दक्षिण कोरियन प्रहरी अधिकृतमा नेपाली महिला


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

सोल, दक्षिण कोरियाली नागरिकसँग बिवाह गरी सन २०१० मा कोरिया गएकी नेपाली महिला सम्झना राई पहिलो पटक कोरियन प्रहरीमा भर्ती भएकी छिन् । भोजपुरकि २८ वर्षीय राई कोरियन प्रहरीमा भर्ती हुने पहिलो नेपाली महिला हुन् ।

नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् । भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी छिन् ।

सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले यही महिना शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।

परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको उनी बताउछिन् ।

आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै समस्यामा पर्ने नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने उनले बताइन् ।

विविध कारणले प्रहरी चौकीमा ल्याइएका नेपालीका लागि भाषा र कानूनी सहयोग गर्न आफु तत्पर रहने पनि उनले जानकारी दिइन् । आगामी महिना अर्थात जुलाईदेखि राईले आठ महिने तालिम थाल्दैछिन् । तालिम सकिएपछि राई ख्याङ्गी प्रान्तको सुवनमा प्रहरी अधिकृतकोरुपमा उनले काम शुरु गर्ने छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com