जापान सरकारद्धारा नेपाललाई २७ करोड ४१ लाख अनुदान दिने


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

मानव संशाधन विकासका लागि जापान सरकारले नेपाललाई २७ करोड ४१ लाख रुपैया अनुदान उपलब्ध गराउने भएको छ ।

उक्त अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्नुभएको हो ।

सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिने मन्त्रालयले जनाएको छ ।

अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् । कार्यक्रममा सचिव खनालले नेपालको विकास प्रयासमा निरन्तर सहायता प्रदान गरेकामा जापान सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा जापानबाट विकास सहयोग अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै राजदूत साइगोले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले जापान र नेपालबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउनाका साथै नेपालको सामाजिक–आर्थिक विकासमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । विगत तीन वर्षदेखि जापानले नेपाललाई उक्त छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com