अध्यागमन छापाको असर, ७६ हजार बासिन्दा काममा जान नसक्दा मिनीयापोलिसको अर्थतन्त्रमा अर्बौको घाटा


प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

मिनीयापोलिसका सडकहरूमा हिजोआज संघीय एजेन्टहरू कमै देखिन्छन्, तर सहरमा अझै पनि सन्त्रासको छायाँ हटिसकेको छैन। राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन क्र्याकडाउन अन्तर्गत सञ्चालित ‘अपरेशन मेट्रो सर्ज’ले निम्त्याएको आर्थिक र मानसिक क्षतिले अहिले यहाँका बासिन्दा, व्यवसायी र स्थानीय सरकारलाई ठूलो संकटमा पारेको छ।

मेयर ज्याकोब फ्रेका अनुसार, गत जनवरी महिनामा मात्रै यस अपरेशनका कारण सहरले २०३ मिलियन डलर बराबरको आर्थिक नोक्सानी व्यहोरेको छ। करिब ७६,००० बासिन्दाहरू पक्राउ पर्ने डरले काममा जान सकेनन्, जसका कारण अहिले हजारौं परिवारलाई भाडा तिर्न र खाना खान समेत धौ-धौ परिरहेको छ। डिसेम्बरदेखि फेब्रुअरीसम्म चलेको यो स्वीपमा करिब ३,००० एजेन्टहरू परिचालन भएका थिए भने ४,००० जनालाई पक्राउ गरिएको थियो।

स्वास्थ्य क्षेत्रमा यसको असर झनै भयावह देखिएको छ। ‘चिल्ड्रेन्स मिनेसोटा’का क्यान्सर विशेषज्ञ डा. लेन मिलरले क्यान्सर र सिकल सेल जस्ता गम्भीर रोग लागेका बालबालिकाहरूको उपचारमा ५० प्रतिशत गिरावट आएको बताएका छन्। “अभिभावकहरू यति धेरै डराएका छन् कि उनीहरू आफ्ना बिरामी छोराछोरीलाई अस्पताल ल्याउन समेत मानिरहेका छैनन्,” डा. मिलरले भने।

शिक्षा क्षेत्रमा पनि संकट गहिरिएको छ। फ्रिड्ली पब्लिक स्कूलका झण्डै १०० विद्यार्थीहरू बेपत्ता भएका छन्, जसका कारण विद्यालयको बजेटमा १ मिलियन डलरको खाडल परेको छ। कतिपय परिवार देशनिकाला भए भने कतिपय पक्राउ पर्ने डरले अन्तै बसाइँ सरेका छन्।

यतिबेला मिनीयापोलिसका बासिन्दाहरू आफैं संगठित भएर एकअर्कालाई मद्दत गरिरहेका छन्। अलेक्जान्ड्रिया गोमेज जस्ता कार्यकर्ताहरूले ‘गो फण्ड मी’ मार्फत ७ लाख ३० हजार डलर भन्दा बढी संकलन गरेर पीडित परिवारलाई नगद सहयोग वितरण गरिरहेका छन्। यद्यपि, सहरमा अझै पनि ४०० भन्दा बढी संघीय एजेन्टहरू रहेको र नयाँ गाडीहरू थपिएको देखिएकाले नागरिकहरूमा पुन: छापा मारिने डर कायमै छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com