महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढ्यो


प्रकाशित मिति : फाल्गुन २४, २०७४ बिहीबार

फागुन २४, चितवन । महिला आफ्नो अधिकारप्रति सचेत बन्दै गएपछि समाजमा महिलामाथि हुने अपराधका घटना सार्वजनिक हुने क्रम बढेर गएको छ ।

महिला आफ्नो अधिकारका लागि न्याय माग्न प्रहरी र अदालतको ढोका ढक्ढक्याउन सफल हुँदै गएको तथ्यांकले देखाउँछ । जिल्लामा जबर्जस्ती करणीका घटना खुल्ने क्रम बढेर गएको छ । गत आर्थिक वर्षमा २३ वटा घटना प्रहरीमा दर्ता भएकामा चालू आवको माघ सम्ममा २३ वटा घटना दर्ता भइसकेका छन् ।

गत आवमा जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएकामा चालू आवकोे हालसम्म त्यस्ता ११ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कार भएको भनी चिकित्सकले प्रमाणित गरेका मुद्दालाई जबर्जस्ती करणीअन्तर्गत र बलात्कार गर्ने मनसायले गरेका विभिन्न गतिविधिलाई जबर्जस्ती करणी उद्योगअन्तर्गत प्रहरीले मुद्दा दर्ता गर्दछ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार गत आवमा बलात्कारका घटनामा संलग्न ३३ पुरुष र दुई महिलालाई पक्राउ गरी कारबाही गरिएको थियो । जबर्जस्ती करणी उद्योगमा २४ जनालाई पक्राउ गरिएको थियो । चालु आवको हालसम्म जबर्जस्ती करणी मुद्दाका २६ र उद्योगका आठ जनालाई पक्राउ गरिएको उनले बताए ।

‘पीडितमा न्याय माग्नुपर्छ भन्ने भावनाको विकास भएको छ,’ उनले भने ।

विगतमा बलात्कारका घटनामा डर, धम्की र प्रलोभनमा पारेर स्थानीय तहमा नै मिलाउने गरेको भए पनि अहिले कानुनी निकायसम्म जानुपर्छ भन्ने भावनाको विकास भएको तथ्यांकले देखाउँछ ।

महिलामाथि हुने हिंसाका घटनाबाहिर आउने क्रम पनि बढेको छ । गत आवमा घरेलु हिंसाका २५० निवेदन दर्ता भएकामा चालू आवको माघ सम्ममा १७९ वटा निवेदन दर्ता भएको छ । प्रहरीले गत आवमा २०० वटा घरेलु हिंसाको मिलापत्र गराएको थियो भने चालू आवको माघसम्ममा १४५ वटा मिलापत्र गराएको जनाएको छ ।
स्रोत-रासस

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com