बूढानीलकण्ठका ‘टपर’ देखि न्युयोर्कका उद्यमीसम्म: ‘जोखिम लिनुहोस्, तर तथ्यमा आधारित’


प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार

लमजुङको सुन्दर बजारदेखि न्युयोर्कको व्यावसायिक जगत्सम्म पुगेका सीसीए पशुपति श्रेष्ठको जीवनी संघर्ष, धैर्य र निरन्तर शैक्षिक लगावको एउटा उत्कृष्ट नमुना हो । नेपालको प्रतिष्ठित बूढानीलकण्ठ स्कुलमा कक्षा १० सम्म सधैं प्रथम स्थान हासिल गरेका श्रेष्ठले अमेरिकामा पनि आफ्नो त्यही बौद्धिक प्रखरतालाई कायम राखे । उनले अमेरिकाको प्रतिष्ठित शिक्षण संस्थाबाट पूर्ण छात्रवृत्तिमा गणितीय अर्थशास्त्रमा स्नातक तह पूरा गरे । त्यसपछि उनले लेखाशास्त्रमा स्नातकोत्तर तहको शिक्षा हासिल गरे । जसले उनको व्यावसायिक मार्गको ठोस जग बसाल्यो ।


आफ्नो विद्यार्थी जीवन र शैक्षिक उपलब्धिको बारेमा श्रेष्ठ भन्छन्, ‘नेपालबाट एक पहिलो पुस्ताको विद्यार्थीका रूपमा अमेरिका आउँदा मसँग सपना र मिहिनेतबाहेक अरू केही थिएन । पूर्ण छात्रवृत्ति पाउनु मेरो जीवनको ठूलो अवसर थियो । तर, अमेरिकामा केवल शैक्षिक उपाधि लिनु मात्र पर्याप्त थिएन । यहाँको कडा प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्न मैले दिन–रात मिहिनेत गर्नुप¥यो । स्नातक र स्नातकोत्तर तहको अध्ययनका क्रममा मैले लेखा र कर प्रणालीको जुन गहिराइ बुझ्ने मौका पाएँ त्यसैले मलाई आज यो स्थानमा उभ्याएको हो ।’


उनको व्यावसायिक यात्राको सुरुवात विश्वकै उत्कृष्ट लेखापरीक्षण संस्थाहरूबाट भयो । उनले न्युयोर्क सहरमा लेखापरीक्षकका रूपमा काम सुरु गर्दै विभिन्न प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी र बैंकहरूमा एक दशकभन्दा बढीको अनुभव बटुले । आफ्नो जागिरे जीवनको अनुभव साझा गर्दै श्रेष्ठ भन्छन्, ‘ठूला व्यावसायिक संस्थाहरूमा काम गर्दा मैले विश्वव्यापी आर्थिक सञ्चालन र वित्तीय पारदर्शिताको महत्त्वलाई नजिकबाट नियाल्ने मौका पाएँ । त्यहाँ सिकेको व्यावसायिक अनुशासन र प्राविधिक ज्ञान नै मेरो आफ्नै कार्यालय सुरु गर्ने प्रेरणा बन्यो ।’


हाल उनी न्युयोर्कमा आफ्नै लेखा र कर परामर्श केन्द्रका संस्थापक र प्रमुख कार्यकारी हुन् । उनको यो संस्थाले साना व्यवसायी र व्यक्तिगत करदातालाई कर बचतका रणनीति र व्यावसायिक परामर्श प्रदान गर्दै आएको छ । श्रेष्ठका अनुसार न्युयोर्कमा व्यवसाय चलाउनु निकै चुनौतीपूर्ण छ । त्यसैले उद्यमीहरूलाई करको भारबाट जोगाउन उनी सधैं तत्पर रहन्छन् । आफ्नो संस्थाको उद्देश्यबारे उनी भन्छन्, ‘मैले यसको स्थापना गर्दा केवल एउटा कार्यालय मात्र सोचेको थिइनँ । बरु नेपाली समुदायका साना व्यवसायीहरूका लागि एक भरपर्दो आर्थिक सारथि बनाउने लक्ष्य राखेको थिएँ । यहाँका नियमहरू निकै जटिल हुन्छन् । त्यसैले कानुनी रूपमै कसरी कर कम तिर्ने र व्यवसायलाई कसरी सुरक्षित राख्ने भन्नेमा म सधैं केन्द्रित रहन्छु ।’


कर र लेखापरीक्षणको क्षेत्रमा मात्र सीमित नभई श्रेष्ठले आतिथ्य र मनोरञ्जनको क्षेत्रमा पनि आफ्नो कुशलता प्रदर्शन गरेका छन् । उनले लेकसाइड रेस्टुरेन्ट र बुद्ध बारजस्ता सफल व्यवसायको सञ्चालन र व्यवस्थापनमा समेत हात हालेका छन् । यी व्यवसायबारे श्रेष्ठ भन्छन्, ‘भोजनशाला व्यवसाय केवल स्वादसँग मात्र होइन, यो कुशल व्यवस्थापन र समुदायलाई जोड्ने माध्यम पनि हो । लेकसाइड रेस्टुरेन्ट र बुद्ध बारमार्फत हामीले नेपाली आतिथ्यलाई स्थानीय र अन्तर्राष्ट्रिय ग्राहकमाझ पु¥याउने कोसिस गरेका छौं । एउटा सीपीएका रूपमा मैले यी व्यवसायहरूमा पनि वित्तीय शुद्धता र गुणस्तरलाई सधैं प्राथमिकतामा राख्ने गरेको छु ।’


आफ्नो व्यावसायिक विविधीकरणका बारेमा थप स्पष्ट पार्दै उनी भन्छन्, ‘धेरै मानिसहरूलाई लाग्न सक्छ कि एउटा लेखापरीक्षक कसरी मनोरञ्जन र भोजनशाला व्यवसायमा सफल हुन सक्छ ? तर, मेरो विचारमा जुनसुकै व्यवसायको मेरुदण्ड भनेकै त्यसको आर्थिक व्यवस्थापन र कानुनी सचेतता हो । लेकसाइड र बुद्ध बार सञ्चालन गर्दा मैले मेरो लेखासम्बन्धी ज्ञानलाई सही ठाउँमा प्रयोग गरें । जसले गर्दा यी व्यवसायहरूले छोटो समयमै न्युयोर्कको नेपाली र स्थानीय समुदायमा छुट्टै पहिचान बनाउन सफल भए । हामीले यहाँ केवल परिकार मात्र पस्किएका छैनौं बरु घरभन्दा टाढा रहेका नेपालीहरूका लागि एउटा अपनत्व महसुस हुने थलो निर्माण गरेका छौं ।’


कर व्यवस्थापनका साथै श्रेष्ठ भोजनशाला व्यवसाय र सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी न्युयोर्कको नेपाली समुदायका विभिन्न गतिविधिमा संलग्न छन् । आफ्नो विद्यालयका पूर्वविद्यार्थीको संस्थामा पनि सक्रिय योगदान पु¥याइरहेका छन् । आफ्नो समुदायप्रतिको दायित्वलाई सम्झँदै श्रेष्ठ भन्छन्, ‘हाम्रो समुदायका धेरै मानिसहरू सानो व्यवसायबाट ठूलो सपना देखिरहनुभएको छ । म चाहन्छु कि मेरो ज्ञान र अनुभवले कसैको व्यवसाय डुब्नबाट जोगियोस् र कसैले अनावश्यक जरिबाना तिर्नु नपरोस् । मेरो सफलताको वास्तविक अर्थ नै अर्काको उन्नतिमा मद्दत पु¥याउनु हो ।’


अन्तमा नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहित गर्दै उनी भन्छन्, ‘अमेरिका अवसरको खानी हो । तर, यहाँ सही मार्ग पहिचान गर्न सक्नुपर्छ । जोखिम लिन नडराउनुहोस् । तर, त्यो जोखिम सधैं तथ्य र तथ्यांकमा आधारित हुनुपर्छ । म सधैं भन्ने गर्छु– आफ्नो व्यावसायिक सपनालाई पछ्याउँदै गर्दा यहाँको नियम र कानुनलाई सम्मान गर्नुहोस् । सफलता आफैं तपाईंको पछि लाग्नेछ । आगामी दिनमा म अझ धेरै नेपाली उद्यमीहरूलाई उनीहरूको लक्ष्य प्राप्तिमा मद्दत गर्न र हाम्रो समुदायलाई आर्थिक रूपमा अझ सबल बनाउन प्रतिबद्ध छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सामग्री खसोखासको १४ औं वार्षिकोत्सव विशेषांकमा प्रकाशित सामग्री हो । डिजिटल संस्करणमा यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोला।

यस संस्करणको हार्डकपी नि:शुल्क प्राप्त गर्न क्लिक गर्नुहोस्। (नोट: १६८ पृष्ठको यो विशेष अंक करिब एक पाउन्ड तौलको भएकाले डेलिभरी शुल्क भने पाठक स्वयंले ब्यहोर्नुपर्नेछ।)


cards

Powered by paypal

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com