टीपीएसको अवधि थप्न अमेरिकी सरकारसमक्ष शीघ्र पहलका लागि नेपाल सरकारलाई जीसीको आग्रह
प्रकाशित मिति : माघ ८, २०७४ सोमबार
नेपाल सरकारको परराष्ट्र मन्त्रालयका अवैतनिक एनआरएन सल्लाहकार खगेन्द्र जीसीले टीपीएसको अवधि थप्न अमेरिकी सरकारसमक्ष शीघ्र पहलका लागि नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । नेपाल सरकार र परराष्ट्र मन्त्रालयले अमेरिकी सरकार समक्ष विशेष पहल गरेमामात्र टीपीएसको अवधि थपिने सम्भावना रहने भन्दै उहाँले नेपाल सरकारको अवैतनिक एनआरएन सल्लाहकारका रुपमा नेपालका सरकारका प्रधामन्त्री र परराष्ट्रमन्त्री लगायत सम्बन्धित निकायमा टीपीएस नविकरणका लागि अमेरिकी सरकार समक्ष पहल गर्नका लागि विशेष आग्रह गर्नुभएको हो ।
नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले देशनिकालाको डरबिना अमेरिकामा बसेर काम गर्न पाउनेगरी सन् २०१५ को जुन २४ देखि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस अर्थात् टीपीएस प्राप्त गरेका थिए । नेपाल सरकारका निकायहरु, अमेरिकामा रहेका नेपाली सामाजिक संघ संस्था, सामाजिक व्यक्तित्वहरु, अमेरिकी राजनीतिज्ञहरु लगायत सबैको पहलमा अमेरिकी सरकारले नेपाललाई टीपीएस प्रदान गरेको थियो । तर अब टीपीएसको अवधि आगामी जुन २४ बाट समाप्त हुँदैछ ।
नेपाल टीपीएसबारे अमेरिकी सरकारले अवधि सकिनुभन्दा ६० दिन अगाडि अर्थात् आगामी अप्रिलको अन्तिम साता अगाडि नै निर्णय लिने भएकाले टीपीएसको अवधि थप गराउन अहिले नै विशेष पहलको जरुरी देखिएको जीसीको भनाई छ । त्यसका लागि नेपाल सरकार र नेपाल सरकारको परराष्ट्र मन्त्रालयको विशेष पहल जरुरी भएको भन्दै उहाँले नेपाल सरकार समक्ष आग्रह गर्नुभएको हो ।
अमेरिकी सरकारको तथ्यांक अनुशार अमेरिकामा रहेका कुल १४ हजार ७ सय ९१ जना नेपालीहरुले टीपीएस प्राप्त गरेका थिए । जसमध्ये कैयनले आफ्नो स्टेटस एड्जस्ट गरिसकेकाले ८ हजार ९ सय ५० जना नेपालीलाई टीपीएस नविकरणको आवश्यकता छ । यदि नेपालको टीपीएस नविकरण नभएमा त्यसमध्ये सयौं नेपालीहरुले अमेरिकाबाट देशनिकालाको सामना गर्नुपर्नेछ ।
अमेरिकी सरकारले एकपछि अर्को देशको टीपीएस समाप्त गर्दै गएको अवस्थामा सयौं नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला हुनबाट बचाउन नेपाल सरकारले अमेरिकी सरकारसमक्ष बेलैमा टीपीएस नविकरणको लागि पहल गर्न आवश्यक रहेको जीसीले बताउनुभयो । त्यसका लागि उहाँले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अमेरिकामा रहेको नेपाली दूतावाससमक्ष पहल गर्नका लागि विशेष अनुरोध गर्नुभएको हो । साथै टीपीएस नविकरणका लागि सकृय अमेरिकामा रहेका नेपाली संघ संस्था, आप्रवासी सम्बन्धित संघ संस्था, सामाजिक व्यक्तित्व, अमेरिकी राजनीतिज्ञहरु, संचारकर्मीहरु लगायत सबैमा विशेष आभार प्रकट गर्दै सकृयता अझ बढाउन उहाँले आब्हान गर्नुभएको छ । साथै अमेरिकी सरकार र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष पनि नेपालको टीपीएस नविकरणका लागि उहाँले विशेष आग्रह गर्नुभएको छ ।






