टीपीएस नविकरणका लागि नेपाल सरकारको पहल सुरु
प्रकाशित मिति : माघ ९, २०७४ मंगलबार
अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टीपीएस नविकरणका लागि नेपाल सरकारले पहल थालेको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले परराष्ट्र मन्त्रालयमार्फत पहल थालिएको जानकारी दिनुभएको हो ।
नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तरगत अवैतनिक एनआरएन सल्लाहकार खगेन्द्र जीसीले नेपाल सरकारलाई अमेरिकी सरकार समक्ष टीपीएस नविकरणका लागि पहलका लागि गरेको आग्रहपछि भट्टराईले यस्तो जानकारी दिनुभएको हो । जीसीले टीपीएस नविकरणका लागि अमेरिकी सरकार समक्ष बेलैमा आवश्यक पहल गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउनुभएलगत्तै प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले यसबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको र परराष्ट्र मन्त्रालय मार्फत पहल थालिएको जानकारी दिनुभएको हो ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीमार्फत नेपालको परराष्ट्र मन्त्रालयका सचिवले आवश्यक सुझावहरु दिइसक्नुभएको र अमेरिकी अधिकारीहरुसमक्ष यो कुरा लगिने भट्टराईले जानकारी दिनुभएको हो ।






