सरकारले हवाई यात्रुको बीमा रकम बढाउने


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

सरकारले हवाई यात्रुको बीमा बढाउने गरी मोन्ट्रियल सन्धि अनुमोदन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि मन्त्रिपरिषद्को आर्थिक समितिमा पठाएको मोन्ट्रियल सन्धिको प्रस्ताव स्वीकृत भएसँगै बिमा रकम बढ्ने प्रक्रियाले गति पाएको हो ।

सरकारी ढिलासुस्तीका कारण हवाई यात्रुको बीमा रकम ६ दशकसम्म नबढाउँदा हवाई दुर्घटनामा परेका मृतकहरूले अन्तर्राष्ट्रिय रूपमा पाउनुपर्ने बिमा रकमको थोरै अंशमात्र पाउँदै आएका छन् ।

सरकारले मोन्ट्रियल प्रस्ताव अब संघीय संसद्मा पेश गर्नेछ । संसद्बाट पारित भएपछि पीडितका परिवारले पाउने क्षतिपूर्ति रकम हालको २० हजार अमेरिकी डलरबाट वृद्धि भइ करिब एक लाख ६० हजार डलर पुग्नेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पेस गरेको मोन्ट्रियल सन्धि मन्त्रिपरिषद्को आर्थिक पूर्वाधार समितिले स्वीकृत गरेसँगै क्षतिपूर्ति बापत पाउने रकम बढ्ने निश्चित भएको हो । गतसाता मन्त्रिपरिषद्को उक्त समितिले प्रस्तावलाई स्वीकृत गरेको हो ।

संसदबाट अनुमोदन भएको मोन्ट्रियल सन्धि सरकारले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओमा पत्र पठाउनेछ । आईकाओले स्वीकृति दिएसँगै हवाई जहाज दुर्घटनका पीडितले मन्ट्रियल सन्धिअनुसार क्षतिपूर्ति पाउने मन्त्रालयका उपसचिव प्रमोद नेपालले बताए ।
नेपाल अहिले ‘वार्सा सन्धि’ सदस्य राष्ट्र हो । वार्सा सन्धिअनुसार हवाई दुर्घटनामा ज्यान गुमाएका पीडितका परिवारले २० हजार डलर मात्रै पाउने व्यवस्था छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com