अभियुक्त नछोड्दा एसपी कारबाहीमा


प्रकाशित मिति : कार्तिक ३, २०७३ बुधबार

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गैरकानुनी आदेश अस्वीकार गर्दा तीन प्रहरी उपरीक्षक (एस्पी) कारबाहीमा परेका छन् । गैरकानुनी काम गर्ने अभियुक्तलाई छाड्न नमानेका कारण निधिको ठाडो आदेशमा तीन जिल्लाका नेतृत्व गरिरहेका एसपीलाई कारबाहीस्वरूप सरुवा गरिएको हो ।

आफूअनुकूल काम प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल नभएको मौकामा सोमबार प्रहरी प्रधान कार्यालयमा हाजिर गराइएको छ । प्रहरी महानिरीक्षक अर्याल अमेरिकामा रहेको बेला मन्त्रीको आदेश अस्वीकार गर्न नसकी कार्यवाहक प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्माले नै उनीहरूलाई सरुवा गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको नियामित सरुवा बाँकी हुँदै मन्त्री निधिले गम्भीर अपराधमा संलग्न रहेका आफ्ना कार्यकर्ता छोड्न अटेर गरेको र अवैध हुन्डी कारोबारीलाई पनि छाड्न नमानेका कारण तीन एसपीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानेका हुन् । मधेस आन्दोलनका क्रममा पर्सा पुगेका राजुबाबु श्रेष्ठ, धनुषा पठाइएका रामदत्त जोशी र सिरहा पठाइएका श्याम ज्ञवालीलाई मन्त्री निधिको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयले नियमित सरुवाभन्दा पहिला नै प्रधान कार्यालय झिकाएको छ ।

एसपी श्रेष्ठले १६ असोजको राति वीरगन्ज उपमहानगरपालिका–७ रेशमकोठीस्थित सन्तोष जैनको घरबाट ठूलो परिमाणको अवैध रकमसहित हुन्डी कारोबारमा संलग्न रहेका व्यापारी जैन, उनका छोरा अंकुर जैन, श्रीमती उषा जैनसहित पाँचजनालाई पक्राउ गरेका थिए ।

अभियुक्त प्रहरी हिरासतमै रहेको अवस्थामा गृहमन्त्री निधिले उनीहरूलाई छोड्न आदेश दिएका थिए । एसपी श्रेष्ठले गम्भीर अपराधमा संलग्न रहेकाले छाड्न नसकिने अडान लिएपछि मन्त्री निधिले उनीमाथि कारबाही गरेका हुन् ।

वीरगन्जका व्यवसायी तथा पूर्वसभासद् ओमप्रकाश शर्माको पहलमा गृहमन्त्री निधिले हुन्डी कारोबारीमाथि मुद्दा नचलाउन आदेश दिएका थिए । तर, एसपी श्रेष्ठले जागिर गए पनि अपराधीलाई नछाड्ने र मुद्दा चलाउने बताएपछि तत्कालै सरुवा गर्न गृहमन्त्री निधिले प्रहरी महानिरीक्षकलाई आदेश दिएका हुन् ।

स्रोतका अनुसार आफूअनुकूल काम नगरेको र अवैध कारोबारीलाई साथ नदिएको आक्रोशमा व्यवसायीको दबाबमा पर्सा एसपी श्रेष्ठ र माओवादी केन्द्रका नेता–कार्यकर्ताको अवैध काममा साथ नदिएको आरोपमा ज्ञवालीलाई कारबाहीस्वरूप प्रधान कार्यालय तानिएको राजधानीमा खबर छ ।

यसैगरी, कांग्रेस कार्यकर्ता पक्राउ गर्दा गृहमन्त्री निधिका गृह जिल्ला धनुषाका प्रहरी प्रमुखको पनि सरुवा भएको थियो । प्रहरी प्रधान कार्यालयले गृहमन्त्री निधिको दबाबमा धनुषाका एसपी रामदत्त जोशीलाई सरुवा गरेर अर्का एसपी लालमणि आचार्यलाई पठाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com