छोरी जन्मिएपछि घर निकाला गर्ने श्रीमान भन्छन्, ‘घर आउने भए १० लाख ल्याउ”


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

नरेन्द्र बस्नेत–अहिले माइती पक्षबाट १० लाख रुपैयाँ लिएर आएपछि घरमा राख्छौं भन्छन् ।’ राधाले भनिन्, ‘त्यत्रो पैंसा कहाँबाट ल्याउनु मैले ?’
। सुनसरीको दुहवीकी एक महिलाले छोरी जन्माएको निहुँमा एक वर्षदेखि घर प्रवेश पाएकी छैनन् । दुई वर्षकी छोरीको साथमा डेरामा बसिरहेकी उनले न्यायका लागि पहल गरिदिन सबैसँग आग्रह गरेकी छन् ।

२० वर्षकी छँदा २०७२ जेठ महिनामा रामधुनी ३ प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेकी राधा साहले गत वर्ष छोरीसहित घर निकाला भएको बताइन् ।

तिमी बिना बाँच्नै सक्दिन भनेपछि गोपालसँग विहे गरेकी राधाले २०७३ साल भदौमा छोरी जन्माइन् । छोरी जन्मिएलगत्तै श्रीमान गोपाल, ससुरा ललित साह र सासु छिनादेवी साहले छोरा नजन्माउने तँलाई यो घरमा राख्दैनौं भनेर घर निकाला गरेको राधाले बताएकी छन् ।

आफूमाथि भएको अन्यायका बारेमा प्रहरी र नगरपालिकामा उजुरी दिए पनि आफूले सोचेजस्तो कारवाही नभएको गुनासो उनको छ ।
‘अहिले माइती पक्षबाट १० लाख रुपैयाँ लिएर आएपछि घरमा राख्छौं भन्छन् ।’ राधाले भनिन्, ‘त्यत्रो पैंसा कहाँबाट ल्याउनु मैले ?’ उनले आफ्नो र छोरीको न्यायका लागि पहल गरिदिन पत्रकार सम्मेलनमार्फत आग्रह गरिन् ।

‘मलाई घरबाट निकालेपछि श्रीमानले मोरङ्को उर्लाबारीकी सावित्रा मगरलाई घरमा ल्याए’ उनले गहभरी आँशु पार्दै भनिन, ‘मलाई घरबाट निकाले । उसलाई विहे गरे । अहिले फोन गर्दा उल्टै डर धम्की दिन्छन् । गाली बेइजती गर्छन् ।’

घर निकाला भएदेखि दुहवीमा डेरा गरेर बसिरहेकी राधाले नगरपालिकामा बहुविवाहको उजुरी दिए पनि न्यायिक समितिबाट न्याय नपाएको गुनासो गरिन् । ‘नगरपालिकामा पटक पटक धाएँ । तर मेरो कुराको सुनुवाई भएन’ राधाले भनिन्, ‘हामी विचार गर्छौ र बोलाउँछौ भनेका छन्, नगरपालिकाले पनि त्यतिकै फर्कायो ।’

आफू अहिले श्रीमानकै घरमा बस्न पाउनुपर्ने उनको माग छ ।

पीडित राधाका दाजु पिन्टु साहले पनि बहिनीलाई घर निकाला गरेकोमा आपत्ती जनाए । विभिन्न निकायमा न्याय माग्न जाँदा पनि न्याय नपाएकोले जसरी भए पनि बहिनीले न्याय पाउनुपर्ने उनले बताए ।

Mahila Khabar

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com