न्याय पाउन थाले लैंगिक हिंसा पीडितले


प्रकाशित मिति : फाल्गुन २५, २०७४ शुक्रबार

–सर्मिला बुढाथोकी–

दोलखा । तामाकोसी गाउँपालिका १, भीरकोटकी दुर्गा कार्की शिक्षक तथा सामाजिक अभियन्ता हुन् । समाजमा हुने महिला हिंसा, उत्पीडन, असमानता लगायतका विषयमा सशक्त आवाज उठाउँदै आएकी कार्की आफै हिंसामा परिन् ।

उनलाई गाउँकै एक नातेदारले अपशब्द बोल्दै गाल गलौज गर्ने र कुटपिटको समेत प्रयास गर्दै आएका थिए । ति व्यक्ति नातेदार भएकोले उनी सिधै प्रहरीकोमा पुग्न आँट गरिरहेकी थिइनन् ।  त्यही समय न्याय तथा अधिकार संस्था (जुरी) नेपालले सञ्चारिका समूहको सहकार्यमा सञ्चालित महिला तथा बालबालिकाको न्यायमा पहुँच बढाउन समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्‍याे । महिला बालबालिकाको न्यायमा पहुँच पुर्‍याउन सञ्चालित सचेतनादेखि कार्यान्वयनसम्म कार्यक्रममा दुर्गा जुरीका जिल्ला संयोजक शर्मिला चौहानको सम्पर्कमा पुगिन् र न्यायको लागि प्रहरीमा उजुरी दिन सक्षम बनिन् ।  उनको उजुरी प्रहरीले तत्काल सुन्यो । ति आफन्तले प्रहरी सामू अपशब्द तथा गाली गलौज नगर्ने लिखित सहमती गरे ।  भीरकोटकै हिरामाया पनि पटक–पटक बुहारीबाट प्रताडित बन्दै आएकी थिईन् । तर अशिक्षा र पहुँचको अभावमा घरमै पीडित बन्दै आएकी माझीलाई न्यायमा पहुँच सञ्जाल स्थापना पछि सञ्जाल सदस्य गीता केसीको सहयोगमा प्रहरी कार्यालयसम्म पुर्‍याएइयो ।

घटनाको बारेमा न्यायमा पहुँच सञ्चालले जानकारी पाएपछि प्रहरीमा उजुरी गर्न सघाएको र पीडकलाई केहि दिन थुनामा राखि आपसी सहमतिमा मिलापत्र गराईएको सञ्जालका सदस्य गीताले बताईन् । दोलखा जिल्लामा जुरी नेपालले विभिन्न गाउँपालिकामा कानूनी सहायता कार्यक्रम सञ्चालन गर्‍याे । आम सञ्चारको माध्यमबाट सञ्चारिका समूहले घटनाको उजागर गर्ने तथा चेतनामूलक समाचार संप्रेषण गरेपछि कतिपय ठाउँमा दबिएर रहेका महिला हिंसाका घटना सार्वजनिक भएका स्थानीय कानून व्यवसायीहरुले महसुस गरेका छन् ।  दोलखाका कानून व्यवसायी कृष्ण बस्नेत भन्छन्, ‘कानूनी सहायता र सञ्चार माध्यममा समाचार आएपछि पीडकले सजाय पाएका छन् । स्थानीय न्यायिक निकाय संवेदनशिल बन्न थालेको महसुस गरिएको छ ।’

न्यायमा पहुँच सञ्जालको सदस्य समेत रहेकी हिंसा पीडित दुर्गा कार्कीले जुरीको सहयोगले आफूले न्यायको लागि गर्नुपर्ने कानुनी प्रकृयाहरुको बारेमा जानकारी पाएको बताइन् । उनले जिल्लामा प्रहरीले समेत महिला हिंसाको घटनामा तदारुकताका साथ काम गरेको अनुभव गरेकी छिन् ।  सञ्चारिका समूह, जुरी, इह्रिकनले तीन वर्षदेखि गाउँगाउँमा प्रहरी तथा अन्य सरोकारवाला निकायको सहयोगमा महिला हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहेका छन् । त्यसयता प्रहरीले समेत यस्ता घटनाको बारेमा विशेष रुपमा चासो राख्दै पीडकलाई कारबाही गर्न तदारुकता देखाउने गरेको गीताको भनाइ छ ।

हिंसापीडित हिरामाया माझी गाउँमा महिला हिंसा विरुद्धको अभियान सञ्चालन हुनु अघि आफूलाई हिंसा विरुद्ध आवाज उठाउने आँट नभएकोले पीडित भएर बस्नु परेको स्मरण गर्छिन् । तर अभियानले आफूलाई हिंसा विरुद्ध लड्ने आँट जुटाएपछि जुरीको सहयोगमा प्रहरीमा उजुरी दिन सक्षम भएको बताइन् ।

पछिल्लो समयमा जिल्लामा हिंसा पीडित महिलालाई प्रहरीले समेत राम्रो सहयोग गर्ने गरेको हिरामायाको अनुभव छ । ‘पहिले पहिले प्रहरीको व्यवहार पनि रुखो हुन्थ्यो ।’ हिरामायाले भनिन्, ‘तर अहिले प्रहरीको समेत सहभागितामा न्यायमा पहुँच कार्यक्रम सञ्चालन गर्ने र रेडियोमा समेत महिला हिंसाबारे समाचारहरु आईरहने भएकोले प्रहरी आफैले पनि हिंसा विरुद्ध अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा अन्तर्गत लैंगिक हिंसा नियन्त्रण जिल्ला समन्वय समितिमा आर्थिक वर्ष ०७४÷०७५ को माघसम्म ४२ महिला हिंसाका घट्ना दर्ता भए ।

त्यसमा २० मानसिक यातनाका, ११ शारीरिक यातनाका र ११ आर्थिक लेनदेन सम्बन्धी रहेको प्रहरी हवल्दार कल्पना पराजुलीले बताईन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा महिला हिंसा तथा घरेलु हिंसाका घट्नामा बृद्धि हुनसक्ने प्रहरी तथ्याङ्कले देखाएको छ । प्रहरी हवल्दार पराजुलीका अनुसार विगतमा चेतनाको अभावमा कतिपय महिलाहरुले हिंसा सहेर बस्ने गरेकोले प्रहरीसम्म उजुरी कम आउँथ्यो । तर, अहिले सञ्चारिका समूह, जुरी र इह्रिकन लगायतका संस्थाले गाउँगाउँमा पुगेर प्रहरीको समेत संलग्नतामा चेतनामूलक अभियान सुरु गर्न थालेपछि पीडित महिलाहरु प्रहरी कार्यालयमा उजुरीको लागि आउन थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दोलखा अन्तर्गत लैंगिक हिंसा नियन्त्रण जिल्ला समन्वय समितिको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७१-०७२ मा ८५ महिला हिंसा तथा घरेलु हिंसाका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०७२-०७३ मा त्यो संख्या बढेर १ सय १ पुगेको थियो । त्यसैगरी आर्थिक वर्ष ०७३-०७४ मा महिला हिंसा तथा घरेलु हिंसाका मुद्दा ४७ वटा दर्ता भएकोमा यो आर्थिक वर्षको आधि समयमै उजुरीको संख्या ४२ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की सञ्चारिका समूहको रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम, अनलाईन पत्रिका तथा जुरी, इह्रिकन जस्ता संस्थाको जनचेतनामूलक अभियानले प्रहरीलाई पनि संवेदनशिल हुने प्रेरणा मिलेको बताउँछन् । अहिले जिल्लामा हुने हरेक महिला हिंसाका घटना सजिलै प्रहरीसम्म आउने गरेको र त्यसलाई प्रहरीले शून्य सहनशिलताको आधारमा अगाडि बढाएर पीडकलाई हदैसम्म कानुनी कारबाही समेत गरिएको बताउँछन् । जुरी नेपालका दोलखा संयोजक शर्मिला चौहान जुरीले विभिन्न गाउँमा महिला हिंसा विरुद्धको अभियान सुरु गरेपछि लुकेर बसेका घटना सार्वजनिक भएका र पीडितलाई न्याय दिन तथा पीडकलाई सजाय गर्न सहज भएको बताउँछिन् । जिल्लामा गरिएका अभियानमा प्रहरीको सहभागिता र सक्रियता सकारात्मक रहेको उल्लेख गर्दै जिल्ला संयोजक चौहानले भनिन्, ‘महिला हिंसाका घट्नामा सरोकारवाला निकाय

जिल्ला प्रहरी, जिल्ला अदालत, महिला तथा बालबालिका कार्यालय लगायतले पीडितलाई राम्रो व्यवहार गर्ने र कानुनी प्रकृयाको लागि सहयोग गरिरहेको छ ।’ जुरी अन्तर्गत लिगल क्लिनिकका न्यायमा पहुँच अधिकृत अधिवक्ता प्रोणप्रताप केसीका अनुसार जुरीले अभियान सञ्चालन गरेपछि हिंसा पीडित महिलाहरुलाई काूुनी प्रकृयाको लागि सहज भएको छ । अहिलेसम्म लिगल क्लिनिकले महिला हिंसाका २७ घटनामा पीडित पक्षलाई सहयोग गरेको र प्रहरीले पीडितको पक्षमा सकारात्मक ढङ्गले सहयोग गरेको केसीले बताए ।

(पत्रकार बुढाथोकी दोलखाबाट पत्रकारिता गर्नुहुन्छ । )

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com