के विश्वकपलाई लिएर कतार तनावमा छ?


प्रकाशित मिति : कार्तिक १४, २०७४ मंगलबार

केही लाख मात्र जनसंख्या भएको मुलुकले यति ठूलो खेल समारोहको आयोजना गर्ने अवसर कसरी पायो?

त्यति धेरै गर्मी हुने देशमा फुटबल प्रतियोगिता हेर्न को जान्छ?

आयोजना गर्ने जिम्मेवारी पाएदेखि कतारले सन् २०२२ मा हुने विश्वकप फुटबललाई लिएर यी र यस्ता प्रश्नहरुको सामना गर्दै आएको छ।

कम समय बाँकी रहेकोले विश्वकप आयोजना गर्ने जिम्मेवारी कतारबाट अब खोसिनेछैन भनेर यस वर्षको प्रारम्भतिर ठान्ने गरिन्थ्यो तर कतारसामु अनेकौं चुनौतीहरु आइरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के कतारमा विश्वकप हुने सम्भावना टर्दैछ?

सम्बन्ध विच्छेद

चार महिनाअघि साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरे।

कतार स्थलमार्गले साउदी अरेबियासँग मात्रै जोडिएको देश हो।

विश्वकपका लागि निर्माणाधीन आठमध्ये सातवटा रंगशालाहरुका निम्ति कतारले त्यही बाटोबाट निर्माण सामाग्री ल्याउने गरेको थियो।

कूटनीतिक संकट शुरु हुने बेला निर्माणमा संलग्न अधिकांश कम्पनीहरुसँग मौज्दातमा करिब दुई महिनासम्म पुग्ने निर्माण सामाग्री थियो।

कतार

र, त्यसको चार महिना बितिसक्दा पनि खाडी संकट तत्काल अन्त्य हुने संकेत देखिएको छैन।

निर्माण सामाग्रीको अभाव भएको कारण देखाउँदै कतारमाथि प्रतिबन्ध लगाउने देशप्रति वफादार कम्पनीहरुले काम छाड्न सक्ने भन्ने चिन्ता पनि व्यक्त गरिएका थिए।

प्रभावकारी

यस्तो अवस्थामा के सन् २०२२ को विश्वकप फुटबल कतारमा हुनसक्ला?

विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ‘सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’का प्रमुख हसन अल थवाडीले तत्कालै प्रभावकारी कदम चालिएको बताएका छन्।

हालै बीबीसीसँगको एउटा अन्तर्वार्तामा उनले निर्माण सामाग्री आयातका लागि वैकल्पिक मार्गको खोजी गरिसकिएको बताएका थिए।

उनले भने, “हामीले चीन, मलेसिया, टर्की र ओमानबाट निर्माण सामाग्री मगाउन थालिसकेका छौँ। यसअघि सजावटका सामानहरु संयुक्त अरब एमिरेट्सबाट मगाउने गरिएकोमा अब ओमानबाट मगाउन थालिएको छ।”

कतार

कतारको हम्दनामी बन्दरगाह र पाकिस्तानको कराचीस्थित एउटा बन्दरगाहबीचको मार्ग खुल्ला गरिएको छ ताकि आवश्यक निर्माण सामाग्री ल्याउन सकियोस्।

हसन भन्छन्, “यी कदमहरुले संकेत गर्छन् कि विश्वकप आयोजनालाई लिएर कतार कति गम्भीर छ र प्रतियोगिताको आयोजना गर्ने तयारीमा खाडी संकटको कुनै असर परेको छैन।”

आठमध्ये निर्माण सम्पन्न भएको दोहास्थित पहिलो रंगशाला ‘खलीफा स्टेडियम’ हालै खुल्ला गरिएको थियो।

बाँकी दुईवटा रंगशाला आगामी महिनासम्ममा खुल्ला गरिने हसनले बताए।

अभाव

सन् २०२० सम्ममा सबै रंगशालाहरुको निर्माण कार्य सम्पन्न गर्ने कतारको लक्ष्य छ।

अल खोर क्षेत्रमा निर्माणाधीन एउटा रंगशालामा बीबीसीको टोलीलाई सीमित पहुँच दिइएको थियो।

४० हजार दर्शक अट्ने उक्त रंगशालामा विश्वकपका सेमिफाइनल खेलहरु हुनेछन्।

निर्माण सम्पन्न हुने चरणमा रहेको उक्त रंगशालामा काम भइरहेको थियो र कामदारहरु भारी उपकरणको सहयोगले काम गरिरहेको देखिन्थे।

कतार 

हसनका अनुसार न कुनै कम्पनीले काम छाड्ने संकेत दिएका छन् न त निर्माण सामाग्रीको अभाव नै झेल्नुपरेको छ।

विश्वकपका लागि रंगशाला निर्माण र तिनीहरुसँग सम्बन्धित सुविधासहित अन्य परियोजनाका लाग कतारलाई हरेक वर्ष ३० हजार कामदारको आवश्यकता छ र त्यो आवश्यकता मुख्यतः दक्षिण एसियाली कामदारले पूरा गरिरहेका छन्।

कतारमा हाल लाखौंको संख्यामा आप्रवासी कामदार छन्।

वस्तुस्थिति

कामदारहरुको आधारभूत अधिकारको उल्लंघन गर्नुका साथै कतिपय सुविधा नदिएको भन्दै कतारको आलोचना हुँदै आएको छ।

तर हसनको दाबी छ- पछिल्ला वर्षहरुमा कतारका कानून र वस्तुस्थितिमा निकै परिवर्तन आइसकेको छ।

उनका अनुसार कडाईका साथ नियमहरुको पालना गराउन आवश्यक कर्मचारी खटाउने गरिएको छ भने ब्यांकमार्फत कामदारहरुको तलब भुक्तानी गराउन थालिएको छ।

कतारतस्वीर कपीराइटREUTERS

प्रतिबन्धित क्षेत्रहरुमा सञ्चारमाध्यम वा विदेशी पर्यवेक्षकहरुलाई श्रमिकहरुको शिविरमा जान दिने अनुमति छैन।

तर हसन भन्छन्, एम्नेष्टी इन्टरन्याशनलसहितका अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरु कतार आउन पाएका छन् र यहाँको वस्तुस्थितिबारे बुझेर उनीहरुले कतार सरकारको आलोचना पनि गर्न पाएका छन्।

कतारमा अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाहरुले प्रवेश नपाउने कुरा गलत भएको भन्दै हसनले पारदर्शिताबारे कतारप्रति औंला तेर्स्याउने ठाउँ नरहेको बताए।\

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com