डा केसीको जीवनरक्षाका लागि डा भट्टराईलाई ज्ञापन


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

नेपाल चिकित्सक संघले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका विषयमा १५ औँ पटक अनसनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईलाई आज ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ र महासचिव डा लोचन कार्कीले आज संयोजक डा भट्टराई भेटी अनसनरत डा केसीको जीवन रक्षाका लागि सरकारसमक्ष विशेष पहल गरिदिन आग्रह गर्नुभएको हो ।

डा केसी १५ औँ पटकसम्म अनसन बस्नुपर्ने बाध्यात्मक घटनाक्रमले नेपालमा चिकित्सकीय पेशाको मर्यादा नै धरापमा पर्दै गइरहेको भन्दै संघले संयोजक डा भट्टराईलाई यसअघि संघ र डा केसीसमक्ष सरकारले गरेको पटक पटकको सम्झौता तथा माथेमा आयोगको प्रतिवेदनबमोजिम मेडिकल कलेजहरुको गुणस्तर, विश्वसनीयता तथा पारदर्शीता कायम गर्न माग गरेको छ ।

संघको आग्रहलाई अस्वीकार गरिए डा केसीको जीवन रक्षाका लागि मुलुकभरका आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी समेत संघले दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com