के फरक छ गीता र मार्क्सको साम्यवादमा ?


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

मानिस सिर्जनशील प्राणी हो । त्यसो त, सिर्जना सजीव मात्रको धर्म हो । बोटबिरुवाहरू पनि सिर्जनशील हुन्छन् । कीटपतङ्ग, जीवजन्तु र पशुपक्षी सबैलाई सिर्जनाको धर्म निर्वाह गर्ने विशेष शक्ति दिएर प्रकृतिले पठाएको हुन्छ । जङ्गलमा हामीले चराहरूले बनाएका अनेकथरी गुँणहरू देख्ने गर्दछौँ । त्यसरी बनाइएका गुँणहरू अत्यन्त सामान्यदेखि लिएर अत्यन्त कलात्मकसम्मका हुने गर्दछन् । कमिलाहरू पनि त्यत्तिकै सिर्जनशील हुने गर्दछन् । जङ्गलमा बनाइएका धमिराका गोलाहरू मान्छेले बनाएका मन्दिरजस्तै कति आकर्षक देखिन्छन् । हामीले कुमालकोटी भनेर चिनिने एउटा किराले माटोको प्रयोग गरेर बनाउने घर साँच्चै नै कलात्मक देखिन्छ ।

माटोमा उम्रिएका हरेक बिरुवाहरू फुल्दा र झुल्दा निकै कलात्मक देखिन्छन् । ती कुनै पनि बिरुवाहरू नयाँ बिरुवा नउमारीकन समाप्त हुँदैनन् । यसरी, हामी के निष्कर्षमा पुग्न सक्दछौँ भने जीवन भन्नु नै सिर्जनाको नाम रहेछ । यहाँ हरेकको काम नयाँनयाँ सिर्जना गर्नु हो । सिर्जना नगरीकन कसैको पनि जीवन पूर्ण हुन सक्दैन । यसरी हेर्दा सिर्जनाकै कारण हामीले जीवनमा तृप्तिको अनुभव गर्दा रहेछौँ । मनुष्यले यसोउसो जे गरे पनि केही न केही नयाँ सिर्जना गर्ने प्रयास गरिरहेको हुन्छ । कसैले व्यापार गरेको छ, कसैले जागिर खाएको छ भने कसैले नयाँनयाँ कुराको अनुसन्धान गरिरहेको छ ।

गाँस, बास र कपास मानिसका आधारभूत आवश्यकता अवश्य हुन्, तर यत्तिले मात्रै मानिस सुखी हुन कदाचित् सक्दैन । धनसम्पत्ति प्रशस्त भए पनि, ठुलो र भव्य घरमा बसे पनि र मिठामिठा कुरा खान पाए पनि मानिस सुखी भएको हुँदैन । बाँच्नसम्मका लागि गाँस, वास र कपास अनिवार्य हुन् । तर, बाँच्नु भनेको हिँडडुल र बसउठ मात्र होइन । गतिशील र अर्थपूर्ण बँचाइ नै मानिसको वास्तविक बचाइ हो । मानिसको जीवनलाई अर्थपूर्ण बनाउनका लागि उसको सिर्जनशीलताको ठुलो भूमिका रहेको हुन्छ ।

हामी बाँच्दा पनि हाँसीहाँसी बाँच्न सकौँ, सुविधाका साथ बाँच्न सकौँ अनि इज्जत र पूर्णप्रतिष्ठाका साथ बाँच्न सकौँ भन्ने मानिसको चाहना हुन्छ । उसको यही चाहनाका कारण आजको विश्व यो अवस्थासम्म आइपुगेको हो । खानु, बस्नु र लगाउनु मात्र जीवनको उद्देश्य भएका भए मानिस समाजमा यसरी मिलेर बस्ने अवस्था आउँदैनथ्यो । मानिसले चन्द्रमा, मङ्गल आदि ग्रहहरूमा पनि पाइला टेकेको हुँदैनथ्यो । हिँडेर जाँदा महिनौँ लाग्ने ठाउँहरूमा मानिस केही घण्टामै पुग्ने कुरा सम्भव हुँदैनथ्यो । जीवनको उद्देश्य के हो ? हामीले गर्नुपर्ने के हो ? भन्नेजस्ता प्रश्नहरूमाथि चिन्तन गरेर पीडाका समयमा पनि सुखी हुन सिकाउने अध्यात्मज्ञान हामीले प्राप्त गर्नेै थिएनौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिर्जनशीलता नै जीवन हो भन्ने सत्यलाई आजको मानिसले गरेका अनेक अनुसन्धान, आविष्कार र नयाँनयाँ प्राप्तिहरूले प्रमाणित गरिदिएका छन् । तर, सिर्जना कहिल्यै पनि एकदेशीय, एकपक्षीय र सङ्कीर्ण हुँदैन । यसका अनेक आयामहरू हुने गर्दछन् । हामीले जहाँ हे¥यो, उहीँ सिर्जनशीलता प्राप्त गर्न सक्दछौँ । यदि कला र सिर्जना एकपक्षीय मात्र भएका भए सबै मानिस कवि मात्रै हुनेथिए अथवा गीत गाउने गायक र गायिका मात्र हुने थिए । तर, मानिस सबै भएका छन् : गीतकार, गायक, चित्रकार, सङ्गीतकार, वैज्ञानिक, शिक्षक, लेखक, पत्रकार, आदिआदि ।

हामी जेचाह्यौँ, त्यही बन्न सक्दछौँ । हामीभित्र के छ, त्यो महत्त्वपूर्ण विषय हो । यदि हामीभित्र कवि व्यक्तित्व बलियो छ भने हामी कवि हुन सक्दछौँ । चित्रकारिताको प्रतिभा बलियो छ भने चित्रकार हुनबाट हामीलाई कसैले रोक्न सक्दैन । होइन, हामीभित्र मिठो सङ्गीत छ भने हामी सङ्गीतकार बनेर देखा पर्दछौँ । जेहोस्, हामीभित्र सबैमा फरकफरक प्रतिभा लुकेर बसेको छ । त्यसलाई अभिव्यक्त ग¥यौँ भने हामी त प्रसन्न हुन्छौँ नै, सँगसँगै हाम्रो समाज र वरपरका मानिस पनि सुखी हुन्छन् किनभने सिर्जना सबैका लागि हो । आफ्ना लागि त गाँस, बास र कपास मात्रैले पनि काम चल्न सक्दछ । तर, सबैका लागि प्रिय हुने कुरा भनेकै हामीभित्रको कला र सिर्जनाको शक्ति हो ।

यसैले, मनुष्यका लागि सिर्जनशीलताले सबैभन्दा उच्च मूल्य राख्छ भन्ने कुरा प्रमाणित हुन्छ । अब, सिर्जनशीलता मनुष्यको धर्म र पहिचान हो भन्ने कुरा त स्पष्ट भयो, तर सिर्जनशीलता कसरी अभिव्यक्त हुन्छ भन्ने प्रश्न निकै महत्त्वपूर्ण छ । जहाँ सिर्जनशील वातावरण हुन्छ, त्यहीँ हामीभित्रको सिर्जनशीलताले पनि प्रकाशित हुने अवसर प्राप्त गर्दछ । सिर्जनशील वातावरण कस्तो हुन्छ त त्यसोभए ? सिर्जनशील वातावरण शान्त हुन्छ । हामीभित्रको एकान्त जहाँ प्रकट हुन्छ, त्यो वातावरण नै सिर्जनामैत्री वातावरण हो । जति सामाजिक सद्भाव, एकता र मैत्री बलियो भयो, त्यति नै सामाजिक शान्ति बलियो हुन्छ । र, त्यही शान्त वातावरणभित्र हामीभित्रको प्रतिभाले प्रकाशित हुने मौका पाउँदछ ।

सामाजिक सद्भाव, मैत्री र परस्परको निष्ठा कसरी वृद्धि हुन्छ त त्यसोभए ? विद्वान्हरू भन्दछन् हामीभत्रको काम, क्रोध, लोभ, मोह आदि दुर्भावनाहरू जतिबेला हट्दछन्, त्यति नै बेला समाजमा परस्पर विश्वास र सहकार्यको भावना पैदा हुन्छ । कसैले कसैप्रति पनि द्वेष, ईश्र्या र प्रतिशोधको भावना नराख्ने अवस्था नै सामाजिक शान्ति र सद्भाव वृद्धि हुने अवस्था हो ।
हामी सबैले सबैको अस्तित्व स्वीकार्ने बानीको विकास हुने हो भने मात्र मान्छेको समाज समुन्नतिको दिशातिर अभिमुख हुन सक्दछ । हामी फरक फरक ठाउँमा, फरक फरक नाउँमा, फरक फरक काममा लागेका भए पनि सबैले चाहेको सुख र आनन्द हो । हामी सबैको खोजी एउटै हो— सुख, आनन्द र सत्य । सत्य भन्नु नै सुख हो र सुख भन्नु नै सत्य हो । हामीले सबैतिर सत्यकै खोजी गर्न सक्नुपर्दछ र सबैतिर सत्यकै दर्शन गर्न सक्नुपर्दछ ।

हामीले जे खोज्दछौँ, त्यही पाउँदछौँ । मस्तिष्कभित्र उठ्ने हरेक विचारहरू अर्थपूर्ण हुन्छन् भन्ने कुरा हामीले कहिल्यै पनि बिर्सन हुँदैन । हरेक पटक उठ्ने विचारहरूले केही न केही असर अवश्य छोडेका हुन्छन् । त्यसैले, मनमस्तिष्कमा सत्यसम्बन्धी विचारहरू उत्पन्न भइरहून् भन्नेतिर हामी विषेश सचेत बन्नुपर्ने हुन्छ । वरपर हामीले जे देख्छौँ, ती सबै सत्यकै साक्षात्रूप हुन् भनेर हामीले लिन सक्यौँ भने सत्यको कहिल्यै पनि अभाव हुँदैन ।

विशिष्ट पुरुषहरूको शब्दकोशमा कतै पनि ‘विभेद’ भन्ने शब्दावली हुँदैन । विभेदका ठाउँमा उनीहरूले ‘समता’ शब्दको अधिक प्रयोग गरेका हुन्छन् । मान्छेमान्छेका बीचमा विभेद सिर्जना गर्ने काम त केवल मान्छेले नै गरेको हो । योगीहरू त जीव र जडमा समेत फरक देख्दैनन् । सुकेको रुखको ठुटोप्रति पनि उनीहरूमा प्रेम भरिएको हुन्छ । उनीहरूको विचारमा ईश्वरले रहित यो जगत्को कुनै पनि विषय, वस्तु र व्यक्ति छैन । कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम त केवल सामान्य मानिसको काम हो । विशिष्टहरूले कसैलाई पनि फरक दृष्टिले हेर्दैनन् ।

यहाँसम्म कि आपूmलाई समेत उनीहरूले अरुभन्दा फरक देष्टिले हेर्ने गर्दैनन् । ‘म जेछु, मबाहेकका सबै त्यो हुने हैसियत राख्दछन्’ भन्ने विशिष्ट चेतनाको आलोकमा उनीहरू रमाउने गर्दछन् । गीतामा भगवान श्रीकृष्णले पनि यससम्बन्धी दिशानिर्देश गर्ने काम गर्नुभएको छ । उहाँ भन्नुहुन्छ ः यो मां पश्यति सर्वत्र, सर्वं च मयि पश्यति । तस्याहं न प्रणश्यामि स च मे न प्रणश्यति ।। (जसले दृश्यादृश्य सबैतिर मलाई देख्दछ, र सम्पूर्ण दृश्यादृश्य जगत् मभित्र समेटिएको देख्दछ, उसका लागि म कहिल्यै पनि अदृश्य छैन र ऊ पनि मेरा लागि अदृश्य हुँदैन ।) यहाँ कृष्णले सत्यलाई प्रतिनिधित्व गर्नुभएको छ । हामीले जहाँ हेरे पनि त्यो विशिष्ट कृष्ण तत्त्व अथवा जन्मजात अस्तित्वलाई भेट्न सक्दछौँ ।

समान्य चेतना भएका व्यक्तिले जडभित्र पनि चेतनाको अनुभूति गर्न सक्दैनन् । जसले सचेत र अचेत सबैको शाश्वत र आदि स्रोत एउटै बह्माण्डीय ऊर्जा एवम् विश्वशक्ति हो भनेर बुझेको हुन्छ, उसले सर्वत्र सत्यको दर्शन गर्ने हैसियत राख्दछ । हामीकहाँ ढुङ्गालाई भगवान्को बिम्व मानेर पूजा गर्ने जुन चलन छ, त्यो चलन विशिष्ट चेतनाको अभिव्यक्ति हो । साक्षात् श्रीकृष्णमा जुन शक्ति र ऊर्जा छ, त्यो एउटा शालिग्रामस्वरूप ढुङ्गालाई पूजा गर्दा पनि पाउन सकिने निष्कर्ष हाम्रा विशिष्ट साधक एवम् योगीसज्जनहरूको लामो तपस्याको प्रतिफल हो । समान्य मानिसहरू देख्ने कुरालाई मात्र सबैथोक मान्छन्, तर विशिष्ट साधकहरू भने देख्न सकिने र नसकिने दुवैको अस्तित्व स्वीकार्दछन् । नेदिने पनि देखिने बन्न सक्दछ भने देखिने अन्ततः नदेखिनेमा रूपान्तरित हुुनुपर्ने नियतिबाट अलग रहन सक्दैन भन्ने उनीहरूको बुझाइ हुन्छ । यसैले, सबै उस्तै हुन्, सबैको समान मूल्य र महत्त्व छ भन्ने दैवी आज्ञालाई स्वीकार्नुलाई नै विशिष्ट चेतना भनेर भनिन्छ ।

‘आत्मपौम्येन सर्वत्र समं पश्यति योऽर्जुन । सुखं वा यदि वा दुःखं स योगी परमो मतः ।।’—भगवान् श्रीकृष्णले गीतामा व्यक्त गर्नुभएको यो श्लोकको अर्थ हो, प्रिय अर्जुन, जुन योगी आपूmभित्र जस्तै सबैतिर समान देख्दछ, साथै, सुःख र दुःखमा पनि समान धारणा राख्दछ, त्यस्तो योगी परम श्रेष्ठ मानिएको छ । हामीले आपूmभित्र रहेका हरेक अङ्गलाई उत्तिकै महत्त्व दिएका हुन्छौँ । हामीले आँखालाई धेरै मूल्य दिने तर गुदद्वारबाट मल निस्कने भएका हुनाले गुदद्वारलाई कम मूल्य दिने काम कहिल्यै पनि गर्न सक्दैनौँ । हामीसँग मलमूत्र निष्कासन गर्ने अङ्गहरू छन् । थुक, सिँगान, खकारसँग सम्बन्धी अङ्गहरू पनि छन्, तर कुनै पनि अङ्गलाई विशेष र कम भन्ने विभेद हामीले कहिल्यै पनि गर्न सक्दैनौँ । हामीले जुन मूल्य टाउकोलाई दिएका हुन्छौँ, त्यही मूल्य पैतालाका औँलाहरूलाई दिएका हुन्छौँ । चाहे जुन अङ्गमा चोट लागेको होस््, हामीले समानरूपमा दुःखाइको अनुभव गर्ने गर्दछौँ ।

त्यसरी, नै एउटा विशिष्ट साधकले आफ्नो जीवन र अर्काको जीवनलाई उस्तै प्रकारले हेरेको र बुझेको हुन्छ । बाहिर कसैलाई दुःख पर्दा उसले पनि महसुस गर्दछ भने सुख पाउँदा त्यसको पनि अनुभूति गर्दछ । यसो किन भएको हो त भन्दा सबैलाई आपूmजस्तै ठानेका हुनाले । जोसँग विशिष्ट अभिभावकीय योग्यता र शक्तिको विकास भएको हुन्छ, उसले सबैलाई आफ्नै हुन् भनेर बुझेको हुन्छ । यो सारा संसारका नियन्तालाई यस ब्रह्माण्डका सानादेखि लिएर ठूलासम्मका सबैको उत्तिकै चासो र चिन्ता लागिरहन्छ । त्यसरी नै, आपूmलाई जस्तै अरुलाई पनि मूल्य दिने व्यक्तिहरू सामान्यबाट माथि उठिसकेका हुन्छन् ।

दुःख र सुखप्रति पनि विशिष्ट पुरुषहरूमा भिन्नाभिन्नै धारणा हुँदैन । दुःखमा पनि सुखको अनुभूति र सुखमा पनि दुःखको अनुभूति गर्ने विलक्षण शक्तिले उनीहरू भरिएका हुन्छन् । व्यापकको चिन्तन गर्दागर्दै हामी पनि व्यापक बन्दछौँ । त्यसैले, विचारलाई जहिले पनि व्यापक भएको अनुभूति गर्नुपर्दछ । आपैmँले दिन नसके पनि आपूmले मानिसहरूलाई प्रशस्त दिएको कल्पना गर्दा पनि हामीभित्र व्यापकताको भावना विकसित भएर जाने तथ्य विद्वान्हरूले औँल्याएका छन् ।
तेरो र मेरो भन्ने भावना त सानोचित्त भएका मानिसहरूको हुन्छ । जो आफ्नै सङ्कीर्ण चिन्तनको निश्चित घेराभित्र बन्दी भएर बसेको छ, उसले मात्र यो तेरो हो र यो मेरो हो भनेर भन्दछ । चेतनाको सर्वोच्चतालाई स्पर्श गरिसकेका बुद्धपुरुषहरू भने ‘यी सबै विषय र वस्तुहरू उसैका हुन्, जसले यिनलाई बनायो’ भनेर भन्दछन् ।

समता निकै महत्त्वपूर्ण शक्ति हो, मनुष्यमात्रको । हामीले आर्थिक समानताको कुरा ग¥यौँ । विभिन्न खाले अधिकार र समानताको अधिकारको कुरा ग¥यौँ, तर मनुष्यका लागि मात्र । समताको कुरा मनुष्यका लागि मात्रै भन्ने नै हुँदैन । कार्ल माक्र्सलगायत प्रगतिशील चिन्तकहरूले मानिसमानिसबीचको शोषण र विभेदको मात्रै कुरा गरे, तर हाम्रा पूर्वीय मनीषी र तत्त्वज्ञहरू भने जड र चेतनबीच पनि समताको कुरा गर्दछन् । उनीहरूले त मनुष्य र ढुङ्गामुढालाई फरक ढङ्गले हेर्ने कुरा पनि कहिल्यै गर्दैनन् । हामीकहाँ कतिपयले यस्तो मान्यता राख्दछन् ः ‘ईश्वर राम्रा कुराहरूमा मात्रै हुन्छन् । नराम्रा र निर्जीव जडमा हुँदैनन् ।’ यो ईश्वरीय मूल्यको एकदमै विपरीत मान्यता हो । यो मान्यता न त तर्कसङ्गत छ, न त प्राकृतिक नै । यो केही उपल्ला सुकिलामुकिलालाई मात्रै खुसी पार्न बनाइएको सङ्कीर्ण मान्यताबाहेक केही होइन । ईश्वर सबैका साझा हुन् । ढुङ्गामाटोेदेखि मनुष्यसम्म सबैको निर्माण गर्ने शक्ति एउटै हो, फरक होइन ।

हामी निकै धेरै अगाडि छौँ । सबैभन्दा क्रान्तिकारी र प्रगतिशील भनिले माक्र्सले पनि मान्छेमान्छेबीचको विभेदभन्दा अर्को विभेद देखेनन् र मानिसमानिसका बीचमा समताको कुरा गरे । तर, गीतामा भगवान् श्रीकृष्णले हजारौँ वर्षअघि त्योभन्दा धेरै क्रान्तिकारी र समायातीत विचार व्यक्त गर्नुभएको छ गीतामा ः ‘सबैमा म रहेको छु, ममा सबै रहेका छन् ।’ उहाँको आशय के हो भने संसारमा मान्छे मात्र होइन, कीटपतङ्ग पनि उत्तिकै मूल्यवान् छन् । मूल्यका दृष्टिले जीव र निर्जीव कत्ति पनि फरक छैनन् । सबै उत्तिकै मूल्यवान् छन् । कसैले कसैलाई पनि हत्या, हिंसा र शोषण गर्न पाउँदैन ।

त्यसैले, हामी माक्र्सको प्रगतिशील समानताको दर्शनसँग प्रभावित छौँ भने पनि नराम्रो कुरा भएन । तर, हामी क्रान्तिकारी हौँ भने र क्रान्तिलाई साँच्चै मन पराउँछौँ भने वैदिक मूल्यलाई स्वीकार्नुको कुनै विकल्प छैन । माक्र्सको साम्यवाद मान्छेको समस्याभन्दा माथि उठ्न सकेको छैन, तर गीताको साम्यवादले सबैलाई सम्बोधन गरेको छ ः ढुङ्गा, माटो, कीटपतङ्ग, बोटवनस्पति, पशुपक्षी र मनुष्य । माक्र्सको साम्यवाद एकाङ्की छ, तर वैदिक साम्यवाद पूर्ण र प्राकृतिक छ । माक्र्सको साम्यवाद सङ्कीर्ण र मनुष्यसापेक्ष छ भने गीताको साम्यवाद व्यापक र ब्रह्माण्डका प्रत्येक सिर्जनासापेक्ष छ । हामी सङ्कीर्णताका पछाडि लाग्ने कि व्यापकताका पछाडि ? अवश्य विचार गर्नुपर्ने भएको छ ।

आचार्य लक्ष्मण भण्डारी/लोकान्तर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com