कांग्रेस महामन्त्री शशांक हिन्दुराष्ट्रको अभियानमा


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

३० असोज ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमतसंग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमतसंग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ छ ।

‘मलाई लाग्छ, यो इस्यु(हिन्दूराष्ट्र) अहिले उठेको छैन । तपाईंहरूले हिन्दूधर्मको विषयमा सोधिहाल्नुभयो । न कुनै धर्मसापेक्ष हुन्छ न कुनै धर्मनिरपेक्ष नै हुन्छ । न कुनै धर्म शून्य हुन्छ । धर्म त स्वतन्त्र हुन्छ । कम्युनिस्टले धर्मको शून्यताको कुरा गर्छन् । तर, कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको हो,’ नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘यो मेरो व्यक्तिगत धारणा हो । तर, धर्मनिरपेक्षताको विषयमा उठेको विवाद टुंग्याउने उपयुक्त विधि जनमतसंग्रह नै हो ।’

तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई धर्मनिरपेक्षतामा जानुपर्ने बाध्यात्मक अवस्था आइपरेको पनि शशांकले बताए । आफू जनमतसंग्रहकै पक्षमा भए पनि यसलाई पार्टीले कसरी लिन्छ र धारणा बनाउँछ भन्ने पार्टीकै विषय भएको उनले बताए । आफू हिन्दु बाहुल्य क्षेत्रबाट चुनाव लडेको भन्दै उनले हिन्दु राज्यप्रति सबै ‘लोयल’ भएकाले आफू पनि लोयल भएको बताएका थिए । तर, संविधान कार्यान्वयन गर्न नसके मुलुक थप समस्यामा फस्ने उनको भनाइ थियो ।

हिन्दु लाइनका नेता हाबी

कांंग्रेसले औपचारिक नीति नबनाए पनि हिन्दु राष्ट्रका विषयमा अभिव्यक्ति दिने नेता डा. शशांक १३औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । अर्का नेता शेखर कोइराला २५ खुल्ला केन्द्रीय सदस्यमा सबैभन्दा बढी मत ल्याएर विजयी भएका थिए । हिन्दु राज्यकै अभियान चलाएका नेता खुमबहादुर खड्का पनि २५ खुला केन्द्रीय सदस्यमा दोस्रो धेरै मत ल्याएर निर्वाचित भएका थिए ।
को के भन्छन् ?

पदाधिकारीले अभिव्यक्ति दिन मिल्दैन

मीन विश्वकर्मा, केन्द्रीय सदस्य कांग्रेस

हिन्दु राज्य नेपाल हुनुपर्छ भन्ने पार्टी महामन्त्रीको व्यक्तिगत इच्छा हुन सक्छ । तर, पार्टीको वरीयतामा दोस्रो उहाँजस्तो जिम्मेवार नेताले यसरी विवादास्पद अभिव्यक्ति दिन मिल्दैन । पदाधिकारी भनेको निर्णायक व्यक्ति हो । त्यसैले राजनीतिक रूपमा यी मुद्दा संस्थागत हुने बाटोमा अघि बढ्दै गर्दा पदाधिकारीले विवादास्पद अभिव्यक्ति नदिँदा पार्टी, मुलुक र सिंगो देशलाई फाइदा पुग्छ । बोल्न नहुने विषयमा उहाँले यसरी बोल्दै आउनुभएको छ । उहाँ र खुमबहादुर खड्काजीले दिएका अभिव्यक्तिका विषयमा आगामी ४ कात्तिकदेखिको केन्द्रीय समिति बैठकमा कुरा उठ्छ ।

आनन्दप्रसाद ढुंगाना, केन्द्रीय सदस्य, कांग्रेस

उहाँ आफैँले व्यक्तिगत धारणा हो भनेपछि त्यो पार्टीको धारणा होइन । धर्मका विषयमा व्यक्तिका आ–आफ्ना कुरा हुन्छन् । तर, राष्ट्रले धर्मनिरपेक्षता भनिसकेको छ । संविधानले स्वीकार गरिसकेको छ । अनि हाम्रो पार्टीले पनि नीतिगत रूपमा धर्मनिरपेक्षता स्वीकार गरिसकेको छ । त्यसैले पार्टीले महाधिवेशन वा महासमिति बैठकबाट निर्णय नगरेसम्म जुनसुकै नेताले अभिव्यक्ति दिए पनि त्यो पार्टीको धारणा हु“दैन–बन्दैन । महामन्त्रीको अभिव्यक्तिबारे केन्द्रीय समितिको बैठकमा कुरा उठ्छ ।

पश्चगमन चाहने शक्तिहरूको चाल

चक्रपाणि खनाल, बलदेव, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार

धर्मनिरपेक्षताका विषयमा अहिले बहस नै छैन । संविधानले नै यो विषयको छिनोफानो लगाइसकेको छ । फेरि बहस उठाउन खोज्नु संविधान कार्यान्वयन प्रक्रिया पछाडि धकेल्न खोज्नु र मुलुकलाई पुनः पश्चगमनतिर फर्काउन खोज्ने शक्तिहरूको चाल हुन सक्छ । नेपालमा अब त्यस्तो किमार्थ पनि हुँदैन । जे संविधानमा लेखियो, त्यही हो धर्मका विषयको अन्तिम निर्णय।

अहिले मधेसलाई पनि सहमतिमा लिएर जान सीमांकनलगायतका विषयमा संविधान संशोधनको बहस छ । दलहरूबीच हुन थालेको छलफललाई समेत विषयान्तर गराउन र सहमति जुट्न नदिन चालिएको सुनियोजित चालबाजीका रूपमा त्यो विषय उठाइएको होला । यसको अर्थ छैन ।

उल्ट्याउने बहसको औचित्य छैन

योगेश भट्टराई, सचिव, एमाले

संविधान बनाउँदैमा नेपाल राष्ट्रको परिभाषा भइसकेको छ । संविधानसभाले संविधान बनाउँदा नेपाल बहुभाषिक, बुहधार्मिक, बहुसांस्कृतिक मुलुक हो भन्ने फैसला गरिसकेकाले फेरि उल्ट्याउने कुरा गरेर कसैले पनि मुलुकलाई अन्योलतिर धकेल्ने काम गर्नुहुन्न । धार्मिक स्वतन्त्रता भएको बहुधार्मिक मुलुक हो भनिसकेपछि सबै धर्मका मानिसलाई आ–आफ्ना धर्म र संस्कृतिअनुसार गतिविधि गर्न छुट छ, कसैमाथि धार्मिक प्रतिबन्ध छैन । धर्म व्यक्तिको आस्थाको कुरा भएकाले राज्यको अलग्गै धर्म हुन्न भन्ने आधारमा संविधान बनेको छ । संविधान बनाउने वेला कांग्रेस स्वयंले यो कुरालाई स्वीकार गरिसकेपछि यतिवेला कांग्रेसभित्रबाट यस्तो बहस झिक्नुको कुनै औचित्य छैन । समाधान भइसकेका मुद्दालाई फेरि झिकिरहनु आवश्यक हुन्न ।

यसअघि पनि धर्मनिरपेक्षता र संघीयताको विरोधमै थिए शशांक

कांग्रेसको १३औँ महाधिवेशनको तीन दिनअघि २० फागुनमा पनि नेता शशांक कोइरालाले बिबिसी नेपाली सेवालाई अन्तर्वार्ता दिँदै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषयमा पुनरावलोकन गर्नुपर्ने बताएका थिए ।

उनले अन्तर्वार्तामा भनेका थिए, ‘हामीले अहिलेको अवस्थामा फेरि एकचोटि पुनरावलोकन त गर्नैप-यो । दोस्रो, मैले के भनेँ त्यसैको निहुँमा फेरि यहाँ अस्थिरताचाहिँ आउनुभएन । धर्मबारे, संघीयताबारे पनि त प्रश्नहरू छन् । तर, हामीले, ६०१ ले, विभिन्न दलले यो स्वीकार गरेर अगाडि बढ्ने हो भने दलहरूमा पनि त त्यो परिवर्तन आउन सक्नुप-यो । यो बाटो जाने वा पछाडि जाने ?

पछाडि जाँदा पनि के बिग्रियो र ? अहिले अगाडि जाँदाखेरि हासिल भइसकेको छैन ।’ त्यसलगत्तै उनी महाधिवशेनबाट महामन्त्रीमा निर्वाचित भए । त्यसपछि पनि उनले धर्मनिरपेक्षता र संघीयताविरुद्ध अभिव्यक्ति दिन छाडेनन् । गत ११ वैशाखमा अमेरिकामा नेपाली जनसम्पर्क समितिले गरेको कार्यक्रममा उनले ‘बुझ्दै नबुझी जबर्जस्ती नेपालमा संघीयता थोपरिएको’ बताएका थिए ।

अमेरिकामै हुँदा कोइरालाले एक अनलाइनसँगको संवादमा पनि हिन्दूराष्ट्रका पक्षमा बोलेका थिए । ‘…म आफैँ कोइराला हो । ब्राह्मण हो । त्यसैले म पनि भन्छु, हिन्दु राष्ट्र हुनुपर्छ भनेर,’ उनको भनाइ थियो ।

खुमबहादुरको दुई वर्षदेखिको अभियान

नेपाल हिन्दूराज्य हुनुपर्ने भन्दै कांग्रेस नेता खुमबहादुर खड्का दुई वर्षदेखि अभियानमा छन् । नवलपरासीमा भएको महासमिति बैठकदेखि १३औँ महाधिवेशनसम्म पनि खड्का समूहले नेपाल हिन्दूराष्ट्र हुनुपर्ने विषय उठाउँदै आएको छ ।

खड्काले असोज ०७१ देखि ‘कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान’ थालेका थिए । उनलाई कांग्रेसकै नेताहरू तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, शंकर भण्डारी, पुष्पा भुसालसहितका नेताले साथ दिँदै आएका छन् । अभियानको सहसंयोजकमा लक्ष्मण घिमिरे र सदस्यसचिव एवं प्रवक्तामा कुमार रेग्मी थिए । खुमबहादुरको अभियानलाई कांग्रेस सांसद एवं नेताहरू राजु थापा, विक्रम पाण्डे, मोहन बस्नेत, सुशीला चौधरी, पार्वती डिसी चौधरी, बुद्धिराम भण्डारी, राजु खनाल, शिला खड्का, बलदेव बोहरा, अर्जुनप्रसाद जोशीसहितले साथ दिँदै आएका छन् ।

खड्का समूहले झापामा पहिलो आमसभा गरेपछि चितवन, पोखरा, गोरखा, बुटवल, दाङलगायतका ठाउँमा हिन्दूराष्ट्र अभियान चलाएको थियो । अभियानका सदस्यसचिव कुमार रेग्मीले मंसिरदेखि फेरि देश दौडाहा थालिने बताए । ‘अब हाम्रो अभियानमा सहमत हुने पक्षसँग मंसिरमा बृहत अन्तक्र्रिया गरेर फेरि जिल्ला–जिल्लामा कार्यक्रम गर्छौं,’ रेग्मीले भने, ‘पार्टीभित्रै पनि हिन्दू राज्य नेपाललाई गम्भीरतापूर्वक लिनुपर्छ भनेर दबाब दिँदै आएका छौँ । कांग्रेस महामन्त्रीले पनि बोलिसक्नुभएको छ । सनातनदेखि चलिआएको विषयमा जनताले जे भन्छन् त्यही मान्नुपर्छ ।’

हिन्दूधर्मबारे डा. शेखर कोइराला पनि बोलेका थिए

गत १३ वैशाखमा पर्वत पुगेर नेता शेखर कोइरालाले प्रमुख दलका नेताहरूले धर्मनिरपेक्षता हटाउन करोडौँ खाएको, तर नहटाएका कारण भारत रिसाएको दाबी गरेका थिए । ‘भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका शीर्ष नेताले कमिटमेन्ट गरेर पनि धर्मनिरपेक्षता हटाउने विषय पालना नगरेको मसँगको भेटमा बताएकी थिइन्,’ उनले भनेका थिए, ‘आखिर सहमति माथिल्लै तहमा भएको रहेछ । हाम्रा नेताहरूले धोका दिएपछि भारत रिसायो । ८५ प्रतिशत जनताले हिन्दूराष्ट्रको पक्षमा आवाज उठाए, दलका नेताले करोडौँ डलर लिए पनि धार्मिक स्वतन्त्रतामा समेत जान सकेनन् ।’

गत भदौको तेस्रो साता कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधानसभा सचिवालयमा ‘संविधानको प्रस्तावनामा धर्मनिरपेक्षता शब्द हटाएर धार्मिक स्वतन्त्रता राख्नुपर्ने’ संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

नयाँ पत्रिका

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com