विज्ञ समूहको सुझाव : नारायणगढ–मुग्लिन सडकखण्डको भासिएको ठाउँमा छ मिटर भित्तो काट्नुपर्ने


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाट नजिक सडक भासिएको ठाउँको विस्तृत अध्ययन गर्न विज्ञ समूहले सुझाव दिएको छ ।

गत मंगलबारदेखि भासिन शुरु गरेको उक्त ठाउँको बुधबार स्थलगत अध्ययन गरेको भूगर्वविद् अच्यूत कोइरालाको नेतृत्वको विज्ञ समूहले शुक्रवार प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा अहिले तत्काल सडक एकतर्फी सञ्चालन गर्न सुझाव दिइएको छ । वर्षात घटेपछि भित्तो काटेर दुईतर्फी सवारी सञ्चालन गर्न उपयुक्त हुने पनि प्रतिवेदनमा उल्लेख छ । दुईतर्फी सवारी आवागमनका लागि छ मिटर हाराहारीमा भित्तो काट्नुपर्ने हुन्छ । सो ठाउँमा भिरालो जमिन रहेकाले चार मिटर अग्लो ठाउँबाट भित्तो काट्न सकिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो ठाउँमा ३५ मिटर हाराहारी लामो क्षेत्रमा भित्तो काट्नुपर्ने हुन्छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीले आजै मात्रै प्रतिवेदन आयोजनालाई बुझाएको छ । आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले प्रतिवेदन अध्ययन गरेपछि काम अगाडि बढ्ने बताए । विज्ञ समूह नेपालमा पनि रहेकाले सोही समूह प्रयोग गर्ने वा विदेशबाट झिकाउने भन्ने विषयमा पछि छलफल हुने उनले बताए ।

कोइरालाको प्रतिवेदनमा सो ठाउँमा सन् २००४/२००५ मा २० मिटर भित्र पुग्ने गरी रक स्वायल एङ्करिङ गरिएको र सो एङ्करिङमा समस्या आएको हुनसक्ने पनि जनाइएको छ । त्यतिबेला फ्रान्सबाट रड झिकाएर एङ्करिङ गरिएको बिसुरालले बताए।

सडक भासिने क्रम बढ्दै गएपछि गत मंगलबारदेखि नै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाई र छेउबाट आठ मिटर चौडा भाग भासिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com