मुग्लिङ–नारायणगढ सडकखण्डः पुल भाँचियो, आवागमन एकतर्फी


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

एक हप्ता अगाडिदेखि चर्किएको मुग्लिङ–नारायणगढ सडक खण्डमा पर्ने एक नम्बर पुलको रेलिङ बिहीबार बिहान भाँचिदा सवारी साधन एकतर्फी सञ्चालनमा आएको छ ।

मुग्लिङबाट नारायणगढतर्फ दुई सय मिटरको दूरीमा रहेको उक्त पुल जीर्ण अवस्थामा रहेको छ । उक्त सडक आर्च ब्रिज भएकाले पुरै भाँचिन सक्ने तर पुन नभासिने नारायणगढ मुग्लिङ सडक सुधार आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार उक्त रेलिङ खसेको ठाउँमा अर्को रेलिङ लगाएर दुई तर्फी सवारी सञ्चालन गर्नको लागि अझै एक हप्ता समय लाग्नेछ ।
उक्त पुलमा कुनै अप्रिय घटना नहोस् भनेर सवारी साधनलाई एकतर्फी सञ्चालन गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।

मुग्लिङ–नारायणगढ सडक सुधारको काम गरिएको भएपनि उक्त ३३ किलोमिटर सडकमा पर्ने १४ वटा पुलहरु साँघुरो जीर्ण रहेका छन् । त्यस्तै, उक्त सडक खण्डमा ढेड किलोमिटरको दुरीमा रहेका २ नम्बर र ३ नम्बर पुलको समेत रेलिङ भाँचिदा यस अगाडि समेत दुईतर्फी सडक सञ्चालनमा समस्या आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com