गंगामायाको अनसन स्थगित,सरकारको दुई बुँदे सहमति


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।

जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।

पत्रमा २०७२ असोजमा जनाएको पाँच बुँदे प्रतिवद्धता कार्यान्वयन गर्ने उल्लेख छ । साथै त्यसको अनुगमन गरी प्रतिवेदन बनाउन सरकार र गंगामायाले तोकेको प्रतिनिधि रहेको अनुगमन समिति बनाउने पनि पत्रमा उल्लेख छ ।

‘गंगामायाले यो १० दिनमा केही प्रगति भएन भने म फेरि अनसन बस्छु भन्नु भएको छ’, इन्सेक अध्यक्ष सुवोधराज प्याकुरेलले अनलाइनखबरसँग भने ।

गंगामायाले छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै आएकी छन् । वीर अस्पतालमा अनसनकै क्रममा गंगामायाका पति नन्दप्रसाद अधिकारीको केही वर्ष अघि निधन भएको थियो भने छोरा नुरप्रसाद वेपत्ता छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com