रकम अभावमा आशाको उपचारमा समस्या


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

व्यास नगरपालिका वडा नं ४ बोरथुम्का निवासी राजेन्द्र अधिकारी र भगवती अधिकारीकी १६ बर्षिय छोरी आशा अधिकारीलाई यो धर्तिमा बाँचेर परिवार ,समाज र देशका निम्ति केही गर्ने इच्छा छ । तर सेतो रगतको कमीका कारण हुने रोगबाट ग्रसित आशाको जीवन तेल सकिएको दियो जस्तै कतिबेला निभ्ने हो यसै भन्ने सकिने अवस्था छैन ।

तैपनि आशालाई नयाँ जीवन दिलाउनका लागि उनका परिवारका सदस्यहरुले हिम्मत भने हारेका छैनन । आर्थिक अवस्था अत्यन्त दयनीय भएका अधिकारी परिवार छोरीको उपचारका लागि यतिखेर सहयोग हात फैलाउँदै सरकारी निकाय ,विभिन्न संघ संस्था र व्यक्तिहरुको दैलो– दैलोमा पुग्न थालेका छन् । आशाका काका रेशम अधिकारी भतिजीलाई दुई बर्ष अगाडि देखि रोगले च्याप्न थालेको बताउँछन् । यस अगाडि नेपालका विभिन्न अस्पतालमा आशाको उपचार गर्दा झण्डै ९ लाख रुपैयाँ खर्च भईसकेको काका रेशमको भनाई रहेको छ । आशालाई थप उपचारका लागि भारत लैजान डाक्टरहरुले सुझाव दिएका छन् । आशाको थप उपचारका लागि करिब १२ लाख रुपैयाँ लाग्ने काका रेशम बताउँछन् ।अलिकति भएको सम्पत्ति पनि नेपालमै उपचार गर्दा सकियो अब भारत लगेर कसरी उपचार गराउने हो काका रेशमले भने । परिवारका सदस्यले दिएको जानकारी अनुसार आशा हात खुट लुला भएका कारण हिड्डुल गर्न नसक्ने अवस्था छिन् ।त्यस्तै छाती समेत दुख्ने गर्दछ ।

बाबुआमा ,दुई दिदी र एक भाई गरी ५ जनाको परिवार रहेको आशाका बाबु यतिबेला रोजगारीका लागि मलेसियामा छन् ।तर मलेसियाको कमाईले समेत छोरीको उपचार गर्न बाबु राजेन्द्र असमक्ष छन् । शारीरिक रुपमा अशक्त भएपनि आशा पढाईमा भने अब्बल छन् ।एस.एल.सी. परीक्षा दिने बेलामा रोगबाट ग्रसित आशा यतिबेला घरमै बसेर सदरमुकाम दमौली स्थित वाराही कलेजमा १२ कक्षा सम्मको अध्ययन गरिाखेकी छन् ।

भर्खर १६ बर्षको कलकलाउँदो उमेरमा गम्भीर रोगबाट ग्रसित छोरीको उपचारमा सहयोग गरिदिन आशाका परिवारले सबैसंग आग्रह गरेका छन् । आफ्नो छोरीको उपचारमा सहयोग गर्ने व्यक्ति आफूहरुका लागि स्वयं साक्षत भगवान हुने उनका परिवारका सदस्यहरुको भनाई रहेको छ । आशाको उपचारका लागि सहयोग गर्न चाहने संघ संस्था र व्यक्तिले दमौली स्थित कैलाश विकास बैंकमा आशाको नाममा रहेको खाता नं ०२७००९००१०७४५४०००००१ नम्बरमा रकम जम्मा गर्न सकिने परिवारका सदस्यहरु बताउँछन् ।

स्रोत : सेतिमादी

सहयोग गर्न चाहनेले श्रीराम कार्कीलाई ९८५६०६०४९८ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com