तीन अमेरिकी छोराछोरीका पिता कन्सासका पूर्वप्राध्यापक देशनिकालाको प्रकृयामा
प्रकाशित मिति : माघ २४, २०७४ बुधबार
युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ३० बर्षदेखि अमेरिकामा बस्दै आएका कन्सासका एकजना प्राध्यापकलाई नियन्त्रणमा लिएको छ । शायिद अहमद जमाल झण्डै तीन दशकअगाडि बंगालादेशबाट अमेरिका आएका थिए ।
तीन छोराछोरीका पिता जमालले अहिले देशनिकालाको सामना गरिरहेका छन् । विद्यालयबाट छोरी पिकअप गर्न जाँदा अध्यागमन अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका हुन् । उनकी पत्नीले जमाललाई बिदाईको अंकमाल गर्न खोज्दा आइसका अधिकारीहरुले बाधा पुर्याएको अभियोगमा नियन्त्रणमा लिने चेतावनी दिएका थिए ।

५५ बर्षीय जमाल सन् १९८० को दशकमा विद्यार्थी भिसामा अमेरिकामा आएका थिए । उनका ७, १२ र १४ बर्षका तीनजनै छोराछोरी अमेरिकी नागरिक हुन् । जमालले रफ्तारमा चलाएका टिकट पाएका थिए, जसको समाधान पहिले नै भएको थियो । त्यो बाहेक जमालको कुनै खराब रेकर्ड समेत छैन ।
विद्यार्थी भिसा पछि जमालले एच वान बी भिसामा काम गरेका थिए । त्यसपछि उनले पीडी प्राप्त गरेर अमेरिकामा बस्दै आएका थिए । सम्मानित प्रोफेसर र बच्चाको स्कुल बोर्डका सदस्य समेत रहेका उनलाई मिजौरीको मोर्गन काउन्टी डिटेन्सन सेन्टरमा राखिएको छ । विगतमा उनको भिसा ओभरस्टे भएको र देश छाड्न न्यायाधिसले दिएको आदेश अवज्ञा गरेको आइसले जनाएको छ । सन् २०१२ मा पनि आइसले उनलाई नियन्त्रणमा लिएको थियो । तर उनलाई त्यतीबेला निगरानीमा छाडिएको थियो ।

जमाललाई देशनिकाला नगर्न आग्रह गर्दै चेन्ज डट ओर्गमा मंगलबार बेलुकासम्म ३६ हजार भन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् भने कानुनी लडाईका लागि परिवारलाई सघाउन गोफण्डमीमा २६ हजार डलर संकलन भइसकेको छ ।






