कम्युनिष्टलाई कमजोर पार्न विदेशी शक्ति लाग्यो : प्रचण्ड


प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताउनुभएको छ ।

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको छ भन्नुभयो ।

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।”

विश्वका धेरै कम्युनिष्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको अहिलेको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताएको पनि उहाँले बताउनुभयो । यसले आफूहरुलाई जिम्मेवारी र गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्को एक प्रसंगमा उहाँले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताउनुभयो । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पु¥याउने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले खम्बसिंह कुँवरजस्ता योद्धाका कारण पार्टी यो अवस्थामा आइपुगेको भन्दै उहाँहरुको सम्मानमा कहिल्यै नचुक्ने बताउनुभयो ।

सो अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उहाँलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com