हिरासतबाट रिहा भएका पूर्व बन्दीहरूको मृत्यु रिपोर्टिङ नीति आइसद्वारा खारेज


प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार

फोटो: होमल्याण्ड सेक्युरिटी

आइसको एक महत्त्वपूर्ण नीति परिवर्तनले संघीय हिरासतमा रहेर छुटेका व्यक्तिहरूको मृत्युको मामिलामा एजेन्सीको पारदर्शितामाथि गम्भीर चिन्ता र सङ्कट निम्त्याएको छ।

आइस अधिकारीहरूले हिरासत केन्द्रबाट रिहा भएको ३० दिनभित्र पूर्व बन्दीहरूको मृत्यु भएमा त्यसको रिपोर्ट गर्नुपर्ने नीतिलाई अन्त्य गरिएको पुष्टि गरेका छन्।

राष्ट्रपति जो बाइडेनको कार्यकालमा ल्याइएको यो नीतिले आइस र डिएचएसका अधिकारीहरूलाई रिहाइ पछिका मृत्युहरू सहित सबै हिरासतमा भएका मृत्युहरूको समीक्षा र रिपोर्ट गर्न अनिवार्य गरेको थियो। तत्कालीन अधिकारीहरूका अनुसार २०२१ को यस नीतिको मुख्य उद्देश्य गम्भीर रूपमा बिरामी परेका मानिसहरूलाई हिरासतबाट मुक्त गरेर मृत्युको जवाफदेहिताबाट आइस उम्किन नसकोस् भन्ने सुनिश्चित गर्नु थियो।

अधिकारवादीहरूका अनुसार यो नीति परिवर्तन पारदर्शिताका लागि अत्यन्तै संवेदनशील समयमा आएको छ, किनकि यस वर्ष मात्र अहिलेसम्म १८ जनाको आइस हिरासतमा मृत्यु भइसकेको छ।  कांग्रेसलाई बुझाइएको रेकर्ड अनुसार, दोस्रो ट्रम्प प्रशासनको पहिलो १४ महिना संघीय हिरासत प्रणालीका लागि हालका वर्षहरूमा सबैभन्दा घातक अवधि बनेको छ।

यी मृतकहरूमध्ये सिकागोका ५६ वर्षीय नेन्को गान्चेभ पनि थिए, जसलाई उनकी अमेरिकी पत्नीसँग ग्रीन कार्ड अन्तर्वार्ताका लागि जाँदा “अपरेशन मिडवे ब्लिट्ज” अन्तर्गत पक्राउ गरिएको थियो। गान्चेभलाई मिशिगन हिरासत केन्द्रमा लगिएको थियो, जहाँ करिब तीन महिनापछि उनको हृदयघातका कारण मृत्यु भयो। उनको मृत्युमा मधुमेहलाई पनि एक कारक मानिएको छ।

“म्याकअर्थर जस्टिस सेन्टर” की अधिवक्ता ड्यानियल बर्कोव्स्कीले यसलाई हालका वर्षहरूमा संघीय हिरासतको सबैभन्दा घातक अवधि भनेका छन्। बर्कोव्स्कीले ब्रोडभ्यू आइस प्रशोधन केन्द्रभित्रको अवस्था सुधार गर्नका लागि डिएचएस विरुद्ध दायर गरिएको संघीय मुद्दामा सह-अधिवक्ताको रूपमा काम गरिरहेका छन्।

उनको मृत्यु रिपोर्टिङ सम्बन्धी आइसको भर्खरको प्रोटोकल परिवर्तनलाई चिन्ताजनक भन्दै, यसले हामीलाई देखाउँछ कि उनीहरू कसैको मृत्युमा आफ्नो तर्फबाट के गल्ती भयो वा भविष्यमा यस्ता घटना कसरी रोक्न सकिन्छ भन्ने कुरा हेर्न इच्छुक छैनन्।

आइसद्वारा प्रकाशित रिपोर्टहरू अनुसार यस वर्ष भएका कुल १८ मृत्युमध्ये १० जनाको मृत्यु आइस सुविधाबाट स्वास्थ्य उपचारका लागि अस्पताल लैजाँदा भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, आइसको रेखदेख गर्ने डिएचएसका प्रवक्ताले यो नयाँ नीति परिवर्तनलाई सामान्य समझको कुरा भनेका छन्। प्रवक्ताले भने, आइस हिरासतबाट छुटेको हप्ताौंपछि कसैको मृत्यु हुन्छ भने त्यसको जिम्मेवार आइस हुँदैन। यस अद्यावधिक नीति अन्तर्गत, जब व्यक्ति आइस को हिरासतमा रहँदैन, तब एजेन्सी उनको मृत्युको अनुगमन वा समीक्षा गर्न जिम्मेवार हुने छैन।”

यो नीति परिवर्तन देशैभरका आइस हिरासत केन्द्रहरूको अवस्था सुधार गर्न माग भइरहेका बेला आएको हो। हालै न्यु जर्सीको डेलाने हल आप्रवासी हिरासत केन्द्रमा प्रदर्शन र सुरक्षाकर्मीहरूसँग झडप समेत भएको थियो।

यसै हप्ता डिएचएसको बजेट सम्बन्धी हाउस कमिटीको सुनुवाइमा डेमोक्रेटिक सांसदहरूले सेक्रेटरी मार्कवेन मुलिनलाई हिरासत केन्द्रको खराब अवस्थाबारे प्रश्न उठाएका थिए। टेक्ससकी सांसद जुली जोन्सनले भनिन्,यो एक निरन्तर चलिरहेको खराब अभ्यास जस्तो देखिन्छ।

छलफलका क्रममा इलिनोइसका प्रतिनिधि डेलिया रामिरेजले बन्दीहरूलाई दिइने सडेको खानाको प्रसंग उठाएका थिए। रामिरेजले सोधे, सडेको खानाको रिपोर्ट पुष्टि भइसकेको अवस्थामा, के तपाईं बन्दीहरूको यो चिन्तालाई जातीय खानाको चाहना भन्दै खारेज गरेको आफ्नो टिप्पणी फिर्ता लिनुहुन्छ?

मुलिनले जवाफ दिए, मैले सडेको खाना भनेको थिइनँ। मैले उनीहरू आफ्नो जातीय खाना चाहन्थे भनेको हुँ, र यो कुनै होटल होइन। हामी त्यो उपलब्ध गराउँदैनौँ।

डिएचएसका प्रवक्ताले एजेन्सी बन्दीहरूको मृत्युको मामिलामा पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि अधिवक्ता बर्कोव्स्की भन्छन्, “सरकारको हिरासतमा रहेका मानिसहरूको हेरचाह गर्नु सरकारको कर्तव्य हो। यदि सरकारले कसैलाई बचाउन आवश्यक स्वास्थ्य सेवा दिन सक्दैन भने, उसले मानिसहरूलाई हिरासतमा राख्नु हुँदैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com