पाकिस्तानका पूर्वप्रधानमन्त्री शरिफलार्इ छोरीसहित विमानस्थलबाटै पक्राउ


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ।

अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याशनल एकाउन्टिबिलिटी (एनएबी) का अधिकारीहरूले हिरासतमा लिएका हुन्।

बीबीसी संवाददाता ताहिर इमरानका अनुसार शरिफले कार चढेर जान अस्वीकार गरेका थिए। त्यसपछि उनलाई र उनकी छोरीलाई विमानमार्फत रावलपिण्डीस्थित अडियाला जेल पुर्‍याइएको थियो।

सरकारी वकिलहरूले शरिफ र मरियमलाई अदालतमा उपस्थित नगराइकन जेल पठाउन पाउने आदेश लिएका थिए।

बीबीसी संवाददाता फरहत जावेदका अनुसार शरिफलाई अहिले अडियाला जेलमै राखिने छ भने स्वास्थ्य परीक्षण र अरू औपचारिकतापछि मरियमलाई इस्लामाबादस्थित प्रहरी प्रतिष्ठान लगिने छ।

मरियमका लागि भने त्यहीँ बस्ने व्यवस्था गरिने अधिकारीहरूले बताएका छन्। लहोरमा शरीफका समर्थक र सुरक्षाकर्मीबीच झडप भएका विवरण समेत प्राप्त भएका छन्।

अबुधाबीबाट पाकिस्तानका लागि प्रस्थान गर्नुअघि शरिफले राजनीतिक पूर्वग्रह राखी सत्तापक्षले आफूलाई फसाएको आरोप लगाए। सरकारले व्यापक धरपकड गरिरहेको आरोप लगाउँदै उनले आसन्न आमनिर्वाचन विश्वसनीय हुन नसक्ने दावी समेत गरे। पाकिस्तानमा जुलार्इ २५ मा निर्वाचन हुँदैछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com