क्लिन्टन र ट्रम्पबाहेक यी पनि छन् अमेरिकी राष्ट्रपतिका उम्मेदवारहरु


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको अहिले संसारभरि चर्चा छ। संसारभरका सञ्चारमाध्यम राष्ट्रपतिका दुई प्रत्याशी डेमोक्र्याटिक हिलारी क्लिन्टन र रिपब्लिकन डोनाल्ड ट्रम्पमा केन्द्रित समाचार र बहस चलाइरहेका छन्। थुप्रै मत सर्वेक्षणले कुन उम्मेदवार कुन स्थितिमा छन् भन्ने कुरा हप्तैपिच्छे अपडेट गरिरहेका छन्। तर अमेरिकी राष्ट्रपति पदको चुनावी दौडमा क्लिन्टन र ट्रम्पबाहेक अन्य उम्मेदवार पनि छन्, जसको कुनै चर्चा छैन।

रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबाहेकका अन्य पार्टीलाई थर्ड पार्टी भन्ने चलन छ। यस्ता पार्टीका वा स्वतन्त्र उम्मेदवारले चुनाव जित्ने सम्भावना नभएका कारण ठूला मिडियामा उनीहरुको चर्चा हुँदैन।

यस्तै थर्ड पार्टीमध्येको लिबरटारियन पार्टीका ग्यारी जोनसन चुनाबी दौडमा छन्, उपराष्ट्रपतिका उम्मेदवार तथा आफ्ना जोडी विलियम वेल्डसहित। सन् १९९५ देखि २००३ सम्म न्यु मेक्सिकोका गभर्नर रहेका जोनसनले केही मत सर्वेक्षणहरुमा १० भन्दा बढी प्रतिशत मत हासिल गरेका छन्। जोनसन ५० राज्यको ५३८ इलेक्टोरल मत पत्रमै नाम समावेश हुने उम्मेदवार हुन्।

त्यसैगरी ग्रिन पार्टीकी जिल स्टेन पनि राष्ट्रपति पदकी उम्मेदवार हुन्। ४८० इलेक्टोरल मतपत्रमा नाम रहने ग्रिन पार्टीको लेख्यमत (राइट इन) सहित ५२० मतमा पहुँच रहेको छ। उनका रनिङ मेट अर्थात् उपराष्ट्रपति अजामु बारका रहेका छन्। अगस्टमा लिइएको एक मत सर्वेक्षणमा उनले अधिकतम ६ प्रतिशतसम्म मत हासिल गरेकी थिइन्।

get
ग्रिन पार्टीकी जिल स्टेन

राष्ट्रपति पदको दौडमा रहेका अर्का उम्मेदवार हुन् कन्स्टिच्युसन पार्टीका डारेल क्यासल। २०७ इलेक्टोरल भोट रहेको यो पार्टीको राइट इन मतसहित ४०४ मत रहेको छ। स्कट एन ब्राडलेलाई उपराष्ट्रपतिको रुपमा उठाएका क्यासल देशव्यापी मत सर्वेक्षणहरुमा संलग्न छैनन्।

4
कन्सटिच्युसन पार्टीका डारेल क्यासल

त्यसैगरी रिफर्म पार्टीका रकी डे ला फ्युन्टे माइकल स्टेनवर्गको साथमा यो निर्वाचनमा उभिँदै छन्। ‘राइट इन’ अर्थात् लेख्यमत समेत गरेर ३१४ इलेक्टोरल मतमा पहुँच रहेको यो पार्टीको पनि राष्ट्रिय स्तरको सर्वेक्षणमा संलग्न छैनन्।

5
रिफर्म पार्टीका डे ला फ्युन्टे

स्वतन्त्र उम्मेदवार इभान म्याकमुलिनको पनि २७० भन्दा बढी इलेक्टोरल मतमा पहुँच रहेको छ।

evan
स्वतन्त्र उम्मेदवार इभान म्याकमुलिन

२७० भन्दा कम इलेक्टोरल मतमा पहुँच भएका अन्य दशौँ पार्टी र स्वतन्त्र उम्मेदवार यस चुनावी दौडमा छन्। सोसलिस्ट पार्टी, वर्कर्स वर्ल्ड पार्टी, अमेरिकाज् पार्टी लगायत थुप्रै पार्टी निर्वाचनमा सहभागी छन्।

अमेरिकामा आम जनताले राष्ट्रपतिका लागि प्रत्यक्ष मत दिने विधि छैन। बरु उनीहरुले इलेक्टर्स छनोट गर्दछन्। राज्यपिच्छे इलेक्टर्सको संख्या त्यहाँको प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) र सिनेट (उपल्लो सदन)का सदस्यसंख्या बराबरको रहने गर्दछ। प्रतिनिधिसभाको सदस्य जनसंख्याको आधारमा तयार गरिन्छ भने सिनेट सदस्य संख्या प्रत्येक राज्य बराबर २ जना रहेको छ। त्यसैगरी फेडेरल डिस्ट्रिकका रुपमा रहेको वाशिङ्टनलाई सबैभन्दा कम जनसंख्या भएको वायोमिङ राज्यबराबर अर्थात् ३ जना इलेक्टर्स दिइएको छ।

यसरी अमेरिकामा ४३५ तल्लो सदनका सदस्य, १०० सिनेट सदस्य, वाशिङ्टनको ३ इलेक्टर्ससहित जम्मा ५३८ इलेक्टोरल मत रहने व्यवस्था गरिएको छ। राज्यपिच्छे आआफ्नो तरिकाले ८ नोभेम्बरमा छानिएका इलेक्टर्सहरुले डिसेम्बरको दोस्रो बुधबारपछिको सोमबार राज्यका राजधानीहरुमा भेला भएर इलेक्टोरल मतदान गर्दछन्। राष्ट्रपतिको रुपमा निर्वाचित हुनका लागि उम्मेदवारले इलेक्टोरल मतको बहुमत संख्या अर्थात् २७० मत प्राप्त गर्नुपर्ने हुन्छ।

स्रोत : नेपाल खवर

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com