नेपालको निर्वाचन सम्पन्न भएकोमा अमेरिकाद्वारा बधाई, सहकार्यको प्रतिबद्धता


प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार

An american flag flying high in the sky

फोटो: क्रिस रोबर्ट

अमेरिकाले नेपालमा सम्पन्न आम निर्वाचनको स्वागत गर्दै नेपाली जनतालाई बधाई दिएको छ। निर्वाचनपश्चात् गठन हुने नयाँ सरकारसँग समृद्धि र सुरक्षाका साझा लक्ष्यहरूमा निकट रहेर काम गर्ने प्रतिबद्धता समेत अमेरिकाले व्यक्त गरेको छ।

अमेरिकी विदेश मन्त्रालयद्वारा जारी आधिकारिक सन्देशमा भनिएको छ, “निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई हार्दिक बधाइ। आगामी सरकारसँग हाम्रा दुवै देशको समृद्धि र सुरक्षासम्बन्धि साझा लक्ष्यहरूमा सहकार्य गर्न हामी उत्सुक छौँ ।”

नेपालमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि यो निर्वाचनलाई एक महत्वपूर्ण कडीको रूपमा हेरिएको छ। विशेष गरी सन् २०२५ को राजनीतिक परिवर्तनपछि भएको यो पहिलो ठूलो निर्वाचन भएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालतर्फ केन्द्रित थियो।

विगत केही वर्षदेखि नेपाल र अमेरिकाबीच ‘मिलेनियम च्यालेञ्ज कर्पोरेसन’ र अन्य विकास परियोजनाहरूका माध्यमबाट आर्थिक साझेदारी बलियो हुँदै आएको छ। नयाँ सरकारको आगमनसँगै यी परियोजनाहरूको गति र द्विपक्षीय कूटनीतिक सम्बन्धले नयाँ उचाइ लिने अपेक्षा गरिएको छ।

अहिले देशभर निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ। नयाँ शक्तिहरूको उदय र युवा नेतृत्वको उपस्थिति यस पटकको निर्वाचनको मुख्य विशेषता देखिएको छ, जसलाई अन्तर्राष्ट्रिय जगत्‌ले निकै चासोका साथ नियालिरहेको छ।

यसैबीच, भारतीय विदेश मन्त्रालयले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै चुनाव गराउन सफल प्रधानमन्त्री सुशीला कार्की र उत्साहजनक रूपमा सहभागी भएका मतदाताहरूको प्रशंसा गरेको छ।

“भारतले नेपालको शान्ति, प्रगति र स्थिरतालाई निरन्तर समर्थन गर्दै आएको छ,” विज्ञप्तिमा भनिएको छ। भारतले दुई देशबीचको “बहुआयामिक सम्बन्ध” लाई अझ बलियो बनाउन नयाँ सरकारसँग काम गर्ने तत्परता देखाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com