२५ दिनदेखि अनसनरत डा. केसीपक्ष र सरकार बीच वार्ता सुरु


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

काठमाडौं – सरकार र २५ दिनदेखि अनसनरत डा.गोविन्द केसीपक्षबीच अहिले वार्ता भइरहेको छ ।

शिक्षा मन्त्रालयमा केही बेर अघिदेखि वार्ता चलिरहेको मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो ।

वार्तामा डा.केसीका प्रतिनिधि र सरकारी वार्ताका टोलीका सदस्य सहभागी छन । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङ र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच छलफल भएको थियो ।

चिकित्सा शिक्षा विधेयकमा मेडिकल माफिया अनुकुलमा राखिएका बुँदा हटाएर शिक्षामन्त्री पोखरेल र परराष्ट्रमन्त्री ज्ञवाली तथा नेता सुवास नेम्वाङले डा.गोविन्द केसीका माग सम्बोधन गने गरी वार्ताको पहल थालेपछि आज वार्ता भएको हो ।

वार्तामा विधेयकका केही बुँदा हटाएर संशोधन गरी डा.केसीका माग सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्यको भनाई छ । शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीले यसअघि तीन पटकसँग डा.केसी पक्षसँग छलफल गरे पनि सहमति हुन सकेको थिएन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com