४८ महिनाको चक्रपथ आयोजना ३६ महिनामा १२ प्रतिशत काम


प्रकाशित मिति : कार्तिक २, २०७३ मंगलबार

अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ ।

काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार कोटेश्वर–कलंकी सडकखण्डमा पुल निर्माण र सडकको दायाँ–बायाँ खाल्डो खन्ने काम गरि १२ प्रतिशतसम्म काम सकिएको छ । २२ पुस ०६९ मा सम्झौता भएर २१ भदौ ०७० देखि सडक निर्माण सुरु भएको थियो । चार वर्षमा निर्माण सकेर सडक विभागलाई हस्तान्तरण गर्ने सम्झौता छ । तर, ठेकेदार कम्पनीले काम सुरु गरेको ३६ महिना बित्दा जम्मा १२ प्रतिशत मात्रै काम भएको छ ।

‘कोटेश्वर–कलंकी सडक निर्माण सन् २०१३ देखि सुरु भएको हो । सन् २०१७ सम्ममा काम सक्नुपर्ने हो,’ आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले भने, ‘यस अवधिमा पुल निर्माण गरिएका छन् । सडकको दायाँ–बायाँ खाल्डा खनिएका छन् । केही ठाउँमा पेटी निर्माण भएका छन् । सबै गरी १० देखि १२ प्रतिशत काम सकियो होला ।’

सडक निर्माणले निरन्तर गति लिएको आयोजनाले जनाएको छ । ‘सडक निर्माण निरन्तर अघि बढेको छ । कुनै ढिलाइ भएको छैन,’ आयोजना प्रमुख झाले भने, ‘पहिले भूकम्प र नाकाबन्दीले समस्या थियो । इन्धनको अभाव थियो । अहिले ठेकेदार कम्पनीले काम गरिरहेको छ । ठेकदार कम्पनीसँग कुनै गुनासो छैन ।’

सेवाग्राही र आसपासका बासिन्दालाई सास्ती

कोटेश्वर–कलंकी सडक समयमा निर्माण नहुँदा सडक उपभोक्ताले सास्ती भोग्नुपरेको नयाँ पत्रिकामा खबर छ । सडकमा घन्टौँ सवारी जाम हुने गर्छ । निर्माणाधीन सडकबाट धुलो उड्दा आसपासका बासिन्दा पनि समस्यामा परेका छन् । धुलोले पैदलयात्री चर्को मारमा परेका छन् । सडकको दायाँ–बायाँ खनिएका खाल्डा तथा झाडीले सो खण्ड अस्तव्यस्त बनेको छ ।

सडक निर्माणमा प्राविधिकसहित १५० चिनियाँ कामदार

कोटेश्वर–कलंकीको १०.३९६ किमि सडकखण्ड निर्माण गर्न चीन सरकारले चार अर्ब रुपैयाँ आर्थिक सहयोग गरेको छ । निर्माणको ठेक्का पनि चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्सट्रक्सन ग्रुपले पाएको छ । सडक निर्माणमा अहिले इन्जिनियर, सबइन्जिनियरसहित एक सय ५० चिनियाँ कामदार खटिएका छन् । सडक विभागका अनुसार चिनियाँ कम्पनी हेनेन प्रोभिन्सिय कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनी लिमिटेडले पूरा चक्रपथ निर्माणको सर्भेपछि नक्सा बनाएको हो । कम्पनीका तर्फबाट सर्भे टोलीको नेतृत्व चिनियाँ नागरिक डु जुनहाङले गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com