ह्पाप्पी बर्थडे अमेरिका !


प्रकाशित मिति : असार २०, २०७५ बुधबार

भोलि फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४२ औं स्वतन्त्रता दिवस । २४२ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुटट्ै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

 

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ । स्वतन्त्रता दिवसको दिनमा भोलि अमेरिकाभर परेड र फायरवर्क गरिदैछ । न्युयोर्कमा बर्षेनी मेसीले गर्ने फायरवर्क विशेष उल्लेखनीय रहेको छ ।

सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

१४ हजारलाई नागरिकता दिइदै

अमेरिकाको २४२ औं जन्मदिन जुलाई ४ लाई भब्यरुपमा मनाउने तयारी भइरहेको छ । स्वतन्त्रताको घोषणा भएको यो दिनलाई युएससीआईएसले विगतका बर्षहरुमा जस्तै नागरिकता प्रदान गर्ने उत्सवहरु गरेर मनाउँदैछ ।

२४२ औं जन्मदिनको अवशरमा जुन २८ देखि जुलाई १० सम्म १७५ वटा कार्यक्रमहरु गरेर झण्डै १४ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिने युएससीआईएएसले जनाएको छ । टेक्सासको सान आन्टोनियोमा कार्यक्रम गरेर त्यसको सुरुवात गरिने भएको छ ।

२४२ बर्ष अगाडि अमेरिकाका पूर्वजहरुले अमेरिका स्वतन्त्र भएको घोषणा गर्दै स्वतन्त्रताको घोषणापत्र जारी गरिएको थियो । त्यसैबेलादेखि अमेरिका एउटा सार्वभौमसत्ता सम्पन्न देशका रुपमा स्थापित भयो । जसले अमेरिकामा हरेक नागरिकलाई जीवन, स्वतन्त्रता र खुशीको खोजीका लागि अधिकार प्रदान गरेको थियो ।

त्यतीबेलादेखि नै विश्वभरबाट मानिसहरु स्वतन्त्रता र अवशरको खोजीमा अमेरिका आउन थाले । अमेरिकाले असंख्य आप्रवासीहरुलाई आफ्ना तटहरुमा स्वागत गर्न थाल्यो र तीनै आप्रवासीहरुले अमेरिकाको निर्माण गर्नुका साथै अमेरिकाको इतिहासलाई आकार दिए ।

सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने कार्यक्रम गर्दै आएको छ ।

अमेरिकी नागरिकता लिने नेपाली ३० हजार

यसरी स्वतन्त्र अमेरिकामा नेपालीहरुले समेत अमेरिकी नागरिकता लिएर सुविधा र अधिकारको उपभोग गर्दै आएका छन् । अहिलेसम्म यसरी अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ३५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएको देखिन्छ भने त्यसपछि झण्डै १० हजार नेपालीहरुले अमेरिकी नागरिकता लिएको युएससीआईएसले जनाएको छ ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए । सन् २०१६ यता १० हजार भन्दा धेरै नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com