हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार – प्रहरी


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

नेपाल प्रहरीले शान्तिपूर्ण रुपमा गरिने कार्यक्रमलाई सुरक्षा प्रदान गरिने भन्दै कानुनको उलंघन हुने क्रियाकलापमा संलग्न नहुन आग्रह गरेको छ ।

शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएका समाचार सार्वजनिक भएपछि प्रहरीले कानुनको पालनातर्फ सचेत गराएको हो । काठमाडौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले संयमित भएर आफ्ना गतिविधि सञ्चालन गर्न गराउन सबैसँ आग्रह गर्नुभयो । प्रहरी संगठन सधैं नागरिकको जीउ धनको सुरक्षामा दत्तचित्त रहने भन्दै उहाँले नागरिक सुरक्षाको प्रतिवद्धता जनाउनुभयो ।

शनिबार तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा प्रहरी दमन नभएको पनि उहाँले स्पष्ट पार्नुभयो । वानेश्वरको निषेधित क्षेत्र नतोड्न प्रहरीले गरेको अनुरोधलाई प्रदर्शनकारीले अटेर गरेपछि भिडलाई तितरवितर पार्न २३ राउण्ड अश्रुग्यास प्रहार गरिएको उहाँले बताउनुभयो । प्रदर्शनकारीले प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि बचाउका लागि अश्रुग्यास प्रहार गर्न बाध्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

शनिबार काठमाडौंमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा प्रहरीतर्फ ११ जना र प्रदर्शनकारीतर्फ तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जनभन्दा धेरै घाईते भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com