भारतको एउटै जेलमा ३४ नेपाली


प्रकाशित मिति : माघ १, २०७४ सोमबार

आशा थपलिया। नयाँ दिल्ली: भारतका विभिन्न जेलमा रहेका सयौँ नेपालीको उद्धारका लागि दिल्लीस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ । दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी गराए ।

दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क सङ्कलन गरेको थियो। ‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन बिताउन बाध्य भएका नेपालीहरूको उद्धारका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन सुरु गरेका छौँ’, रेग्मीले भने, ‘तीन चार महिनाभित्र यो कार्य सकिने अनुमान छ ।’ त्यसपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र र राज्य सरकारसँग पहल गरिने उनले बताए ।

एउटै जेलमा ३४ नेपाली

दूतावासका अनुसार भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी अवस्थामा भेटिएका छन् । हिमाञ्ल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा पुग्दा यस्तो तथ्य बाहिरिएको हो । हिमाञ्चलको एउटै जेलमा ३४ जना नेपालीहरू बन्दी जीवन बिताउन बाध्य रहेको दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चार वर्षमा ७३ नेपाली घर फर्के

त्यसपछि भारतीय जेलबाट नेपालीको उद्धारका लागि अध्ययन थालिएको रेग्मीले जानकारी दिए । दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ४८ जनाको त हिमाञ्चल प्रदेशका जेलहरुबाट उद्धार गरिएको हो ।

कामको खोजीमा हिमाञ्चल, उत्तराखण्ड लगायत राज्यमा आएका नेपाली विभिन्न अपराधमा लामो समयदेखि स्थानीय जेलमा बन्दी भएका छन् । अधिकांश नेपाली स्थानीय प्रहरीको झुटो आरोपको सजाय पनि भोग्न बाध्य भएका छन् ।

तीमध्ये कतिपयका आफन्त र केही संस्थाहरूको प्रयासपछि रिहा भएर नेपाल फर्किएका हुन् । तर उद्दार नभएका अझै कति नेपाली जेलजीवन बिताउन बाध्य छन् भन्ने यकिन तथ्याङ्क कसैसँग थिएन। यस्तो अवस्थामा भारतीय जेलका नेपालीको खोजी दूतातावासले थालेको हो ।

सबै नेपालीको तथ्यांक खोजिने

५० वर्षभन्दा लामो समयदेखि भारतमा नेपाली दूतावास सञ्चालित छ । तर पनि यहाँका नेपालीको तथ्याङ्क कोहीसँग छैन । तथ्यांक सङ्कलनमा ढिलाइ हुँदा धेरै नेपालीको अवस्था अत्तोपत्तो पनि छैन ।

नेपालीको अवस्था बुझ्न ढिला भएको स्वीकार्दै रेग्मीले निकट भविष्यमै भारतका नेपालीको प्रारम्भिक तथ्याङ्क सङ्कलन गर्ने काम सुरु गरिने जानकारी गराए । ‘यसका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र दूतावासको पहलमा अध्ययन सुरु गरिसकेका छौँ’, उनले भने ।

भारत पुगेका चितवनका पत्रकारहरूसँग दूतावासमा सोमबार भएको अन्तक्रियामा रेग्मीले यस्तो जानकारी गराएका हुन् । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको नेतृत्वमा भारत आएको पत्रकारको समूहले प्रवासमा रहेका नेपालीसँग भएको छलफलका आधारमा नेपालीको समस्यातर्फ दूतावासको ध्यानाकर्षण गराएको थियो ।

ज्यादतिको उजुरी नै आएन

सीमानाकामा नेपालीसँग हुने गरेका ज्यादतीबारे स-प्रमाण उजुरी पर्न नआएकाले कूटनीतिक रूपमा भारतीय पक्षसँग संवाद गर्न दूतावासलाई गाह्रो हुने गरेको रेग्मीले बताए ।

कार्यक्रममा पत्रकारहरूले भारतमा मृत्यु भएका नेपालीहरूको लास नेपाल पठाउँदा आइपर्ने समस्या, विभिन्न राज्यका नेपालीहरूको दूतावाससँगको सम्पर्कमा भइरहेको कठिनाइ,सीमा नाकामा नेपालीहरूले भोग्नुपर्ने भारतीय प्रहरीको ज्यादती लगायतका पुरानै समस्याहरूतर्फ दूतावासको पुन ध्यानाकर्षण गराए । उनीहरूले विभिन्न राज्यका नेपालीको समस्या सम्बोधनका लागि दूतावासले छुट्टै डेस्क राख्नुपर्ने सुझाव समेत दिएका थिए ।

भारतमा रहेका नेपालीको सङ्ख्याबारे आधिकारिक विवरण कसैसँग छैन । अहिलेसम्मका तथ्यांका अनुमानमा आधारित छन् । भारतमा करिब ६० लाख नेपाली रहेको काल्पनिक तथ्यांक देखाउने गरिएको छ ।

भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले आफ्नो कार्यकालमा तथ्याङ्क सङ्कलन गरिने बताउँदै आएका थिए । तर, उनले दुई कार्यकाल राजदूत हुँदा पनि आफ्नो बोलीलाई ब्यवहारमा उतार्न सकेनन् । पत्रकारहरूको समूहलाई नेपाल-भारत पत्रकार महासङ्घ भारत शाखाले समन्वय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com