको हत्या गरिन् । मृतक विष्टको शव असार १२ गते प्रहरीले फेला पारेको थियो ।

त्यस्तै, असार २० गते कैलालीको लम्कीचुहा नगरपालिका–९ का ३५ वर्षीय इन्द्रबहादुर चौधरीले आफ्नी श्रीमती गर्भीदेवी चौधरीको हत्या गरे । असार २० गते छिमेकीको घरमा धान रोपाइँ पछिको खानपानमा सरिक भई बेलुका घर फर्केका थिए । मादक पदार्थ सेवन गरेका दुवैबीच सामान्य वादविवाद हुँदा इन्द्रले रिसको झोकमा श्रीमतीको हत्या गरेका थिए ।

त्यस्तै छिमेकी जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरे । असार १२ गतेका दिन सशस्त्र प्रहरी हवल्दार रहेका कार्कीले आफ्नी श्रीमतीलाई खेतमा रोपाइ गरिरहेको अवस्थामा फरुवाले हिर्काएर विभत्स ढंगले हत्या गरे ।

आपराधिक घटनामा बृद्धि

१ वर्षयता कैलालीमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बलात्कार तथा जबर्जस्ती करणी लगायतका आपराधिक घटनामा बृद्धि भएको समेत पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्ममा ११ वटा ज्यान मार्ने उद्योग मुद्धा दर्ता भएको पाइएको छ । जबकी आर्थिक वर्ष २०७३/०७४ मा ३ वटा दर्ता भएको थियो ।

त्यस्तै, २०७४/०७५ मा जबर्जस्तीकरणीका ४१ वटा मुद्धा दर्ता भएका छन् भने २०७३/०७४ मा ३० वटा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com